अझै घटेन अन्तरबैंक कारोबारको ब्याज, ५.५ देखि ६ %मा कारोबार हुँदै



काठमाडौं । पुस अन्तिम सातादेखि आकाशिएको अन्तर बैंक कारोबारको ब्याजदर माघ लागेपछि पनि घटेको छैन । बैंकहरुलाई कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) मेन्टेन गर्न तीब्र दबाब परेपछि अन्तर बैंक कारोबारको ब्याजदर आकाशिएको हो ।

पुसको अन्तिम दिन अर्थात् ३० गते सबैभन्दा बढी ८ प्रतिशत ब्याजदरमा अन्तर बैंक कारोबार भएको थियो । तर, माघ लागेपछि ब्याजदर घट्ने अपेक्षा गरिए पनि आजसम्म उच्च दरमै कारोबार भइरहेको छ ।

‘आज (माघ ३ गते) पनि ५.५ प्रतिशत ब्याजदरमा अन्तर बैंक सापटी कारोबार भइरहेको छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले क्लिकमाण्डूसँग भने ।

पछिल्लो हप्ता बैंकहरुबाट मोटो रकम बाहिरिएका कारण बैकहरुलाई सीसीडी रेसियो मेन्टेन गर्न हम्मेहम्मे परेकाले अन्तरबैंक कारोबारको ब्याज बढेको उनको भनाई थियो ।

दाहालका अनुसार माघ २ गते ६.१० र माघ १ गते ६.५ प्रतिशत ब्याजदरमा अन्तर बैंक कारोबार भएको थियो ।

माछापुच्छ्रे बैंकका डेपुटी सीइओ सन्तोष कोइरालाका अनुसरा राष्ट्र बैंकले अन्तर बैंक सापटी लिएको रकमलाई पनि निक्षेपमा देखाएर सीसीडी मेन्टेन गर्ने पाउने व्यवस्था मिलाएका कारण अन्तर बैंक कारोबारमा बैंकहरु आकर्षित भएका हुन् ।

‘बजारमा भएको पैसा राजस्वका माध्यबाट सरकारको ढुकुटीमा थुप्रिँदै गएको छ, सरकारले विकास खर्च गर्न सकेको छैन, अझ पुस मसान्तमा त राजस्व तिर्नका लागि बैंकबाट ठूलो परिमाणमा रकम झिकियो,’ कोइरालाले भने, ‘निक्षेप बढेको छैन, कर्जा बढेको बढ्यै छ । बैंकहरुलाई सीसीडी मेन्टेन गर्न निकै कठिन परेको छ । त्यसैले महंगो ब्याज तिरेर भए पनि बैंकले बैंकसँगै ऋण लिएको देखिन्छ ।’

नेपाल राष्ट्र बैंकले गत पुस ११ गते अन्तर बैंक कारोबार गरेर भएपनि बैंकहरुले सीसीडी मिलाउन सक्ने ब्यवस्था गरेको थियो ।

राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले ८० प्रतिशत सीसीडी रेसियो मेन्टेन गर्नुपर्छ । राष्ट्र बैंकले यस्तो सहुलियत दिँदा पनि आधा दर्जन बैंकको सीसीडी रेसियो पुस मसान्तमा ८० प्रतिशतभन्दा माथि छ ।

तर बैंकहरुको औषत सीप्सीडी रेसियो भने सन्तोषजनक नै देखिन्छ । राष्ट्र बैंकका अनुसार पुस ३० गते बैंकहरुको औषत सीसीडी रेसियो ७७.४५ प्रतिशत छ ।

यसरी अन्रत बैंक कारोबारको ब्याजदर आकाशिनुले बैंकिङ क्षेत्र अझै पनि संकटमा भएको प्रष्ट संकेत गर्ने बैंकरहरु बताउँछन् ।

‘निक्षेप नबढ्दाखेरी बैंकहरुमा लगानीयोग्य पुँजी छैन,’ माछपुच्छ्रे बैंकका डेपुटी सीइओ कोइरालाले भने, ‘सरकारले खर्च नबढाएसम्म निक्षेप बढ्ने अवस्था पनि देखिँदैन । जसको चरम मारमा वित्तीय क्षेत्र परेको देखिए पनि दीर्घकालमा यसले अर्थतन्त्रमै गंभीर समस्या निम्त्याउँछ ।’

माघ लागेपछि पनि बैंकरहरुलाई सीसीडी मेन्टेन गर्न उस्तै कठिन अवस्था देखिएको छ ।

पछिल्लो एक महिनाको तथ्यांक हेर्ने हो भने बैंकहरुले ३० अर्ब रुपैयाँले निक्षेप बढाएर ३० अर्ब रुपैयाँले नै कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको शुरुकै महिनादेखि कर्जायोग्य पुँजीको समस्या झेल्दै आएका बैंकहरु अझैसम्म यो समस्याबाट मुक्त हुन सकेका छैनन् ।


पुष्प दुलाल