विदेशी लगानीकर्ताको रोजाइमा होटल: आयो उत्तर कोरियादेखि सिरियासम्मको एफडीआइ




काठमाडौं । गत आर्थिक बर्षमा मात्रै विश्वका विभिन्न २९ देशबाट नेपालको होटल तथा रेष्टुरेन्ट ब्यवसायमा ४ अर्ब रुपैयाँभन्दा बढीको प्रत्येक्ष विदेशी लगानी थपिएको छ ।

गत बर्ष यी देशका लगानीकर्ताले नेपालमा १५६ वटा होटल तथा रेष्टुरेन्ट ब्यवसाय परियोजना मार्फत ४ अर्ब १२ करोड ३३ लाख रुपैयाँभन्दा बढी लगानी ल्याएका हुन् । यसरी नेपालमा २९ देशबाट प्रत्येक्ष विदेशी लगानी (एफडीआइ) भित्रिएको उद्योग विभागले जानकारी दिएको छ ।

नेपालको होटल तथा रेष्टुरेन्ट ब्यवसायमा महाशक्तिशाली अमेरिकादेखि विश्वभर ब्यापार साम्राज्य विस्तार गरिरहेको चीनबाट पनि लगानी आएको छ ।

चिनीयाँ लगानीकर्ताले नेपालको होटल तथा रेष्टुरेन्ट ब्यवसायप्रति निकै नै चासो देखाएर लगानी गरेका छन् । चीनबाट मात्रै ७८ वटा परियोजना मार्फत होटल तथा रेष्टुरेन्टमा लगानी भित्रिएको छ ।

यस्तै विश्वको महाशक्ति राष्ट्र अमेरिका चीनलाई पच्छ्यादै नेपालको होटल तथा रेष्टुरेन्ट क्षेत्रमा धेरै परियोजना संचालन गर्ने दोस्रो स्थानमा छ । अमेरिकी लगानीकर्ताले नेपालमा गत आर्थिक बर्ष मा त्रै २० वटा परियोजना मार्फत एफडीआइ भित्र्याएका छन् ।

नेपालको अर्काे छिमेकी देश भारत भने नेपालमा एफडीआइको धेरै परियोजना संचालन गर्ने देशमा दक्षिण कोरियासँगै तेस्रो स्थानमा छ । भारत र दक्षिण कोरियाबाट गत बर्ष ७÷७ परियोजनाका लागि एफडीआइ भित्रिएको छ ।

बेलायती लगानीकर्ताले नेपालमा ६ वटा होटल तथा रेष्टुरेन्ट परियोजना संचालन गरेका छन् । यस्तै फ्रान्स र जापानी लगानीकर्ताले भने गत आर्थिक बर्षमा ५÷५ वटा परियोजना संचालन गर्ने स्वीकृति उद्योग विभागबाट लिएका छन् ।

‘ट्याक्स हेभन’का रुपमा परिचित मौरिससबाट पनि नेपालको होटल तथा रेष्टुरेन्ट ब्यवसायमा गत बर्ष एफडीआइ आएको छ । यस्तै दुनियाकै लागि रहस्यमय देशका रुपमा रहेको उत्तरकोरियाबाट पनि गत बर्ष नेपालमा होटल तथा रेष्टुरेन्ट ब्यवसायमा एफडीआइ आएको छ ।

विभागले दिएको जानकारी अनुसार गत आर्थिक बर्षमा होटल तथा रेष्टुरेन्ट ब्यवसायमा लगानी गर्नको लागि सिरिया, इजरायल, बंगलादेश, स्वीटजरल्याण्ड, स्पेन, बेल्जियम, नेदरल्याण्ड, मलेशिया, दक्षिण अफ्रिका, रसिया, स्वीडेन, जर्मनी, मलेशिया, चेक रिपब्लिक, अष्ट्रेलिया, कम्बोडिया, पराग्वे, इटली, मेक्सिको, इजिप्ट जस्ता देशबाट एफडीआइ आएको छ ।

यसरी आएको एफडीआइको धेरै परियोजना काठमाडौं उपत्यका केन्द्रीत रहेका छन् । अधिकांश होटल तथा रेष्टुरेन्ट काठमाडौंमा, नगन्य मात्रामा भक्तपूर र केही ललितपूरमा संचालन गर्ने भनिएको छ । यस्तै काठमाडौंपछि कास्की र चितवनमा होटल र रेष्टुरेन्ट संचालन गर्ने गरी एफडीआइ नेपाल भित्रिएको छ । केही संख्यामा भने बर्दियामा पनि लगानी आएको छ ।

गत आर्थिक बर्षमा एफडीआइबाट संचालन हुने भनेर स्वीकृत गरिएका परियोजनामा सबैभन्दा धेरै होटल तथा रेष्टुरेन्ट क्षेत्रका नै छन् ।

विभागले गत आर्थिक बर्षमा प्रत्येक्ष विदेशी लगानीका ३९७ परियोजनालाई स्वीकृति दिएको थियो । यीमध्ये पर्यटन (होटल तथा रेष्टुरेन्ट) क्षेत्रमा मात्रै १५६ परियोजना स्वीकृत भएका हुन् ।


क्लिकमान्डु