शेयर लगानीकर्ताको बिशुद्ध आर्थिक आन्दोलनलार्इ राजनीतिक रङ्ग दिनु जरुरी छैन- रामु खनालको विचार



अहिले सरकारी नारा छ, समृद्ध नेपाल, सुखी नेपाली । नारा सुन्दा निकै राम्रो पनि छ तर यसको कार्यान्वयन पक्ष भने बडो अचम्मको छ । देश समृद्ध र जनता सुखी हुन चौतर्फी बिकास हुन जरुरी छ ।

जसको लागि मुलुकमा आर्थिक, सामाजिक, सास्कृतिक, न्यायिक, जनताको क्रयशक्ति, लगानी योग्य बाताबरण, पूँजीबजार, शिक्षा, स्वास्थ लगायतको अवस्था मापन गर्ने सुचक परिसूचकहरु उच्च हुन जरुरी छ । तर बिडम्बना बैंकको ब्याजदर आकासिएको छ, शेयर बजार पातालतर्फ भाँसिदो छ, ब्यापार घाटा बढ्दो छ, बेरोजगारी चुलिंदो छ , अर्थतन्त्रको ऐनाको रूपमा हेरिने पूजीबजारका लगानीकर्ताहरु आन्दोलनमा छन्, तर सरकार एकहोरो समृद्ध नेपाल, सुखी नेपालीको रटानमा छ ।

यस्तो बिडम्बनापूर्ण अवस्था देख्दा लाग्छ नेपालको अर्थतन्त्र पशुपतिनाथको कृपाले चलेको छ, अर्थशास्त्रको नियमले चलेको छैन ।

अहिले पूँजीबजारका लगानीकर्ताहरु आन्दोलनमा छन् । जसलाई विभिन्न राजनीति पार्टीहरुले समर्थन गरेको बिज्ञप्तिहरु पनि निकाली रहेका छन् । यो कुनै राजनीति कार्यक्रम नभएर बिशुद्ध आर्थिक आन्दोलन हो । आर्थिक आन्दोलनमा राजनीति रङ प्रदान गर्नु नितान्त गलत हो ।

राजनीतिले लगानीकर्ताहरुमा कित्ताकाटको अवस्था ल्याउँछ र परिणाम स्वरूप सरकार बाहिर रहेका दलले आन्दोलनलाई समर्थन गर्ने र सरकारमा रहेका दल मौन बस्ने अवस्था आउँछ । लगानीकर्ताहरुको कित्ताकाटको कारण आन्दोलन कमजोर बन्न पुग्छ वा यो कुनै राजनीति जुँगाको लडार्इँपनि बन्न पुग्छ ।


शेयर बजारमा सरकारमा रहेका नरहेका सबै दलका समर्थकहरुको लगानी रहेको छ । पूँजीबजारको बिकास र बिस्तारको लागि सबै एक जुट हुनुपर्छ । अनशन स्थलमा राजनीति दलका नेता ल्याएर नेतालाई भाषण गर्ने फोरम बनाउनु हुँदैन । पूँजीबजार सबैको साझा थलो हो र यसलाई बिशुद्ध आर्थिक साझा थलोको रूपमा बिकास गरिनुपर्छ ।
पूँजीबजारको बिकास र बिस्तारको लागि नितिगत रूपमा नै समस्याको पहिचान , विश्लेषण देखि समाधानका उपायहरु सम्म खोजिनु पर्छ । पूँजीबजारप्रती सरकारको आधिकारिक धारणा तथा नीति के हो ? त्यो स्पष्ट पारिनु पर्छ । कुनै अमुक व्यक्तिको निजी धारणालाई सरकारी धारणा बनाइनु हुँदैन । लगानीकर्ताहरुले बेला बेलामा आन्दोलन गर्‍यो अनि त्यसलाई निस्तेज पार्न सरकारले अध्ययन समिति गठन गर्‍यो, प्रतिबेदन तयार पार्यो अनि सक्कियो । यस्तो पाराले पार लाग्दैन ।

यस भन्दा अगाडिपनि घाटामा कर तिर्नुपर्ने ब्यवस्थाको बारेमा अध्ययन गर्न अध्ययन समिति बनेको थियोे त । अहिलेसम्म त्यो अध्ययन समितिको अध्यनले पूँजी बजारलाई के गर्‍यो खै ?

अहिले लगानीकर्ताहरुले उठाएका मागहरू कुनै नयाँ मागहरूपनि होइनन् । बारम्बार उठाइरहेका कुराहरू नै हुन् । एक साता लगाएर अध्ययन गर्नुपर्ने कुनै नबुझिने बिषयपनि छैनन् । सबै उनै हुन् , उस्तै हुन् । सबभन्दा ठुलो कुरा त पूँजी बजारको बिकास र बिस्तार गर्नु पर्छ , यो आम लगानीकर्ताहरुको सरोकारको बिषय हो, अर्थतन्त्रको ऐना हो भन्ने कुरा नीति निर्माण गर्ने र कार्यन्वयन गर्ने पक्षबाट आउनु पर्छ। उनीहरुको मनमा इच्छाशक्ति जागृत हुनुपर्छ ।

नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने पक्षको सोचमा परिवर्तन आउनु पर्छ वा उनीहरुको सोचार्इमा परिवर्तन ल्याउनु पर्छ । जसको लागि यो आन्दोलन आम लगानीकर्ताहरुको साझा आन्दोलन , आर्थिक आन्दोलनको रूपमा बिकास गरिनुपर्छ ।

आर्थिक आन्दोलनमा राजनीतिक दलका नेताहरुको भाषण होईन सम्बन्धित क्षेत्रमा काम गरेरका बिषय विशेषज्ञहरु, अनुभवी व्यक्तिहरुलाई बोलाएर अन्तरकृया\छलफल चलाइनु पर्छ । आर्थिक प्राज्ञिक थलो बनाइनुपर्छ । राजनीतिक दलका नेताहरुलाई भाषण गर्ने थलो बनाइनु हुँदैन ।


पुष्प दुलाल