तीन महिनामै बैंकहरुकाे रिजर्भमा भएको २० अर्ब गायब ! कहाँ गयो ?




काठमाडौं । गत असार मसान्तमा बाणिज्य बैंकहरुले नेपाल लेखामान मापदण्ड (एनएफआरएस) अनुसार प्रकाशित गरेको वित्तीय विवरण अनुसार उनीहरुको रिजर्भ एण्ड सरप्लसमा १ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ थियो ।

असोज मसान्तमा बैंकहरुले एनएफआरएस अनुसार नै अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरे । अहिले संचालनमा रहेका २८ वटै बाणिज्य बैंकहरुको गरी रिजर्भ एण्ड सरप्लसमा १ खर्ब ८२ अर्ब ६६ करोड रुपैयाँ रहेको असोज मसान्तको वित्तीय विवरणमा उनीहरुले नै देखाए । असार मसान्तको तुलनामा असोज मसान्तमा बैंकहरुको रिजर्भबाट ७ अर्ब ८३ करोड रुपैयाँ कहाँ हरायो ?

यस्तै बैंकहरुले असोज मसान्तमा प्रकाशित गरेको वित्तीय विवरणले उनीहरुले १२ अर्ब रुपैयाँ जति नाफा गरेको देखाए । यस्तो नाफा पनि सेयरधनीलाई बाढ्नु अघि रिजर्भमै राख्नु पर्छ । त्यसो हुँदा असार मसान्तको भन्दा बैंकहरुको रिजर्भमा असोज मसान्तमा १२ अर्ब रुपैयाँ बढी हुनुपथ्र्याे । तर, ७ अर्ब ८३ करोड रुपैयाँ घटेको देखाउँदा त यो तीन महिनाको अवधिमा बैंकहरुको रिजर्भबाट झण्डै २० अर्ब रुपैयाँ हराएको देखियो ।

कहाँ जान्छ रिजर्भको पैसा ?
बैंकले गरेको नाफा आफ्ना सेयरधनीलाई लाभांशको रुपमा बाढ्नु अघि रिजर्भ एण्ड सरप्लसमा राख्नुपर्छ । र, अहिले कार्यान्वयनमा आएको एनएफआरएस अनुसार नाफाबाट लाभांश वितरण गर्दा त्यही रिजर्भको पैसाबाट बाड्नु पर्छ । त्यसैले बैंकहरुले लाभांश बाढेको अबस्थामा रिजर्भमा भएको पैसा घट्नु स्वभाविक हुन्छ ।

लाभांश बाढेका कारण घटेको हो ?
होइन । बैंकहरुले यसबर्ष बार्षिक साधारणसभा गरेका छैनन् । बार्षिक साधारणसभा नगरी लाभांश बाढ्न पाइदैन । तर, केही चार्टर्ड एकाउन्टेन्टहरुले बैंकहरुको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेपछि रिजर्भमा भएको पैसा बोनस सेयर दिने भए पुँजीमा र नगद लाभांश दिने भए लाभांश दायित्वमा सार्ने गरिएको बताए ।

असोज मसान्तअघि अधिकांश बाणिज्य बैंकहरुको वित्तीय विवरण स्वीकृत भएको थिएन ।

तर, कम्पनीको सर्बाेच्च निकाय बार्षिक साधारणसभा हो । राष्ट्र बैंकले स्वीकृत गरेको वित्तीय विवरण पनि बार्षिक साधारणसभाबाट स्वीकृत नभइ कार्यान्वयन हुदैन । अहिले बाणिज्य बैंकहरुमा कार्यान्वयनमा रहेको एनएफआरएस अनुसार पनि बार्षिक साधारणसभा नगरी रिजर्भ एण्ड सरप्लसमा रहेको रकम पुँजीमा वा लाभांश दायित्वमा सार्न पाइदैन ।

अरु के हुँदा घट्छ रिजर्भ ?
अहिले कार्यान्वयनमा आएको आइएफआरएस अनुसार प्रत्येक त्रैमासमा बैंकहरुले आफूसँग भएको सम्पत्तीको वास्तविक मूल्य (फेयर भ्यालू) मा मूल्यांकन गराउनु पर्छ । बैंकहरुसँग भएको सम्पत्तीको वास्तविक मूल्य घट्यो भने बैंकहरुको रिजर्भ घट्छ । र, बढ्यो भने बढ्छ ।

बैंकसँग हुने सम्पत्ति के हो ?
बैंकहरुसँग हुने सम्पत्ती भनेको विशेष गरी घरजग्गा र सेयर हो । असार मसान्तको तुलनामा असोज मसान्तमा आइपुग्दा घरजग्गाको मूल्यमा धेरै नबढेपनि घटेको भने छैन । वास्तविक मूल्यमा जग्गाको मूल्यांकन गराउने पर्ने विधिको कार्यान्वयन गर्दा असार मसान्तको तुलनामा असोज मसान्तमा घरजग्गाको मूल्यांकन घट्नु पर्ने देखिदैन ।

बैंकहरुसँग हुने सेयर भनेको खासगरी बीमा कम्पनी र लघुवित्त वित्तीय संस्थाहरुको हो । किनभने एउटा बाणिज्य बैंकले अर्काे बाणिज्य बैंकको सेयरमा लगानी गर्न पाइदैन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार गत असार मसान्तमा नेप्से परिसुचक १२१२.४ विन्दुमा थियो । र, असोज मसान्तमा परिसुचक १२४१.६ बिन्दुमा पुग्यो । यो तथ्यांकले पनि सेयरको मूल्य घटेका कारण बैंकहरुको सम्पत्ति घट्यो होला भनेर मान्न सकिने अबस्था छैन ।

