बीबीसी हिन्दी लेख्छः भारतले पुरानो भारु नसाटिदिएपछि नेपालले नयाँ भारु प्रयोग रोक्यो
काठमाडौं । सरकारले भारतीय २ हजार, ५ सय र २ सय रुपैयाँ दरका नोट नेपालमा नचल्ने निर्णय गरेपछि त्यसको बारेमा भारतीय सञ्चारमाध्यमहरुले विभिन्न तर्क सहितका समाचार सामग्री सार्वजनिक गरेका छन् ।
बीबीसी हिन्दीले ती नोट नचल्नुको पछाडि नोटबन्दी भन्दा पहिले नेपालमा रहेका भारतीय मुद्राको सटहीमा भारत सरकारले देखाएको व्यवहारलाई प्रमुख कारणको रुपमा लिएको छ ।
सरकारले ती भारतीय मुद्रा नेपालमा नचल्ने बताएको छ । सो सम्बन्धी जानकारी सञ्चारमन्त्री गोकूल बाँस्कोटाले बिहिबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
भारतले सन् २०१६ को मेमा लागू गरेको नोटबन्दी पछि उसले नयाँ नोट चलनचल्तीमा ल्याएको थियो ।
सन् २०१६ को ८ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० को नोट बन्द गर्ने घोषणा गरेका थिए ।
त्यसको करिब २ वर्ष पछि नेपालमा समेत प्रयोग भइरहेको नयाँ नोट बन्द गर्ने निर्णय नेपालले गरेको छ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो भने जानकारी बिहिबार गराएको थियो ।
बीबीसी हिन्दीले सरकारी प्रवक्ता बास्कोटाको भनाइलाई उदृत गर्दै लेखेको छ ‘२ हजार, ५ सय र २ सय भारतीय मुद्रा राख्नु, कारोवार गर्नु, सामान खरिद गर्नु र भारतबाट नेपालमा ल्याउन समेत गैरकानुनी रहेको हुन्छ ।’
भारतले नोटबन्दी गरेपछि लगातार नोट सटहीको विषय प्रमुख मुद्दा बन्दै आएको छ । भारतीय मुद्रा नेपालमा राम्रोसँग कारोवार हुने गरेको थियो ।
भारतको पूरानो ५ सय र १ हजारको नोटलाई बढो जतनका साथ नेपालीले राख्ने गरेको दावी समेत बीबीसी हिन्दीमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकका अनुसार उसको साथामा ८ करोड पूराना नोट रहेका छन् । भारतका पूराना नोटको मुद्दामा नेपालका अधिकारी भारतीय अधिकारीसँग पटक पटक गुनासो गर्दै आएका थिए ।
बीबीसी हिन्दीले विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाको जानकारी समेत उक्त विवरणमा सामावेश गरेको छ । ढुंगानाले २०१८ को सेक्टेम्बरमा भनेका थिए भारत पूराना नोट किन बदल्न चाहँदैन ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही समय पहिले जनकपुरमा अवस्थित जानकरी मन्दिरको दर्शन गर्न गएको बेला समेत नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पूराना नोट साटिदिन आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले पटक पटक सो विषयमा भारत सरकारको ध्यानाकर्षण गराएका थिए । तर त्यसपछि पनि केही भएन । जुन विषयलाई लिएर नेपाल सरकार दुखित रहँदै आएको बीबीसी हिन्दीको समाचारमा उल्लेख गरिएको छ ।
सोही कारण नेपाल सरकारले भारतीय नोट नेपालमा नचल्ने निर्णय गरिदिएको बीबीसी हिन्दीले लेखेको छ । नोट नचल्ने निर्णयले दुई देशको सम्बन्धमा असर पर्ने बारे केही बताइएको छैन ।