कस्ले निकाल्यो बैंकबाट ३० अर्ब ? संचय कोषका प्रशासक भन्छन्- हामीले त होइन



काठमाडौं ।  तीन महिनाको अवधीमा ठूला निक्षेपकर्ताले बैकिङ प्रणालीबाट तीन महिनाको अवधीको ३० अर्ब रुपैयाँ निकालेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज महिनासम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा ठूला निक्षेपकर्ताको निक्षेप ३० अर्ब रुपैयाँले घटेको छ ।

असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा गैर वित्तीय संस्था जसलाई ठूला निक्षेपकर्ताको रुपमा लिइन्छ तिनीहरुको निक्षेप ४ खर्ब ५० अर्ब रुपैयाँ थियो । असोज मसान्तमा आउदा यो निक्षेप घटेर ४ अर्ब २० रुपैयाँमा झरेको छ ।

राष्ट्र बैंकका अनुसार बीमा कम्पनीको निक्षेप बढेपनि कर्मचारी संचय कोष र नागरिक लगानी कोष तथा अन्य खालका कोषले बैंक तथा वित्तीय संस्थामा निक्षेपको रुपमा राख्ने रकम घटेको छ ।

बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ । असार मसान्तमा १ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप बीमा कम्पनीको बैंक तथा वित्तीय संस्थामा रहेकोमा त्यो बढेर असोज मसान्तमा १ खर्ब ९२ अर्ब रुपैयाँमा पुगेको छ ।
यस्तै कर्मचारी संचय कोषले बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेप १० अर्ब ४४ करोड रुपैयाँले घटेको छ । असार मसान्तमा ५२ अर्ब ८० करोड कर्मचारी संचय कोषको निक्षेप रहेकोमा असोज मसान्तमा ४२ अर्ब ३५ करोड रुपैयाँ निक्षेप रहेको छ ।

तर,कर्मचारी संचय कोषका प्रमुख प्रशासक तुलसी गौतमले भने बैंक तथा वित्तीय संस्थामा रहेको संचय कोषको निक्षेप रकम नघटेको बताए ।

‘हाम्रो अहिले ५३ अर्ब रुपैयाँ निक्षेप बैंक तथा वित्तीय संस्थामा छ,निक्षेप रकम घटेको छैन,’उनले क्लिकमाण्डूसँग भने ।

यस्तै नागरिक लगानी कोषको समेत असार मसान्तको तुलनामा असोज मसान्तमा निक्षेप ८ अर्ब ४८ करोड रुपैयाँले घटेको छ । नागरिक लगानी कोषको ६८ अर्ब ४९ करोड निक्षेप रहेकोमा असोज मसान्तमा त्यो घटेर ६० अर्ब रुपैयाँमा झरेको छ ।

यस्तै अन्य खालका कोषहरुको रकम समेत १६ अर्ब ५१ करोड रुपैयाँले घटेको छ । असार मसान्तसम्ममा १ खर्ब ४१ अर्ब ९८ करोड निक्षेप रहेकोमा असोज मसान्तमा १ खर्ब २५ करोड ४६ लाख रुपैयाँमा झरेको छ ।


क्लिकमान्डु