नेपाल बैंककै हरायो ८ अर्बभन्दा बढी
नेपाल बैंकले असार मसान्तमा आइएफआरएस अनुसार नै प्रकाशित गरेको वित्तीय विवरण अनुसार उसको रिजर्भमा २४ अर्ब ७ करोड रुपैयाँ थियो । असार मसान्तपछि उसको रिजर्भमा बैंकले बेचेको थप निस्कासन (एफपीओ) बाट आएको ३ अर्ब रुपैयाँ पनि थपियो । र, बैंकले असोज मसान्तसम्ममा ९७ करोड रुपैयाँ वितरणयोग्य नाफा पनि कमायो ।

यसो हुँदा सामान्यतः बैंकको रिजर्भमा असोज मसान्तमा २८ अर्ब रुपैयाँ जति हुनुपथ्र्याे । तर, बैंकले असोज मसान्तमा उसले प्रकाशित गरेको वित्तीय विवरणमा उसको रिजर्भमा १९ अर्ब ६१ करोड रुपैयाँ भएको देखायो । यो तीन महिनाको अवधिमा नेपाल बैंकको रिजर्भबाट ८ अर्ब रुपैयाँभन्दा बढी हराएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह फेयर भ्यालूमा आफ्नो सम्पत्तिको मूल्यांकन गराउँदा रिजर्भको पैसा घटेको जस्तो देखिएको बताउँछन् । तर, उनले भनेको कुरा पत्याउन सकिने गरी न त सेयरको मूल्य घटेको छ, नत घरजग्गाको नै ।

कुन कुन बैंकको घट्यो रिजर्भ ?
बैंकहरुले असोज मसान्तमा एनएफआरएस अनुसार प्रकाशित गरेको वित्तीय विवरणले असार मसान्तको तुलनामा असोज मसान्तमा रिजर्भ एण्ड सरप्लसमा रहेको रकम घटेको देखाएको छ ।

यसमध्ये नेपाल बैंकको ४ अर्ब ४७ करोड, कृषि विकास बैंकको २ अर्ब ४ करोड, प्रभु बैंकको १ अर्ब, सनराइज बैंकको ९६ करोड र जनता बैंकको ७९ करोड रुपैयाँ रिजर्भबाट घटेको देखाउँछ । अरु थप केही बैंकको पनि घटेको तथ्यांकले देखाएपनि घटेको अंक सामान्य छ ।

असोज मसान्तको विवरणमा देखिदैन
असोज मसान्तको वित्तीय विवरण प्रकाशित गर्दा बैंकहरुले चलाखी गरेका छन् । उनीहरुको यही चलाखीको कारण असार मसान्तको भन्दा रिजर्भको पैसा असोज मसान्तमा घटेको देखिदैन ।

यसको लागि बैंकहरुले असार मसान्तमा प्रकाशित गरेको तथ्यांक नै हेर्नुपर्ने हुन्छ । नेपाल बैंकले भने असोज मसान्तमा प्रकाशित गरेको तथ्यांक पनि असारमा उसँग भएको रिजर्भ जतिको तति नै राखेको छ । अरु बैंकले भने सच्याएर प्रकाशित गरेका छन् ।

जस्तो कि सनराइज बैंकले असार मसान्तमा वित्तीय विवरण प्रकाशित गर्दा उसँग ४ अर्ब ६८ करोड रुपैयाँ रिजर्भ एण्ड सरप्लसमा छ भनेको थियो । असोज मसान्तमा वित्तीय विवरण प्रकाशित गर्दा सनराइजले असार मसान्तमा आफूसँग ३ अर्ब ३८ करोड रुपैयाँ मात्रै भएको तथ्यांक प्रकाशित गर्यो ।

सनराइज बैंकको यी दुईटा वित्तीय विवरण हेर्ने हो भने असार मसान्तमा उसँग भएको रिजर्भ एण्ड सरप्लसको पैसा असोज मसान्तमा भने झै ३ अर्ब ३८ करोड रुपैयाँ हो कि असार मसान्तमा भने झै ४ अर्ब ६८ करोड रुपैयाँ हो ?

यस्तै अबस्था कृषि विकास बैंकको पनि छ । उसले असार मसान्तमा वित्तीय विवरण प्रकाशित गर्दा आफूसँग १६ अर्ब ७३ करोड रुपैयाँ रिजर्भ एण्ड सरप्लसमा छ भन्यो । असोज मसान्तमा प्रकाशित गरेको वित्तीय विवरणमा आफूसँग असार मसान्तमा १४ अर्ब ५ करोड रुपैयाँ मात्रै थियो भन्यो । कृषि विकास बैंकको रिजर्भमा भएको रकम खासमा कति हो ?

यी बैंकले असार मसान्तको वित्तीय विवरणमा अझै सच्याउन भ्याएका छैनन् । केही बैंकले भने असार मसान्तको विवरण पनि असोज मसान्तकोसँग मिल्ने गरी सच्याइ सकेका छन् । तर, ती बैंकहरुले असार मसान्तको भन्दै पत्रिकामा प्रकाशित गरेको वित्तीय विवरण र अहिले बैंकहरुको वेबसाइटमा राखिएको वित्तीय विवरणमा रिजर्भ एण्ड सरप्लसको रकम भने फरक फरक देखिन्छ ।


क्लिकमान्डु