भूकम्प पीडितका घरः बाढीले बगाए वा हुरीले धुरी उडाएपनि पैसा पाइने




काठमाडौं । सरकारी अनुदान लिएर बनाइएका भूकम्प पीडितका घरको बीमा अनिवार्य गर्ने प्रक्रिया अगाडि बढेसँगै अधिकांश जोखिमको बीमा हुने भएको छ ।

बार्षिक ४५० रुपैयाँ र त्यसमा लाग्ने मूल्य अभिबृद्धि कर (भ्याट) सहितको बीमा शुल्कमा राष्ट्रिय बीमा कम्पनीले पुननिर्माण हुने सबै घरको बीमा गर्न लागेको हो । यस्तो बीमामा लाग्ने शुल्कको आधा रकम सरकारले दिनेछ भने बाँकी आधा रकम लाभग्राहीले ब्यहोर्नुपर्ने ब्यवस्था गरिदैछ ।

पुननिर्माण हुने घरको बीमा अनिवार्य गराउने सम्बन्धि कार्यविधिको मस्यौदा तयार भएर पुननिर्माण प्राधिकरणको कार्यकारी समितिमा पुगेको बीमा गराउने कम्पनी राष्ट्रिय बीमा कम्पनीका बजार विज्ञ सुकल्याण पराजुलीले जानकारी दिए ।

यस्तो बीमा सरकारी अनुदानले ५ बर्षको लागि गर्न लागिएको छ । पाँच बर्षको बीमा शुल्क बार्षिक ४५० रुपैयाँ र त्यसमा भ्याट जोड्दा हुन आउने जम्मा रकम २५४२ रुपैयाँ ५० पैसामा आधा रकम अर्थात १२७१ रुपैयाँ २५ पैसा सरकारले अनुदान दिनेछ । बाँकी त्यति नै बराबरको रकम लाभग्राहीले तेस्रो किस्ता रकम लिदा सरकारले नै कटाएर दिनेछ ।

कार्यविधि कार्यान्वयनमा दोस्रो किस्ता रकम लिइसकेका र तेस्रो किस्ता रकम नलिएका लाभग्राहीको हकमा कार्यान्वयन गर्न कुनै समस्या नभएको पराजुलीले बताए ।

‘पहिलो किस्ता मात्रै रकम लिएका लाभग्राहीले घर बनाउन सुरु नै गरेका छैनन्, तेस्रो किस्ता रकम लिइसकेका लाभग्राहीसँग कसरी रकम लिने भन्ने समस्या हुन सक्ला, तर दोस्रो किस्ता रकम लिइसकेका लाभग्राहीले सरकारबाट पाउनु पर्ने अनुदान बाँकी नै भएकोले कटाएर लिन सजिलो हुने देखिएको हो,’ पराजुलीले क्लिकमाण्डूसँग भने ।

तर तेस्रो किस्ता रकम लिइसकेका लाभग्राहीले तिर्नुपर्ने रकम १२७१ रुपैयाँ २५ पैसा राष्ट्रिय बीमा कम्पनी वा पुननिर्माण प्राधिकरणको खातामा जम्मा गरिदिएको अबस्थामा त्यस्ता लाभग्राहीको घरको पनि बीमा गराउन सकिने विकल्प कम्पनीले अगाडि सारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा भएको यस्तो कार्यक्रममा २०७२ सालको भूकम्पका कारण भत्किएका करिब ८ लाख घरले फाइदा लिन सक्ने देखिएको छ । प्राधिकरणले भूकम्प पीडितको घर बीमा गराउने सम्बन्धि कार्यविधि पारित गरेसँगै यस्तो कार्यक्रम कार्यान्वयन हुनेछ । बीमा गरिएका घरमा कुनै कारणबस क्षति पुगेमा जति रकम बराबरको क्षति हुन्छ, त्यति नै रकम राष्ट्रिय बीमा कम्पनीले सम्बन्धित घरधनीलाई दिनेछ ।

हुरीले धुरी उडाए पनि पाइन्छ पैसा
प्रधानमन्त्री ओलीको अग्रसरतमा आएको यस्तो कार्यक्रममा ग्राहस्थ बीमा पोलिसी अन्तरगत समेट्न लागिएको हो । ग्राहस्थ बीमा पोलिसीले भूकम्प सहित आगलागी, बाढी पहिरो, जमिन भासिने र आँधिबेहरीका कारण हुने क्षतिमा पनि क्षतिपूर्ति पाइनेछ ।

अर्थात ग्राहस्थ बीमा भएका घरमा बाडीपहिरो, आँधिबेहरी, भूकम्प, आगलागी वा जमिन भासिएका कारण आंशिक वा पूर्ण क्षति भएमा क्षति बराबरको रकम बीमा कम्पनीले दिनेछ । बीमा गरिएका घरको पूर्ण क्षति भएमा ५ लाख रुपैयाँ बीमा कम्पनीले दिनेछ ।

यस्तो कार्यक्रम कार्यान्वयन भएपछि भविष्यमा कुनै कारणवस घरको क्षति भएमा सरकारको मुख ताक्नुपर्ने अबस्थाको अन्त्य हुनेछ । तर, यस्तो सुविधा दिदा पनि कसैले बीमा नगराएको अबस्थामा त्यस्ता घरको लागि भविष्यमा कुनै क्षति भएमा सरकारले अनुदान नदिन सक्ने अबस्था हुनेछ ।

५ बर्षपछि के गर्ने ?
सरकारले पहिलो चरणमा ५ बर्षको लागि घरको बीमा गराउन अनुदान रकम उपलब्ध गराउन लागेको हो । त्यसपछि यस्तो बीमालाई निरन्तरता दिन सम्बन्धित घरधनीले नै बीमा शुल्क तिर्नुपर्ने हुन्छ ।

अग्रिम तिरेको पैसा के हुन्छ ?
प्रस्तावित कार्यविधिमा सरकारले दिने अनुदान रकम प्रत्येक बर्ष राष्ट्रिय बीमा कम्पनीलाई दिइने प्रस्ताव कार्यविधिमा छ । अर्थात प्रतिघर २५४ रुपैयाँ २५ पैसाका दरले सरकारले प्रत्येक बर्ष कम्पनीलाई रकम उपलब्ध गराउने छ । तर लाभग्राहीले भने एकैपटक ५ बर्षको लागि प्रतिघर १२७१ रुपैयाँ २५ पैसा तिर्नुपर्नेछ ।

सामान्यतः निर्जीबन बीमा ब्यवसाय एक बर्षको लागि गर्ने गरिन्छ । तर, भूकम्प पीडितले आफ्नो घरको लागि एकैपटक ५ बर्षको बीमा शुल्न तिर्नुपर्ने हुन्छ । यस्तो अबस्थामा पहिलो बर्ष तिरेको रकम सोही बर्षलाई भयो भने बाँकी रकम के हुन्छ त ?

‘लाभग्राहीले दिएको रकमलाई धरौटीको रुपमा राख्छौं, त्यस्तो पैसा बैंकमा ब्याज आउने गरी वा अन्यत्र लगानी गरिएको हुन सक्छ, त्यस्तो लगानी वा ब्याजबाट जति रकम प्राप्त हुन्छ त्यो रकम पनि सम्बन्धित लाभग्राहीको खातामा जम्मा पारेर राखिदिन्छौं र ५ बर्षपछि कति रकम हुन्छ त्यसबाट थप बर्षको लागि बीमा गरिदिने सोच हामीले बनाएका छौं,’ पराजुलीले भने ।


क्लिकमान्डु