एक बैंकले अर्को बैंकबाट ऋण लिएर सीसीडी मेन्टेन गर्दा अन्तरबैंक कारोबारको ब्याज ८ प्रतिशत




काठमाडौं । एक बैंकले अर्को बैंकबाट ऋण लिएर कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) मेन्टेन गर्दा अन्तर बैंक कारोबारको ब्याज चुलिएको छ ।

पुस मसान्त अर्थात् ३० गते अन्तर बैंक कारोबारको ब्याजदर ८ प्रतिशत पुगेको छ । यसको अर्थ के हो भने सीसीडी सहज भएका बैंकहरुसँग सीसीडी टाइट भएका बैंकहरुले ८ प्रतिशत ब्याजदरमा ऋण लिएर सीसीडी मेन्टेन गरे ।

सामान्य अवस्थामा १ प्रतिशतको हाराहारीमा हुने अन्तरबैंक कारोबारको ब्याज सीसीडी मेन्टेन गर्नका लागि ८ प्रतिशत पुगेको हो ।

राष्ट्र बैंकले गत पुस ११ गते परिपत्र जारी गर्दै अन्तरबैंक कारोबारलाई पनि निक्षेपमा गणना गर्नमिल्ने ब्यवस्था गरेको थियो ।

‘एक बैंकले अर्को बैंकबाट लिएको सापटीलाई पनि निक्षेप मान्न पाउने राष्ट्र बैंकले सुविधा दिएपछि अन्तर बैंक कारोबारको ब्याज आकाशिएको हो,’ एक बैंकरले क्लिकमाण्डूसँग भने ।

ती बैंकरले राष्ट्र बैंकले अन्तर बैंक कारोबारमार्फत् पनि बैंकहरुले सीसीडी मिलाउन सक्ने व्यवस्था गरेर बैंकरहरुको बानी बिगारेको टिप्पणी गरे ।

दुई बैंकले ४/४ अर्ब अन्तर बैंक ऋण लिएको ती बैंकले जानकारी दिए । समग्रमा पुसको अन्तिम सातामात्रै २०/२५ अर्ब रुपैयाँभन्दा बढीको अन्तर बैंक कारोबार भएको हुनसक्ने उनको अनुमान थियो ।

‘निक्षेप बढेको छैन, कर्जा बढेको बढ्यै छ तर बैंकहरुको सीसीडी रेसियो पनि कम्फरटेवल भएको तथ्यांक देखिन्छ,’ ती बैंकरले भने, ‘यो सबै अन्तर बैंक सापटी कारोबारलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्थाका कारण भएको हो ।’

सिस्टममा पैसा नआउँदा पनि बैंकहरुको सीसीडी सहज भएको तथ्यांक देखाउन खोज्नु गलत भएको उनको भनाइ थियो ।

‘राष्ट्र बैंकले बरु सीसीडी खुकुलो गरेर ८३/८३ प्रतिशत पुर्याइदिएको भए हुन्थ्यो,’ उनले भने, ‘कि त सीसीडीमा सहुलियत नदिई ८० प्रतिशत नघाउनेलाई कारबाही गर्ने हिम्मत राख्नु पर्थ्यो ।’

राष्ट्र बैंकका सहप्रवक्ता गोविन्द नागीलाका अनुसार पुस २९ गते बैंकहरुको औषत सीसीडी रेसियो ७७ प्रतिशत थियो । ३० गते पनि यसकै हाराहारीमा हुने नागीलाले जानकारी दिए ।

‘यो पटक बैंकहरुको सीसीडी रेसियो सहज अवस्थामा देखिएको छ,’ उनले भने, ‘यो सुधारको संकेत हो ।’

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशतभन्दा माथि जानु हुँदैन । ८० कट्ने वित्तिकै राष्ट्र बैंकले कारबाही गरिहाल्छ । केही समयअघि पनि ८० प्रतिशत भन्दा बढी सीसीडी भएका ४ बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको थियो ।

राष्ट्र बैंकले कारबाही गरेपछि ती बैंकले बैंकर्स संघको भद्र सहमति तोड्दै निक्षेप आकर्षित गर्न बढी ब्याज दिएका थिए ।

राष्ट्र बैंकले अन्तरबैंक कारोबारलाई सीसीडीमा गणना गर्न पाउने सुविधा दिनुअघि अन्तर बैंक कारोबारको ब्याजदर १ प्रतिशतभन्दा कम थियो ।

तर, राष्ट्र बैंकले सहुलियत दिएपछि अन्तर बैंक कारोबार र ब्याजदर ह्वात्तै बढ्यो । ब्यजदर ४ प्रतिशत पुग्यो । पुसको २५ पछि ५/६ प्रतिशत ब्याजदरमा अन्तरबैंक कारोबार भइरहेको थियो ।

तर, पुसको अन्तिम दिन यस्तो कारोबारको ब्याजदर बढेर ८ प्रतिशत पुग्यो ।

‘सीसीडी रेसियो सहज भएका बैंकहरुले सीसीडी टाइट भएका बैंकलाई ८ प्रतिशत ब्याजदरमा ऋण दिएर राम्रो आम्दानी गरे,’ अर्का एक बैंकरले भने ।

दुई बैंकले ४/४ अर्ब अन्तर बैंक ऋण लिएको ती बैंकले जानकारी दिए । समग्रमा पुसको अन्तिम सातामात्रै २०/२५ अर्ब रुपैयाँभन्दा बढीको अन्तर बैंक कारोबार भएको हुनसक्ने उनको अनुमान थियो ।

पुसका अन्तिम दुई दिनमा मात्रै करीब ५० अर्ब रुपैयाँ कर संकलन भएको र उक्त रकम बैंकबाट बाहिरिएका कारण धेरै बैंकलाई सीसीडी मेन्टेन गर्न हम्मेहम्मे परेको थियो । त्यसैल उनीहरुले अर्को बैंकसँग महंगो ब्याजदरमा सापटी लिएर सीसीडी मेन्टेन गरे ।

माघ १ गते आज भने अन्तर बैंक कारोबारको ब्याज ४ प्रतिशतमा झरेको बैंकरहरु बताउँछन् ।


पुष्प दुलाल