कित्ताकाट रोकिएपछि घरजग्गाको कारोबार सुस्तायो, राजश्व समेत घट्यो



काठमाण्डौ । सरकारले जग्गाको कित्ताकाट रोकेपछि यसको असर घरजग्गाको कारोबारमा परेको छ । पछिल्लो समय घरजग्गाको कारोबार सुस्ताएको छ भने यसबाट सरकारले पाउने राजश्व समेत घटेको छ ।

देशभरमा सबैभन्दा बढी घरजग्गामा राजश्व संकलन गर्ने काठमाडौं जिल्लामा आर्थिक वर्ष २०७५\०७६ को पहिलो त्रैमासिक अवधीमा अघिल्लो वर्षको तुलनामा २४ करोड ८५ लाख रुपैयाँले राजश्व घटेको छ ।

चालु आर्थिक वर्षको ३ महिनामा काठमाडौं जिल्लाबाट मात्र २ अर्ब १४ करोड, २४ लाख रुपैयाँ बराबरको राजश्व संकलन भएको छ । साउन, भदौ र असोजमा काठमाडौं जिल्लामा रहेका ६ वटा मालपोत कार्यालयहरुबाट यो संकलन भएको हो । सो अवधिमा काठमाडौंबाट ३६ करोड ५० लाख रुपैयाँ हाराहारीमा मात्र पुँजीगत लाभकर संकलन भएको छ ।

गत आर्थिक वर्षको पहिलो ३ महिनामा २ अर्ब ३९ करोड १० लाख रुपैयाँ बराबरको राजश्व संकलन भएको भने पुँजीगत लाभकर ४६ करोड ६९ लाख २५ हजार रुपैयाँ बराबर संकलन भएको तथ्यांकले देखाएको छ ।

सरकारी राजश्व र पुँजीगत लाभकर संकलन किन कम भएको भन्ने क्लिकमाण्डू संवाददाताको प्रश्नमा चाबहिल लेखा शाखाका दिलीप सुबेदी, मनमैजु कार्यालय प्रमुख कलक खड्का, टोखा कार्यालय प्रमुख रोशन शंकर घिमिरे, डिल्लीबजार कार्यालयका लेखा अधिकृत कृष्णप्रसाद दाहाल, कलंकी कार्यालयकी शाखा अधिकृत माया पन्त र साँखु कार्यालयका लेखा शाखाका कर्मचारी रत्न महर्जनले जग्गाको कित्ताकाट रोकिंदा कारोबार नै कम भएको बताए ।

सम्बन्धित कार्यालयका जिम्मेवार अधिकारीको उस्तै जवाफ छ–कारोबार नै कम भएपछि राजश्व र पुँजीगत लाभ कर कम उठेको हो ।

कित्ताकाट रोकिएपछि जग्गाको कारोबार कम भएको र पछिल्लो समय भूमि ऐनको समेत टुङ्गो नलागेकाले जग्गाको काम भन्दा घडेरी बेचबिखनको मात्र काम भइरहेको मालपोत कार्यालय साँखुका लेखा शाखाका कर्मचारी महर्जनले बताए । ‘जग्गा बिक्री वितरण भएको छैन्, घर नाम सार्ने, किन्नेहरुको काम बढी मात्रामा भइरहेको छ,’ महर्जनले भने ।

कुन मालपोत कार्यालयबाट कति उठ्यो राजश्व ?
यो चालु आर्थिक वर्षको ३ महिनामा चाबहिल मालपोत कार्यालयले मात्र ९७ करोड ८१ लाख ३६ हजार रुपैयाँ राजश्ज संकलन गरेको छ । चाबहिल लेखा शाखाका दिलीप सुबेदीका अनुसार पुँजीगत लाभकर ८ करोड ९१ लाख ७९ हजार रुपैयाँ बराबर संकलन भएको छ ।

यता, मनमैजु मालपोत कार्यालयले यो चालु अािर्थक वर्षको ३ महिनामा ९ करोड ५८ लाख १ हजार २ सय ८९ रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयका प्रमुख कलक खड्काका अनुसार यो अवधिमा पुँजीगत लाभकर ४ करोड ८७ लाख ९७ हजार ६६ रुपैयाँ संकलन भएको छ ।

यसैगरी, साँखु मालपोत कार्यालयले चालु आर्थिक वर्षको ३ महिनामा २८ लाख ६५ हजार ७ सय ५६ रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयका लेखा शाखाका कर्मचारी रत्न महर्जनका अनुसार पुँजीगत लाभकर भने ४ करोड ३० लाख ९८ हजार १ सय ५४ रुपैयाँ संकलन भएको हो ।

यसैबीच, टोखा मालपोत कार्यालयले चालु आर्थिक वर्षको ३ महिनामा १९ करोड ६३ लाख ९० हजार ३ सय ४ रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा ७ करोड ३२२ लाख ५३ हजार ४७ रुपैयाँ संकलन गरेको छ– कार्यालय प्रमुख रोशन शंकर घिमिरेले जानकारी दिए ।

यस्तै, डिल्ली बजार मालपोत कार्यालयले चालु आर्थिक वर्षको ३ महिनामा ५४ करोड ६ लाख ९३ हजार २ सय ९६ रुपैयाँ संकलन गरेको छ । कार्यालयले १२ करोड ७ लाख ७९ हजार ६ सय १७ रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको लेखा अधिकृत कृष्णप्रसाद दाहालले जानकारी दिए ।

यसैगरी, कलंकी मालपोत कार्यालयले चालु आर्थिक वर्षको ३ महिनामा ५० करोड ५३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । पुँजीगत लाभकर १५ करोड ८९ लाख रुपैयाँ संकलन भएको कार्यालयकी शाखा अधिकृत माया पन्तले जानकारी दिइन् ।


क्लिकमान्डु