प्रधानमन्त्री ओलीबाटै स्वीकृति लिएर नेपालको खोला भारतीय कम्पनीले चिनियाँलाई बेच्यो
काठमाडौं । भारतीय कम्पनी जीएमआर नेपालको माथिल्लो मस्र्याङ्दी नदी ६ बर्ष ओघटे वापत साढे १२ करोड रुपैयाँभन्दा बढी नाफा गरेर हिडेको छ ।
भारतीय कम्पनी जीएमआरले माथिल्लो मस्र्याङ्दी-२ मा कुनै काम नगरी चिनियाँ कम्पनीलाई सो आयोजना नै बेचेर हिडेको हो । जीएमआरको सो कार्यमा प्रधानमन्त्री अध्यक्ष रहने निकाय लगानी बोर्ड साक्षी बसेको छ ।
६ सय मेगावाट जलविद्युत क्षमताको माथिल्लो मस्र्याङ्दी-२ जलविद्युत आयोजना २०६९ साल जेठमा लगानी बोर्डको कार्यक्षेत्र अन्तरगत आएको थियो । सो आयोजनाको क्षमता पनि विभिन्न मितिमा बढाएर ६ सय मेगावाट बनाइएपछि लगानी बोर्ड अन्तरगत आएको हो ।
सुरुमा सो आयोजनाको लाइसेन्स हिमताल हाइड्रोपावर कम्पनीले लिएको थियो । आयोजनाको सेयरमध्ये १८ प्रतिशत नेपाली नेपाली ब्यक्तिमा थियो भने ८२ प्रतिशत भारतीय कम्पनी जीएमआरसँग थियो ।
माथिल्लो मस्र्याङ्दी-२ आयोजनाको प्रसारण लाइन बनाउन मस्र्याङ्दी ट्रान्समिसन कम्पनी पनि खडा गरिएको थियो । भारतीय कम्पनी जीएमआरले आयोजना बनाउने र ट्रान्समिसन बनाउने दुबै कम्पनी चिनियाँ कम्पनीलाई बेचेका छन् ।
स्रोतले दिएको जानकारी अनुसार जीएमआर सहितका नेपाली लगानीकर्ता समेतले गत जेठ २० गने आफ्नो सबै स्वामित्व बुटबल पावर कम्पनी र चिनियाँ कम्पनीलाई बेच्न बोर्ड समक्ष औपचारिक रुपमा निवेदन दिएका थिए । बोर्डको अध्यक्ष प्रधानमन्त्री रहने ब्यवस्था छ । सो ब्यवस्था अनुसार अहिले बोर्डको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली छन् भने अर्थमन्त्री डा. युवराज खतिवडा बोर्डको उपाध्यक्ष छन् ।
जीएमआरले माथिल्लो मस्र्याङ्दी-२ आयोजना बेच्न औपचारिक निवेदन दिएपछि बोर्डले स्वीकृति दिएको छ । जीएमआरले आयोजना विकास सम्झौता भइसकेको माथिल्लो कर्णाली जलविद्युत आयोजना बनाउनको लागि समेत वित्तीय स्रोत ब्यवस्थापन गर्न (पैसा जुटाउन नसकेको) भन्दै बोर्डले बुटवल पावर सहितका चिनियाँ कम्पनीलाई माथिल्लो मस्र्याङ्दी-२ बेच्न स्वीकृति दिएको बोर्डले बताएको छ ।
बोर्डले गत असोज २ गते सो आयोजना विक्रीको स्वीकृति दिएको हो ।
बोर्डको यो निर्णयलाई नजिर मान्ने हो भने अबदेखि आयोजना बनाउन नसक्ने कम्पनीले ओघटेका आयोजना पनि बेचेर पैसा कमाउन पाउने बाटो खुल्ला हुनेछ । बोर्डको यो कार्यले खोला ओघट्ने प्रबृत्ति झन मौलाएर जाने जलस्रोत विज्ञहरुले बताएका छन् ।
