जब प्रधानमन्त्री ओलीले नै तथ्यांक तोडमोड गर्दै संसदमा भाषण गरे…



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा सम्बोधन गरे । सम्बोधनको क्रममा उनले सरकारले यो वर्ष ऋण लिन नपरेको कुरा सगर्व सुनाएका थिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा भने,‘हालसम्म आन्तरिक ऋण परिचालन गर्नु परेको छैन । गत आर्थिक वर्षको यही अवधिमा १०८ अर्ब ८४ करोड रुपैंया आन्तरिक ऋण परिचालन गरिएको थियो।’

प्रधानमन्त्रीले भनेको कुरा सत्य हो । यो वर्ष सरकारले आन्तरिक ऋण उठाएको छैन । गतवर्ष आन्तरिक ऋण उठाएको थियो । यसको कारण देशको आर्थिक अवस्था राम्रो भएर होइन । सरकारले विकास खर्च गर्न नसकेको कारण हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत शुक्रबारसम्मको तथ्यांकमा सरकार नाफामा छ । अर्थात सरकारले गरेको आम्दानीभन्दा खर्च कम छ । त्यो हुँदा सरकार १ खर्ब रुपैयाँले नाफामा छ । यो नाफा यो साता सरकारले राजस्व संकलन थप गर्ने हुँदा अझै बढ्ने छ । तर,कम्पनी नाफामा गएजस्तो विकास खर्च गर्न नसकेको कारण सरकार नाफामा जानु अर्थतन्त्रको लागि राम्रो होइन ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिना सकिने अवधीमा जम्मा विकास खर्च १५.४३ प्रतिशत भएको छ । यो वर्षको लागि बजेटमा ३ खर्ब १३ अर्ब रुपैयाँ विकास बजेटका लागि बिनियोजन गरिएको छ ।

यो वर्षको बजेटको आकार १३ खर्ब १५ अर्ब रुपैयाँको हो । जसमा राजस्वबाट ८ खर्ब ३१ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखिएको छ । यसमा सरकार सफल छ । यस्तै बैदेशिक अनुदानमा ५८ अर्ब ८१ करोड रुपैयाँ,बैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब करोड र १ खर्ब ७२ करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाउन लक्ष्य लिइएको छ ।

सरकारी खातामा अहिले करिब २ खर्ब रुपैयाँ छ । जसले गर्दा बैंक तथा वित्तीय संस्था ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । प्रधानमन्त्री ओलीले खर्च गर्न नसकेको विषयलाई पनि सफलताको रुपमा प्रतिनिधिसभामा सफलताको रुपमा प्रस्तुत गरेका छन् ।

प्रधानमन्त्रीले गत आर्थिक बर्षको यसै अबधिको १२ प्रतिशतको तुलनामा उद्योग÷व्यवसायसँग सम्बन्धित कम्पनी दर्ता २५ प्रतिशतले बृद्धि भएको सम्बोधनको क्रममा बताएका छन् । तर,यतार्थमा बैदेशिक लगानी गतवर्षको तुलनामा घटेको छ । चार महिनामा ४ अर्ब ९५ करोडको बैदेशिक लगानी आएको छ । जबकी अघिल्लो वर्ष सोही अवधीमा १० अर्ब १७ करोड रुपैयाँको बैदेशिक लगानी आएको थियो ।

शोधानान्तर घाटा अत्याधिक बढेको छ । आयात अत्याधिक बढ्दा यसको चाप विदेशी विनिमय सन्चितीमा परेको छ । शोधानान्तर ५७ अर्बले घाटामा छ । विकास निर्माणको काम हुँदा आयात अझै बढ्ने छ ।

तर,निर्यातमा सुधार भने भएको छैन । प्रधानमन्त्रीले निर्यातमा ठूलो सुधार भएको भाषण प्रतिनिधिसभामा गरेका छन् ।

यस्तै प्रधानमन्त्रीले गतवर्षको तुलनामा मूल्यबृद्धि घटेको भनेका छन् । तर,यतार्थमा गतवर्षको तुलनामा मूल्यबृद्धिदर बढेको छ । मूल्यबृद्धिको तथ्यांक राख्ने राष्ट्र बैंकका अनुसार चार महिनामा २०७५ कात्तिक महिनामा वार्षिक बिन्दगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.९ प्रतिशत रहेको थियो ।

सरकारले प्राप्त गरेको सफलता भनेको यो आर्थिक वर्षमा आर्थिक बृद्धिदर ६ प्रतिशतभन्दा बढी हुुनु हो । यद्यपी सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य लिएपनि त्यो भने पुरा नहुँने अन्तराष्ट्रिय संस्थाले नै ६ प्रतिशतभन्दा बढी आर्थिक बृद्धिदर हुने कुरा बताएका छन् । लगातार तीन आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक बृद्धिदर एउटा सफलता भने हो । तर,यसमा सरकारी प्रयासको योगदान भने निकै नै कम छ ।


क्लिकमान्डु