अर्थतन्त्रमा देखियो समस्या, विदेशी सन्चिती घट्यो, शोधानान्तर ३५ अर्बले घाटामा



काठमाडौं । अत्याधिक आयातको कारण देशबाट भित्रने रकमको तुलनामा बाहिरिने रकम बढेपछि शोधानान्तर घाटा तीन महिनामा ३५ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार शोधनान्तर घाटा ३५ अर्ब ४२ करोडले घाटामा छ । तीन महिनाको अवधीमा नेपालको व्यापारघाटा ३ खर्ब ४९ अर्ब रहेको छ । तीन महिनामा नेपालमा ३ खर्ब ७३ अर्ब रुपैयाँको आयात भएको छ भने निर्यात २३ अर्ब ७४ करोड रुपैयाँको छ ।

तीन महिनामा रेमिटेन्स वापत २ खर्ब ४२ अर्ब रुपैयाँ आएको छ । शोधानान्तर बढ्दै गएपछि देशको विदेशी सन्चिती घट्न थालेको छ ।

कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँको तुलनामा १.७ प्रतिशतले वृद्धि भई २०७५ असोज मसान्तमा ११ खर्ब २० अर्ब ९२ करोड छ । तर, अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ५.२ प्रतिशतले कमी आई २०७५ असोज मसान्तमा ९ अर्ब ५६ करोड रहेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको रु.९८९ अर्ब ४० करोडको तुलनामा २०७५ असोज मसान्तमा रु. २४ करोडले वृद्धि भई रु.९८९ अर्ब ६४ करोड रहेको छ । अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११३ अर्ब १९ करोड रहेकोमा २०७५ असोज मसान्तमा १६ प्रतिशतले वृद्धि भई रु.१३१ अर्ब २८ करोड पुगेको छ ।

२०७५ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.२ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.२ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३७.३ प्रतिशत, ६५.७ प्रतिशत र ३५ प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ३६.७ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए


क्लिकमान्डु