माग घटेपछि फुल नष्ट गर्दै ह्याचरी व्यवसायी



चितवन । कुखुराको चल्लाको माग घटेपछि ह्याचरी उद्योगले चल्ला उत्पादन गर्ने फुल नष्ट गर्ने भएका छन् ।

देशभरका लेयर्स ह्याचरीले चल्ला उत्पादन गर्ने कूल फुलमध्ये आधा फुल नष्ट गर्ने र आधाको मात्रै उत्पादन गर्ने निर्णय गरेका हुन् । ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ज्ञानुराम बिसुरालका अनुसार केन्द्रीय समितिको बैठकले भोलि बुधबारदेखि सबै ह्याचरीले चल्ला उत्पादन गर्ने सेटर मेशिनमा आधा मात्रै फुल राख्ने निर्णय गरेको हो । देशभरमा १३ वटा लेयर्स ह्याचरी उद्योग सञ्चालनमा छन् । एउटा सञ्चालनमा आउने तयारीमा छ जसमध्ये आठ वटा चितवनमा छन् ।

अठार दिन सेटर मेशिनमा फुल राख्ने गरिन्छ । त्यसपछि तीन दिन ह्याचरी मेशिनमा राखेपछि फुलबाट चल्ला निस्कने गर्दछ । गत महीनासम्म चल्ला प्रतिगोटा रु १७० मा बिक्री भइरहेकोमा माग घटेसँगै रु ७० मासमेत सहज बिक्री हुन छाडेपछि व्यवसायीले यस्तो निर्णय गर्नुपरेको बिसुरालले बताए ।

हाल लेयर्स चल्लाको लागत मूल्य रु १०० पर्ने गरेको छ । उहाँका अनुसार उत्पादन घटाएर रु १०० नघटाई चल्ला बिक्री गर्ने निर्णयसमेत भएको छ । एक सातामा दुई लाख ५० हजार चल्ला उत्पादन हुने गर्दछ । यो मौसममा चिसो हुने भएकाले हुर्काउन कठिन हुने गर्दछ । सँगै खानाका लागि प्रयोग हुने फुलको मूल्यसमेत घटेपछि चल्ला राख्ने कृषक घटेका हुन् । नेपाल फुल उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार देशभर दुई हजार हाराहारी लेयर्स कुखुरा पाल्ने किसान छन् ।

कँडेलले भने,“मलाई ३० हजार चल्ला चाहिएको छ, खोर खाली छ, तर फुलको मूल्य देखेर चल्ला हाल्न सकेको छैन ।” सबै किसानको अवस्था उस्तै रहेको कँडेलले बताए ।

हाल ह्याचरीमा एक लाख हाराहारी लेयर्सका माउ (प्यारेन्ट) रहेको बिसुरालले बताए । अमेरिका र युरोपबाट माउ ल्याउने गरिन्छ । फार्मसम्म आइपुग्दा एउटा माउको रु एक हजार २०० पर्छ । नेपालमा हाइल्यान, लोम्यान र एचएन जातको लेयर्स प्यारेन्ट पालिँदै आएको छ । फुल २२ हप्ताबाट पार्न थाल्ने प्यारेन्टले ८० हप्तासम्म पार्ने गर्दछ । रासस


क्लिकमान्डु