शहरी क्षेत्रमा चरम वायु प्रदुषण, वार्षिक ३५ हजारको मृत्यु, ३ खर्बको क्षति



काठमाडौं । काठमाडौं उपत्यका लगायत शहरी क्षेत्रमा वायु प्रदुषणको मात्रा तोकिएको मापदण्ड भन्दा ४ गुणा बढी रहेको पाइएको छ ।

निर्माणका लागि भन्दै भत्काइएका सडकमा उड्ने धूलो, प्लास्टिक तथा अन्य ज्वलनशील पदार्थ डढाउने तथा धुवा तथा धुलाको कारण वायु प्रदुषणको मात्रामा अत्याधिक वृद्धि भएको हो ।

जानकारहरुकाअनुसार नेपालमा मात्रै वायु प्रदुषणका कारण वर्षेनी ३५ हजार बढी नागरिकको ज्यान जाने गरेको छ । त्यस्तै ३ खर्ब बढीको आर्थिक क्षति हुने गरेको पाइएको छ ।

वायु प्रदुषणका कारण हिउँद लागेपछि अस्पतालहरुमा रुघा, खोकी, छातीको समस्या भएका सयौं बिरामी उपचारका लागि भर्ना भएका छन् । तर वायु पदुषण नियन्त्रणका लागि सरकारले हालसम्म कुनै पनि प्रभावकारी कदम चाल्न सकेको छैन ।

सरकार र सरकारी निकायले भत्काएर अलपत्र छाडेका सडक मर्मतमा ध्यान दिएको छैन । यस्तै फोहोर व्यवस्थापन गर्ने भन्दा साँझ वा बिहान पोल्ने प्रवृत्ति पनि मौलाएर गएको छ ।

महानगरपालिका र नगरपालिकाले नियमित रुपमा फोहोर संकलन नगर्दा समेत फोहोर डढाउने प्रवृत्ति मौलाएर गएको छ । २० वर्ष पुगेका सवारी साधन चलाउन नदिने सरकारले निर्णय गरेको भएपनि ती सवारी साधन चलीरहेका छन् ।

यस्तै बढी धुवा फाल्ने सवारी साधनको नियन्त्रणमा समेत कुनै चासो देखाएको छैन । काठमाडौँमा वायु प्रदुषणको मात्रा हरेक वर्ष बढ्दै गएको छ । त्यसका अलावा लुम्बिनी तथा भैरहवा क्षेत्र समेत वायु प्रदुषणको उच्च जोखिममा परेको छ ।

सिमेन्ट उद्योगले फाल्ने धुवा र धूलोका कारण वायु प्रदुषण लुम्बिनी क्षेत्रमा बढ्दै गएको छ । सिमेन्ट उद्योगलाई धुलो नियन्त्रणका लागि कुने पनि उपाय सुझाइएको छैन ।

केही दिनयता काठमाडौं लगायत देशका अधिकांश सहरी क्षेत्रमा वायु प्रदूषण उच्च भएको छ । वायु प्रदूषण न्यूनीकरणका लागि सरकारले प्रभावकारी काम गर्न नसक्दा मानव स्वास्थ्यका लागि हानिकारक मानिने पिएम (टु प्वाइन्ट फाइभ), मापदण्डभन्दा झण्डै चार गुणा बढी पुगेको छ ।

तर सरकारी निकाय भने यस बारे जानकार नै नभएको जस्तै गरी बसीरहेको भन्दै चर्को आलोचना पनि भएको छ ।

सरकारी मापदण्डअनुसार पिएम टु प्वाइन्ट फाइभ करिब ४० अंकको हाराहारीमा हुनुपर्ने भएपनि पछिल्ला दिनमा नेपालगन्जमा त्यस्तो अंक १५१ पुगेको छ ।

सोही परिमाणको हाराहारीमा लुम्बिनी पनि रहेको छ । वातावरण विभागकाअनुसार लुम्बिनी तथा भैरहवा क्षेत्रमा पिएम टु प्लाइन्ट फाइभको मापनमा १५१ नै रहेको छ ।

काठमाडौँको रत्नपार्क क्षेत्रमा त्यस्तो प्रदुषणको मात्रा ८५ रहेको छ । यस्तै चितवनको सौराहामा ५१ रहँदा बारामा भने ५४ रहेको छ ।

मास्कले समेत धान्न नसक्ने अवस्थामा प्रदुषण पुगेको छ । प्रदुषण सिधै फोक्सो र रगमा पुग्ने भएकाले त्यसबाट स्वासप्रश्वास, छातीको रोग तथा क्यान्सर समेत हुने गरेको छ । तर त्यसलाई नियन्त्रण गर्न सरकारी स्तरबाट हालसम्म प्रभावकारी रुपमा कुनै पनि कदम चालिएको छैन ।

सरकारले आजभन्दा ३० वर्ष पहिले सुरु गरेको सवारी प्रदुषण नियन्त्रणको काम समेत अगाडि बढ्न सकेको छैन । वायु प्रदुषणको नियन्त्रणका लागि कुने पनि प्रभावकारी काम हुन नसक्दा लाखौं नागरिकको ज्यान जोखिममा पर्ने सम्भावना बढेर गएको छ ।


पुष्प दुलाल