डोजर किन्न होडबाजी, बस्तीबस्तीमा सडक पुर्याउने अभियान, के हुँदैछ उपलब्धी ?



डोटी । केआइसिंह गाउँपालिकाले ४१ लाखमा जेसिवी कम्पनीको नयाँ व्याकहोल लोडर(चक्कावाला डोजर) खरिद गर्यो । गाउँगाउँ र बस्तीबस्तीमा सडक पुर्याउने भन्दै गाउँपालिकाले डोजर खरिद गरेको हो ।

यस्तै, सायल गाउँपालिकाले एक करोड २९ लाखमा लुसान कम्पनीको डोजर खरिद गर्यो । सो गाउँपालिकाले सडक बनाउन डोजर प्रयोग गरी डाँडा भत्काउन थालेको छ ।

बडीकेदार गाउँपालिकाले पनि एक करोड २३ लाखमा लुसान कम्पनीकै डोजर खरिद गरेको छ । सो गाउँपालिकाले पाँचै वडामा सडक पुर्याउने योजना बनाएको छ ।

दीपायल सिलगढी नगरपालिकाले यसअघि नै डोजर खरिद गरिसकेको छ । नगरपालिकाले नगर क्षेत्रमा सडक निर्माण गर्नाका साथै डोजर भाडामा समेत दिने गरेको छ ।

स्थानीय तहले मात्रै होइन जिल्लामा विभिन्न निर्माण व्यवसायीले सडक निर्माण गर्न डाँडा भत्काउन थालेका छन् । व्यवसायीबीच निजी र भाडामा मेसिन भित्र्याउने होडबाजी चलेको छ ।

उपभोक्ता समितिले डोजरको प्रतिघण्टा छ हजार ५०० देखि नौ हजारसम्म तथा चक्कावाला डोजरको प्रतिघण्टा दुई हजार ५०० देखि चार हजार भाडा तिर्दै सडक निर्माण गर्ने गरेका छन् । जिल्लामा कम्तीमा ४२ डोजर सडक निर्माण गर्न प्रयोग गरिँदै आएको बोगटान गाउँपालिका सिमिचौरका तेजबहादुर विष्टले बताए । उनले भने, “सडक काट्ने नाममा गाउँगाउँमा डोजर भित्रिएका छन्, डाँडाकाँडा सखाप हुने भए ।”

एउटै सडकमा एक करोडभन्दा बढी खर्च भइरहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको पाइँदैन । प्रमुख जिल्ला अधिकारी यादव सुवेदी नाप नक्साबिना काटिएका सडकले दुर्घटना निम्त्याउने बताउँछन् । ‘सडक निर्माण गर्दा इञ्जिनीयरको सल्लाह लिनुपर्छ,” उनले भने ।

विकास निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गर्नुपर्ने उनले बताए । सेक्टर वन कार्यालयका सहायक वन अधिकृत शुरेशचन्द्र डिसीले खुटिया–बिपीनगर सडकबाहेक अन्य सडक योजनाको वातावरणीय प्रभाव मूल्याङ्कन नभएको बताए ।

उनले भने, “वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्छ ।राजनीतिक दलका नेता र जनप्रतिनिधिले त्यो कुरा मान्नु हुन्न ।” केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही भन्नुुहुन्छ, “केही प्रक्रिया नपुगेको होला । तर हामी जनप्रतिनिधिलाई जनताको दबाब पनि खपिनसक्नु छ, त्यसैले सडक काटिरहेका छौँ ।”रासस


क्लिकमान्डु