१९ बैंकको लाभांशः इन्भेष्टमेन्टको धेरै, सिटिजन्सको कम, कुन बैंकको कति ?



काठमाडौं । तपाई लगानी गर्न खोज्दै हुनुहुन्छ भने मनमा यो प्रश्न उठ्छ कि– प्रतिफल कति पाइन्छ ? कम लगानीमै बढी प्रतिफल खोज्नु संसारभरका लगानीकर्ताको उदेश्य हो ।

नेपाली सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको संख्या १५ लाखभन्दा बढी भएको बताइन्छ । नेपालको कूल सेयर बजारको ७५ प्रतिशत हिस्सा बैंकिङ समूहको छ । यो तथ्यांकलाई आधार मानेर भन्न सकिन्छ कि अधिकांश सेयर कारोबारीसँग बैंकको सेयर छ ।

बैंकमा लगानी गर्दा कति प्रतिफल पाइन्छ त ? यो अत्यन्तै महत्वपूर्ण प्रश्न हो । वितेका वर्षहरुमा बैंकहरुले बढी प्रतिफल दिन्थे । किनभने बैंकको चुक्ता पुँजी कम थियो । तर, अहिले चुक्ता पुँजी बढेको छ । त्यसैले बैंकहरुले विगतको जस्तो राम्रो प्रतिफल दिने अवस्था पनि छैन ।

अझ राष्ट्र बैंकले चुक्ता पुँजी बढाउने नीति लिएपछि त बोनस र हकप्रद सेयरको बाढी चल्यो । जति धेरै बोनस र हकप्रद त्यति धेरै लगानीकर्ताको आकर्षण हुन्थ्यो । लगानीकर्ताको आकर्षणले कम्पनीको सेयर मूल्य प्रभावित पारेको थियो ।

गत आर्थिक वर्षको नाफाबाट बैंकहरुले लगानीकर्तालाई कस्तो प्रतिफल दिँदैछन् त ? यो रिपोर्ट यही विषयमा केन्द्रित छ ।

सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुमध्ये १९ बैंकले लाभांशको घोषणा गरिसकेका छन् । यो पटक बैंकहरुले पहिलेजस्तो धेरै बोनस सेयर दिएका छैनन् । किनभने उनीहरुले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्याइसकेका छन् । त्यसैले यो वर्ष बोनस सेयर भन्दा बढी नगद लाभांस घोषणा गरेका छन् ।

गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सबैभन्दा धेरै लाभांश दिने बैंकहरुको सूचिमा नेपाल इन्भेष्टमेन्ट बैंक अग्र स्थानमा छ । यो बैंकले १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश गरी कूल ४० प्रतिशत लाभांशको घोषणा गरेको छ । आजको दिनमा वाणिज्य बैंकमा लगानी गरेर ४० प्रतिशत लाभांश पाउनु भनेको निकै ठूलो उपलब्धि हो ।

इन्भेष्टमेन्ट बैंकपछि बढी लाभांश दिनेमा नविल बैंक छ । नविलले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांस गरी कूल ३४ प्रतिशत लाभांस घोषणा गरेको छ । इन्भेष्टमेन्ट र नविल बैंकले सबैभन्दा धेरै नाफा कमाउने बैंक पनि हुन् ।

लगानीकर्तालाई तेस्रो धेरै प्रतिफल दिने बैंक हो एनएमबि । यो बैंकले १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांशको घोषणा गरेको छ ।

एभरेष्ट बैंकले यो वर्ष सेयरधनीलाई बोनस सेयर दिएन । एभरेष्टले जम्मा २० प्रतिशत नगद लाभांश मात्रै दिने घोषणा गरेको छ ।

त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि लगानीकर्तालाई बोनस सेयर दिएन । यो बैंकले जम्मा १७.५ प्रतिशत नगद लाभांश मात्रै दिने घोषणा गरेको छ । एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १०/१२ प्रतिशत बोनस सेयर दिन्छन् भन्ने लगानीकर्ताको अपेक्षा थियो ।

