खरको छानोमुक्तदेखि शून्य बेरुजु भएको पहिलो गाउँपालिका बन्यो अर्घाखाँचीको छत्रदेव



अर्घाखाँची । मुलुकमा संघीय प्रणाली लागू भएसँगै नेताहरुले गाउँगाउँमा सिंहदरबार पुर्याएको भाषण गरिरहेका छन् ।

कतिपय स्थानीय तहहरुमा जनताले सिंहदरबारको जस्तै विकृति र भ्रष्टाचार भोगिरहेका छन् भने केही स्थानीय तहका जनताले सिंहदरबारभित्र खुम्चिएर बसेको सुशासनको पनि मज्जाले उपयोग गर्न पाएका छन् ।

जनताहरु आफैंले भोट दिएर छानेका जनप्रतिनिधिहरु जनताप्रति साँच्चिकै संवेदनशील भएर काम गरे भने त्यो ठाउँका जनता सुखी हुन्छन् । निश्चय पनि त्यो ठाउँ सम्मृद्ध हुन्छ ।

देशभरका ७ सय ५३ स्थानीय तहमध्ये केही स्थानीय तहका जनप्रतिनिधिले उदाहारणीय काम गरेर जनताको मन जितेका छन् । जनताको मतको सम्मान गरेका छन् । तीनै थोरै स्थानीय तहमा पर्छ अर्घाखाँचीको छत्रदेव गाउँपालिका ।

छत्रदेव गाउँपालिकाले केही उदाहरणीय काम गरेर जनताको मन जितेको छ । जनभावनाको कदर गरेको छ ।

निर्वाचनका बेला भोट जाँदा खरको छानोबाट पानी चुहिएर निथ्रुक्कै भिजेका जनताको दयनिय अवस्था देखेपछि कांग्रेसका तर्फबाट छत्रदेव गाउँपालिकाको प्रमुखका उम्मेद्वार रहेका लेखनाथ पोखरेलको मन पोल्यो । पोखरेलको मन थामिएन र उनले त्यहीबेला घोषणा गरे– मलाई जिताएर पठाउनुहोस्, तपाईंहरुको घरमा टिनको छानो लगाइदिन्छु ।

छत्रदेवका जनताले पोखरेललाई चुनाव जिताए । धेरै नेताहरु चुनाव जितिसकेपछि चुनावअघि जनतासँग गरेका बाचा भूल्छन् । तर, पोखरेलले भने त्यसो गरेनन् ।

अध्यक्ष पाेख्रेलसँगकाे भिडियाे कुराकानी 

‘चुनाब जितेपछि जनताको घरमा टिनको छानो लगाउने काम शुरु गरिहालेँ,’ छत्रदेव गाउँपालिकाका अध्यक्ष पोखरेलले क्लिकमाण्डूसँग भने, ‘म निर्वाचित भएको एक वर्षभित्रै मेरो गाउँपालिका खरको छानोमुक्त भयो ।’

गाउँपालिकाले १ करोड २० लाख रुपैयाँ खर्च गरेर ३ सय ३७ वटा गरिबका घरमा टिनको छानो लगाइदियो ।

‘हामीले गोल्छा अर्गनाइजेशनको गुणस्तरीय हुलासको जस्तापाता लगाइदिएका छौं, जनताहरु असाध्यै खुसी हुनुभएको छ, अब उहाँहरु घरभित्र सुतेकै ठाउँमा पानीले भिज्नुपर्ने छैन,’ पोखरेलले भने ।

त्यस्तैगरी छत्रदेव गाउँपालिकाले काठको पोलमुक्त गाउँपालिका बन्ने अभियानमा सञ्चालन गरिरहेको छ । आगामी केही समयभित्रै गाउँपालिकाभित्र काठको पोल देख्न नपाइने पोखरेलले बताए । त्यसैगरी खानेपानीको समस्या समाधान गर्न काम भइरहेको उनको भनाई छ ।

त्यतिमात्रै होइन, छत्रदेव गाउँपालिका गत आर्थिक वर्ष शून्य रकम बेरुजु हुने गाउँपालिका समेत बनेको छ । अर्थात् गाउँपालिकाले गरेका सबै खर्चहरु पारदर्शी छन् भन्ने प्रमाण हो ।

‘हामीले खर्च गर्ने प्रणालीलाई सुधार गर्यौं, जसले गर्दा गाउँपालिकाको बजेटमध्ये ९९ प्रतिशत खर्च गर्न सफल भयौं, यसरी खर्च गर्दा पनि एक रुपैयाँ पनि बेरुजु निस्किएन,’ पोखरेलले भने ।

शुरुको अवस्थाबाट नै योजना तर्जुमा, कार्यान्वयन, ठेक्कापट्टा लगायतका काम गर्दा उच्च प्रविधि र ध्यानपुर्वक अघि बढेकाले काम पनि भएको र बेरुजु पनि नभएको उनको भनाई छ । गत वर्ष यो गाउँपालिकासँग ४१ करोड रुपैयाँ बजेट थियो ।


पुष्प दुलाल