किन धरासायी भए नेपाली गार्मेन्ट उद्योग ? ३८ करोड डलरको निर्यात ६ करोड डलरमा झर्यो




काठमाडौं । पछिल्लो समय नेपालमा तयारी पोशाक (गार्मेन्ट) उद्योगहरु धरासायी बन्दै गएका छन् । विगतमा सञ्चालन हुने गरेको मध्ये करीब ९५ प्रतिशत गार्मेन्ट उद्योगहरु बन्द भइसकेका छन् ।

डेढ दशक अघि नेपालमा १२ सय कपडा गार्मेन्ट उद्योग सञ्चालनमा रहेका थिए । ४ लाख नेपालीले प्रत्यक्ष रुपमा रोजगारी समेत पाएका थिए । तर, पछिल्लो समय करीब ५० वटा मात्र सञ्चालनमा रहेका छन् । यी ५० वटापनि धरासायी अवस्थामा चलिरहेका छन् ।

‘सन् २००१÷२००२ मा नेपालबाट ३८ करोड डलर मूल्य बराबरको तयारी पोशाक निर्यात हुने गथ्र्यो,’ नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले भने ।

उनका अनुसार पछिल्लो समय मुस्किलले ६ करोड डलरको मात्र निर्यात हुने गरेको छ ।

किन धरासायी भए नेपाली गार्मेन्ट उद्योग ?
संघका अध्यक्ष अर्यालका अनुसार नेपालमा तयारी पोशाक निर्यातमा कमि आउनुको मुख्य कारण सरकारले लिएको नीति नै हो ।

‘सरकारले लिएको नीतिका कारण नेपाली गार्मेट उद्योगको विकास हुन सकेको छैन्, विगतमा विदेशी व्यवसायीहरुले नेपालमा गार्मेट उद्योगका क्षेत्रमा लगानी गर्न इच्छा देखाएपनि पछि नेपाल सरकारको नीतिले उपयुक्त स्थान नदिएकाले उनीहरु फर्किनु पर्यो,’ अर्यालले भने ।

हाल नेपालमा गार्मेन्टका लागि आवश्यक पर्ने सम्पूर्ण कच्चा पदार्थ बाहिरी मुलुकबाट आयात हुने गर्छ ।

‘तत्कालीन समयमा नेपाली गार्मेन्ट उद्योगका लागि हेटौँडा कपडा उद्योग र बालाजु कपडा उद्योगले कच्चा पदार्थ उपलब्ध गराएपनि पछिल्लो ती उद्योग बन्द भएपछि बाहिरी मुलुकमा निर्भर हुनु परेको छ,’ अध्यक्ष अर्यालले गुनासो गरे ।

नेपाली उत्पादन विदेशी भन्दा महङ्गो
विदेशी कपडाको तुलनामा नेपाली गार्मेन्टद्वारा उत्पादित कपडा १० देखि ३० प्रतिशतले महंगो रहेको संघका अध्यक्ष अर्यालले बताए । हरेक व्यवसायीले नाफा हेर्ने भएकाले नेपाली कपडाको उत्पादन लागत घटाउन र उत्पादकत्व बढाउन सरकारले आवश्यक कच्चा पदार्थहरु स्वदेश मै उत्पादन गर्नु पर्ने उनको भनाई छ ।

कच्चा पदार्थ स्वदेशबाटै उपलब्ध भए उत्पादन सस्तो हुने उनले बताए । नेपाली युवाका लागि रोजगार सुनिश्चत गर्न पनि राज्यले ध्यान दिनु पर्ने अध्यक्ष अर्यालको भनाई छ ।

सरकारको ६ खर्बको ब्यापार घाटा कम गर्न अबको समयमा गार्मेन्ट उद्योगलाई साथ दिनुपर्ने उनले बताए ।

नेपालमा बर्सेनि २६ देखि २८ करोड मिटरको हाराहारीमा कपडा खपत हुन्छ । तत्कालीन समयमा गार्मेन्ट उद्योगका क्षेत्रमा ६ अर्बको लगानी थियो । अहिलेसम्म आइपुग्दा त्यो लगानी बढ्नुको सट्टा न्यून मात्र रहेको संघका अध्यक्ष अर्यालले बताए ।


क्लिकमान्डु