ग्लोबल आइएमइ बैंक र प्राइम बैंकले भने १६/१६ प्रतिशत बोनस सेयर मात्रै दिएका छन् । गत आर्थिक वर्षमा यी बैंकको पुँजी पर्याप्तता अनुपात अलि टाइट भएकाले नगद लाभांश दिन मिल्दैनथ्यो । त्यसैले बोनस सेयर मात्रै दिएका हुन् ।

त्यसैगरी हिमालयन बैंक र नेपाल एसबिआइ बैंकले ५/५ प्रतिशत बोनस सेयर र १०.७९/१०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।

त्यस्तै, सानिमा बैंकले१४ प्रतिशत र सनराइज बैंकले ११.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।

सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस सेयर र ८.१६ प्रतिशत नगद लाभांश गरी कूल १३.१६ प्रतिशत लाभांशको घोषणा गरेको छ ।

नेपाल बंगलादेश बैंकले जम्मा १०.५३ प्रतिशत, माछापुच्छ्रेले १० प्रतिशत र जनता बैंकले ८ प्रतिशत नगद लाभांश मात्रै दिने घोषणा गरेका छन् ।

एनआइसी एशिया बैंकले १० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश गरी कूल १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, मेगा बैंकले १ प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लभांश गरी कूल ७.८५ प्रतिशत लाभांशको घोषणा गरेको छ ।

लाभांश घोषणा गरेका १९ बैंकमध्ये सिटिजन्स बैंक इन्टरनेशनलले सबैभन्दा कम लाभांशको घोषणा गरेको छ । बैंकले ३.६३ प्रतिशत बोनस सेयर र १.६४ प्रतिशत नगद लाभांश गरी जम्मा ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकहरुले घोषणा गरेको यो लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकहरु स्वयंको साधारणसभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ ।

तपाईंले सेयर बजारमा लगानी गर्दा छोटो समयको मूल्यको उत्तारचढाबमा खेलेर पैसा कमाउने वा कम्पनीले दिने लाभांश खाएर आनन्दले बस्ने विषयमा प्रष्ट भएर लगानी गर्नुभयो भने तपाईलाई कुन सस्थाको सेयर किन्ने भनेर संस्था छनोट गर्न सजिलो हुन्छ ।

आर्थिक वर्ष २०७४/७५ को नाफाबाट बैंकहरुले घोषणा गरेको लाभांश  
बैंक बोनस सेयर (%मा) नगद लाभांश (%मा) कूल लाभांश (%मा)
नेपाल इन्भेष्टमेन्ट बैंक १८.०० २२.०० ४०.००
नविल बैंक १२.०० २२.०० ३४.००
एन एम वि बैंक १०.०० २०.०० ३०.००
बैंक अफ काठमाडौ १४.०० ११.०० २५.००
एभरेष्ट बैंक ०.०० २०.०० २०.००
स्टयान्डर्ड चाटर्ड बैंक ०.०० १७.५० १७.५०
ग्लोबल आइएमई बैंक १६.०० ०.०० १६.००
प्राइम कर्मशियल बैंक १६.०० ०.०० १६.००
नेपाल एसविआई बैंक ५.०० १०.७९ १५.७९
हिमालयन बैंक ५.०० १०.७९ १५.७९
सानिमा बैंक ०.०० १४.०० १४.००
सिद्धार्थ बैंक ५.०० ८.१६ १३.१६
सनराइज बैंक ०.०० ११.५० ११.५०
नेपाल बङगलादेश बैंक ०.०० १०.५३ १०.५३
एनआइसी एशिया बैंक १०.०० ०.५३ १०.५३
माछापुच्छ्रे बैंक ०.०० १०.०० १०.००
जनता बैंक ०.०० ८.५० ८.५०
मेगा बैंक नेपाल १.०० ६.८५ ७.८५
सिटिजन बैंक ३.६३ १.६४ ५.२६


पुष्प दुलाल