काठमाण्डौका मालपोतले उठाएको अर्बौं राजश्व कहाँ जान्छ ?



काठमाण्डौ । चालु आर्थिक वर्ष शुरु भए यता मालपोत कार्यालयमा संकलन हुने गरेको रकम कहाँ कसलाई प्रदान गर्ने कुरा अन्योलमा रहेको छ । यो रकम न केन्द्रीय सरकारलाई पठाइएको छ, न त स्थानीय सरकारले नै पाउन सकेका छन् ।

पछिल्लो समय मालपोत कार्यालयमा जम्मा हुने गरेको राजश्व तथा पुँजीगत लाभकर सबै मालपोत कार्यालयको लेखा कोषमा जम्मा भएर बसेको छ । त्यसमध्ये ४० प्रतिशत रकम बागमती सभ्यताका लागि जम्मा हुने गरेको छ ।

मालपोत कार्यालयका एक कर्मचारीले भने- ‘जम्मा भएको मध्ये कति प्रतिशत रकम स्थानीयमा दिने, महानगरमा कति, प्रदेशमा कति दिने र कसरी दिने ? भन्ने कुरै अन्योलमा छ ।’

सरकारको निर्णय अनुसार मालपोत कार्यालयमा जम्मा भएको राजश्व तथा पुँजीगत लाभकर महानगर, प्रदेश, स्थानीय तह सबैलाई बाँडफाड गरेर छुट्टै हिसाब गरी रकम उपलब्ध गराउनु पर्नेछ । तर, त्यसलाई कुन खातामा जम्मा गर्नु पर्ने हो अहिलेसम्म अन्योल छ ।

चालु आर्थिक वर्षको ३ महिनामा काठमाडौं उपत्यकाबाट मात्र २ अर्ब १४ करोड २४ लाख रुपैयाँ बराबरको राजश्व संकलन भएको छ । सो अवधिमा काठमाडौं उपत्यकाबाट कुल ३६ करोड ५० लाख रुपैयाँ हाराहारीमा पुँजीगत लाभकर संकलन भएको छ ।

बागमती सभ्यतामा कति गयो ?

मनमैजु मालपोत कार्यालयले चालु अािर्थक वर्षको ३ महिनामा बागमती सभ्यताका लागि ९६ लाख ७ हजार १ सय ८० रुपैयाँ छुट्याएको छ भने साँखु मालपोत कार्यालयले चालु आर्थिक वर्षको ३ महिनामा बागमती सभ्यताका लागि ७३ लाख ६८ हजार ६ सय ६३ रुपैयाँ छुट्याएको जनाएको छ ।

यता, डिल्ली बजार मालपोत कार्यालयले चालु आर्थिक वर्षको ३ महिनामा बागमती सभ्यताका लागि २ करोड ९० लाख २६ हजार २ सय ८४ रुपैयाँ छुट्याएको कार्यालय लेखा अधिकृत कृष्णप्रसाद दाहालले जानकारी दिए ।

कलंकी मालपोत कार्यालयले चालु आर्थिक वर्षको ३ बागमती सभ्यताका लागि ३ करोड ८५ लाख ७३ हजार ८ सय ६३ रुपैयाँ छुट्याएको छ ।
चाबहिल मालपोत कार्यालयले भदौ र असोज महिनामा मात्र २ करोड ३२ लाख २९ हजार ८ सय ७६ रुपैयाँ बागमती सभ्यताका लागि छुट्याएको लेखा शाखाका दिलीप सुबेदीले बताए ।

भुमी सुधार तथा गरिबी निवारण मन्त्रालयका सुचना अधिकृत गोपाल गिरीले भने यस विषयमा आफुलाई केही थाहा नभएको बताउँछन् ।

क्लिकपाण्डुका रिपोर्टर राजश्व तथा पुँजीगतको जानकारी लिन मन्त्रालय पुगेपछि गिरीले विभागलाई फोन गर्दै किन सुचना मन्त्रालयमा आको छैन्, विभागले नै मालपोतबाट सुचना नपाएको होत ? भन्दै प्रशन गरे ।

विभागबाट ४ महिनासम्म जग्गाको कारोबारबाट राजश्व तथा लाभकर कति उठे भन्ने सुचना नपाएपछि भखर मालपोत कार्यालयहरुलाई पत्रलेखेको गिरीलाई बताए ।

मालापोत कार्यालयहरु विभागलाई पैसा बुझाउने हैन भने किन जानकारी पठाउनु भनेको चुपो लागेको गिरीले खुलाए ।

मालापोत कार्यालयहरुले केन्द्रलाई नै रकम बुझाउने हैन् भने जग्गाबाट उठेको राजश्व तथा पुँजीगत लाभकर कहाँ बुझाउने भनेर अन्योलमा रहेका छन् ।


पुष्प दुलाल