अर्थ समितिका सभापति भन्छन्- कानून र सिद्धान्तले बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिन मिल्दैन



काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिका सभापति कृष्ण दाहालले बैंकलाई सेयर ब्रोकरको कारोबार गर्न दिनु ठीक नभएको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले सहायक कम्पनीमार्फत् बैंकलाई सेयर ब्रोकरको कारोबार गर्न पाउने व्यवस्था गरेको र नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई बैंकलाई ब्रोकरको कारोबार गर्न लाइसेन्स दिइसकेको अवस्थामा सभापति दाहालले यो गलत भएको बताए ।

‘सेयर बजारमा बैंकिङ क्षेत्रको ८० प्रतिशत हिस्सा छ, यस्तो अवस्थामा बैंकलाई ब्रोकरको कारोबार गर्न दिँदा इन्साइडर ट्रेडिङ हुने ठूलो खतरा छ,’ सभापति दाहालले क्लिकमाण्डूसँग भने, ‘नियम, कानून र सिद्धान्त कुनैपनि हिसाबले बैंकलाई ब्रोकर लाइसेन्स दिन नमिल्ले देखिन्छ ।’

यस विषयमा आफूले विज्ञहरुसँग छलफल गर्दा विज्ञहरुले पनि ८० प्रतिशत बजार हिस्सा भएका बैंकहरुलाई सेयर ब्रोकरको लाइसेन्स दिनु नहुने सुझाब दिएको उनले जानकारी दिए ।

‘मैले विज्ञहरुसँग सल्लाह गरेँ, उहाँहरुले इन्साइडर ट्रेडिङको ठूलो खतरा छ भन्नुभयो,’ दाहालले भने, ‘अव यस विषयमा समितिमा गंभीर रुपमा छलफल हुन्छ ।’

आइतबारको समितिको बैठकमा यस विषयमा पनि छलफल गर्ने उनले जानकारी दिए ।

आफूले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाललाई पनि यस विषयमा सोधेको उनले जानकारी दिए ।

‘केही समय अघिसम्म गभर्नर साब पनि बैंकलाई ब्रोकरको कारोबार गर्न दिनु हुँदैन भन्ने पक्षमा हुनुहुन्थ्यो । तर, केहीदिन अघि परिपत्र जारी गर्दै बैंकलाई ब्रोकर लाइसेन्स दिने बाटो खोल्दिनु भयो,’ सभापति दाहालले भने, ‘मैले उहाँलाई हिँजो (बुधबार) भेटेको थिएँ, अनि यो के गर्नुभएको गभर्नर साब भनेर सोधेँ । उहाँले बजार र आफूभन्दा माथिल्लो निकायबाट दबाब आयो त्यसैले मैले थाम्न सकिँन भन्नुभयो ।’

यस विषयमा गभर्नरले आफूसँग छुट्टै बसेर कुरा गर्न चाहेको पनि उनले जानकारी दिए ।

‘उहाँले तपाईं र म छुट्टै बसेर गफ गरौंला भन्नुभएको छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकले गत वर्ष गरेको अध्ययनमा पनि सेयर बजारमा बैंककहरुको हिस्सा २० प्रतिशत भन्दा कम नभएसम्म ब्रोकर लाइसेन्स दिन नमिल्ने उल्लेख छ ।

तर, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की जसरी भएपनि बैंकलाई ब्रोकर लाइसेन्स दिन लागेका थिए । अध्यक्ष कार्कीले बोर्डमार्फत अध्ययन गराएर बैंकलाई ब्रोकर लाइसेन्स दिएमात्रै सेयर बजारको विस्तार हुने भन्दै लविङ गरेका थिए ।

गाउँगाउँसम्म सेयर बजारको पहुँच पुर्याउन बैंकलाई ब्रोकर लाइसेन्स दिइएको बताइए पनि सहायक कम्पनीमार्फत् बैंकले ब्रोकरको काम गर्दा काठमाडौंको रिङरोड बाहिर जानसक्ने अवस्था नभएको जानकारहरु बताउँछन् ।

‘अर्थ समितिले यस विषयमा सरोकारवालाहरु राखेर छलफल गर्छ । र, नियम–कानून, सिद्धान्त र अन्तर्राष्ट्रिय प्रचलन हेरेर उपयुक्त निर्णय गर्छ,’ सभापति दाहालले भने ।

राष्ट्र बैंकका गभर्नर डा. नेपालले राष्ट्र बैंकले बैंकलाई ब्रोकरको कारोबार गर्ने अनुमति दिएर गल गरेको भन्दै आफूलाई अर्थ सममितिका सभापतिले गुनासो गरेको जानकारी दिए ।

‘बैंकलाई ब्रोकर लाइसेन्स किन नदिएको भनेर अर्थसमितिकै बैठकमा मलाई सांसदहरुले राष्ट्र बैंकमाथि प्रश्न गर्नुभयो, नियाम निकाय धितोपत्र बोर्ड जसरी भएपनि बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने लविङमा लाग्यो, लगानीकर्ताहरुले पनि माग गरिरहेका थिए,’ गभर्नर नेपालले क्लिकमाण्डूसँग भने, ‘अर्थमन्त्रीज्यूले बनाएको कमिटिले पनि बैंकलाई ब्रोकर लाइसेन्स दिन सुझाब दिएको थियो । सबैले भनेपछि राष्ट्र बैंकले दिएको हो । ’


पुष्प दुलाल