नेपाली जहाजलाई युरोपको प्रतिबन्ध चाँडै हटाउँछौंः मन्त्री अधिकारी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ (इयू)ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताएका छन् ।
हेलिकप्टर सोसाइटी अफ नेपालको मङ्गलबार उद्घाटन गर्दै मन्त्री अधिकारीले इयूका पदाधिकारीसँग हालै भएको छलफलका आधारमा प्रतिबन्ध हट्ने विश्वास व्यक्त गरे ।
उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले गम्भीर सुरक्षा चासोलाई हटाइसकेको अवस्थामा आइकाओ मातहतको इयूले नेपाललाई कालोसूचीमै राखिराख्नुपर्ने औचित्य के हो भनी प्रश्न गरे ।
‘इयूले भनेअनुसार पाँच वर्षदेखिको अभ्यास र उसको मापदण्डअनुसार सुधार गरेका छौँ, हालै इयूका अधिकारी, कूटनीतिक नियोग र उच्चपदस्त अधिकारीसँग पनि कुराकानी गरेको छु, मलाई विश्वास छ छिट्टै नै इयूले नेपालको उड्डयनलाई कालोसूचीबाट हटाउनेछ’ उनले भने ।
सन् २०१३ को डिसेम्बरदेखि इयूले नेपाललाई उडान प्रतिबन्ध गर्दै आएको थियो । उसले एक साताअघि सार्वजनिक गरेको उडान प्रतिबन्ध हुने देशको सूचीमा नेपालसहित १५ देशलाई समावेश गरेको छ ।
यी देशका ११५ वायु सेवा प्रदायक कम्पनीले युरोपका आकाशमा उडान भर्न नपाउने प्रतिवेदनमा उल्लेख छ । सन् २०१३ मै आइकाओले सुरक्षा चासो राखेकामा गत वर्ष हटाएको थियो ।
मन्त्री अधिकारीले इयूले हटाएन भनेर बस्ने भन्दा पनि वैकल्पिक उपाय खोजेर नेपाल वायु सेवा निगमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । निगमका सन्दर्भमा उठेका विषयको छानबिन गरी जनतासमक्ष ल्याइने उल्लेख गर्दै उनले निगमलाई कमजोर पार्ने खेलमा कोही पनि लाग्न नहुने धारणा राखे ।
हेलिकप्टर सोसाइटी स्थापना
हेलिकप्टर उद्योगको व्यावसायिक विकास तथा हवाई सुरक्षा अभिवृद्धिमा सहयोग गर्ने उद्देश्यले हेलिकप्टर सोसाइटी अफ नेपाल स्थापना गरिएको छ । सो संस्थाले हेलिकप्टर क्षेत्रमा आइपर्ने विभिन्न समस्याका समाधान गर्न नियामक निकायको सहयोग र समन्वयमा काम गर्ने जनाएको छ ।
भौगोलिक अवस्थितिले नै नेपालमा हेलिकप्टरको औचित्यलाई पुष्टि गरेको उल्लेख गर्दै उनले यसैलाई मध्यनजर गरी सरकारले देशभरका स्थानीय तहमा हेलिप्याड बनाउने कार्यक्रम अघि सारेको र यसलाई सार्थक तुल्याउन व्यवसायीको सक्रियता चाहिने बताए ।
असोज २२ गते विधिवत रूपमा दर्ता भएको हेलिकप्टर सोसाइटीको अध्यक्षमा क्याप्टेन रामेश्वर थापा अध्यक्ष छन् । थापासहितका १० हेलिकप्टर कम्पनी संस्थामा आवद्ध छन् । उड्डयन क्षेत्रमा यसअघिको नेपाल वायु सेवा सञ्चालक सङ्घ पनि सक्रिय छ । नेपालमा आन्तरिक उडानका लागि हेलिकप्टरसहित २० वायु सेवा प्रदायक कम्पनीले सेवा दिँदै आएका छन् । रासस