‘जीएमआर सहभागी हिमताल हाइड्रोपावर कम्पनीले धेरै लामो समयदेखि परियोजना लिइ बसेको, उल्लेखनीय कार्य गर्न नसकेको, उक्त कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) समेत हुन नसकेको साथै वित्तीय स्रोत ब्यवस्थापन गर्न नसकेको अबस्थामा अर्काे बैदेशिक लगानीलाई भित्र्याउँदा लगानी स्वीकृति प्रदान गर्नुपर्ने र विद्यमान लगानीकर्तालाई निकास दिनुपर्ने देखिन्छ,’ बोर्डले जीएमआरलाई मध्यमस्र्याङ्दी आयोजना बेच्न स्वीकृति दिदा गरेको निर्णयमा उल्लेख छ ।
बोर्डको यो निर्णयलाई नजिर मान्ने हो भने अबदेखि आयोजना बनाउन नसक्ने कम्पनीले ओघटेका आयोजना पनि बेचेर पैसा कमाउन पाउने बाटो खुल्ला हुनेछ । बोर्डको यो कार्यले खोला ओघट्ने प्रबृत्ति झन मौलाएर जाने जलस्रोत विज्ञहरुले बताएका छन् ।
६ बर्ष खोला ओघट्नेले कमाए साढे १२ करोड
जीएमआरले अहिलेसम्म सो आयोजनामा लगानी गरेको भनेको जम्मा ९ लाख अमेरिकी डलर अर्थात १० करोड ३५ लाख रुपैयाँ (प्रतिअमेरिकी डलर ११५ रुपैयाँ विनिमयदर मान्दा) गरेको छ ।
लगानी बोर्डले जीएमआरसँग माथिल्लो मस्र्याङ्दी-२ जलविद्युत आयोजनाको जडित क्षमताको प्रतिमेगावाट १५ सय अमेरिकी डलरका दरले परियोजना विकास सम्झौता (पीडीए) वार्ता शुल्क लिएको थियो । सो आयोजनाको क्षमता ६ सय मेगावाट हुने भएकोले बोर्डले जीएमआरसँग ९ लाख अमेरिकी डलर लिएको हो ।
सो आयोजना कायम सेयर मूल्य र सेयर एड्भान्स रकम समेत गरी जीएमआर सहितका नेपाली लगानीकर्ताले ३ करोड ४२ लाख ४ हजार ८८८ अमेरिकी डलर लगानी भएको बोर्डले बताएको छ । आयोजना विक्री हुँदा ३ करोड ५३ लाख रुपैयाँमा विक्री भएको छ ।
जीएमआर सहितका नेपाली लगानीकर्ताले पहिला गरिएको लगानीभन्दा १० लाख ९५ हजार ११२ अमेरिकी डलर बढीमा आयोजना विक्री गरेका छन् । यसो हुदा प्रतिअमेरिकी डलर ११५ रुपैयाँ विनिमय दर अनुसार ६ बर्षभन्दा बढी समयसम्म खोला ओघट्नेलाई १२ करोड ५९ लाख रुपैयाँभन्दा बढी फाइदा भएको छ ।
कसकसको कति थियो लगानी ?
माथिल्लो मस्र्याङ्दी २ जलविद्युत आयोजनामा बृन्दावन प्रधानाङ्गको ३० लाख र मधुसुदन प्रधानाङ्गको ७ लाख ५० हजार अमेरिकी डलर बराबरको लगानी थियो । यस्तै भारतीय कम्पनी जीएमआरको भने ३ करोड ४ लाख ५४ हजार ८८८ अमेरिकी डलर लगानी थियो ।
मस्र्याङ्दी ट्रान्समिसन कम्पनी भने पहिलाको मूल्य ४ लाख ५० हजार अमेरिकी डलरमै विक्री गरिएको छ ।
अब कसको लगानी कति ?
अब नयाँ सेयरधनीमा बुटवल पावरको ६६ लाख ३५ हजार ७७५ अमेरिकी डलर लगानी छ । यस्तै एससीआइजी इन्टरनेसनल नेपाल टोइन्ट भेन्चर डेभलपमेन्ट कम्पनी प्रालिको १० लाख २६ हजार १४५ अमेरिकी डलर, एससीआइजी इन्टरनेसनल लिमिटेड हङकङ चाइनाको १ करोड ६९ लाख २१ हजार १४२ अमेरिकी डलर र सिङछेन इन्टरनेसनल इन्भेष्टमेन्ट कम्पनी हङकङ चाइनाको ५६ लाख ४० हजार ३८१ अमेरिकी डलर लगानी छ ।
स्रोतले लिएको जानकारी अनुसार नयाँ सेयरधनीमा क्यूवाइइसी इन्टरनेसनल कम्पनी लिमिटेड, हङकङ चाइनाको ३९ लाख ८१ हजार ४४५ अमेरिकी डलर लगानी छ ।