कृषि सेवामा थपिए १०७ जना कर्मचारी, चितवनका धेरैले पाए जागिर




काठमाडौं । लोक सेवा आयोगले लिएको राजपत्रांकित तृतीयश्रेणी (प्राविधिक), कृषि सेवातर्फ विभिन्न १० वटा समूहमा १०७ जना कर्मचारी थपिएका छन् ।

जम्मा १११ जनाको लागि खुला तथा समावेशीका आधारमा पदपूर्तिका लागि २०७४ कात्तिक २९ गते विज्ञापन प्रकाशन भएको ४ पद भने कुनै पनि उम्मेदवार उतिर्ण नभएका आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

विज्ञापन भएका पदहरु खुलातर्फ ६१, महिला १३, आदिवासी/जनजाति १४, मधेशी ११, दलित ६, अपांग २ र पिछडिएको क्षेत्रतर्फ ४ जना गरी जम्मा १११ पद थियो । ती पदहरु कृषि प्रसार समूहमा २०, बागवानी समूहमा १२, बालीविकास समूहमा ४, बाली संरक्षण समूहमा १५, एगृ इको एण्ड मार्केटिङ्ग स्टाटिष्टिक समूहमा १४, माटो विज्ञान समूहमा १, मत्स्य समूहमा ९, ला.पो. एण्ड डे.डे. समूहमा १४, भेटेरिनरी समूहमा १८ र खाद्यपोषण तथा गुणनियन्त्रण समूहमा ४ वटा रहेका शर्माले जानकारी दिए ।

कृषि सेवाका अधिकृत वा सो सरह पदको लिखित परीक्षा २०७४ माघ÷फागुनमा सम्पन्न भएको थियो । लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुको २०७५ कार्तिक ८ गतेदेखि मंसिर ३ गतेसम्म सामूहिक परीक्षण र अन्तर्वार्ता संचालन भएको थियो ।

कृषि सेवाको अधिकृतस्तरमा कृषि प्रसार समूहमा २०, बागवानी समूहमा १२, बालीविकास समूहमा ४, बाली संरक्षण समूहमा १५, एगृ इको एण्ड मार्केटिङ्ग स्टाटिष्टिक समूहमा ११, माटो विज्ञान समूहमा १, मत्स्य समूहमा ९, ला.पो. एण्ड डे.डे. समूहमा १४, भेटेरिनरी समूहमा १८ र खाद्य पोषण तथा गुणनियन्त्रण समूहमा ३ जना उम्मेदवारहरु सिफारिश भएका शर्माको भनाइ छ ।

कुल माग पद १११ मध्ये १०७ जना को पदपूर्ति भएको छ । एगृ इको एण्ड मार्केटिङ्ग समूहमा आदिवासी/जनजातितर्फ १ पद, दलिततर्फ १ पद, अपांगतर्फ १ पद र खाद्यपोषण तथा गुणनियन्त्रण समूहमा पिछडिएको क्षेत्रतर्फ १ पद गरी जम्मा ४ पदमा पदपूर्ति हुन नसकेको हो ।

सिफारिश भएका उम्मेदवारहरुको उमेर समूह २५ बर्षसम्मका २७ जना, २५ देखि ३० बर्ष उमेर समूहका ६७ जना, ३० देखि ३५ बर्ष उमेर समूहका ११जना र ३५ बर्ष माथिका २जना रहेका छन् ।

कृषि विषयमा न्युनत्तम स्नातक उत्तीर्ण उम्मेदवारहरुले कृषि सेवाको अधिकृत सरहको पदमा आवेदन दिन सक्ने व्यवस्था रहेको छ । सिफारिश भएका उम्मेदवारहरुको न्युनत्तम शैक्षिक योग्यताका आधारमा विशिष्ट श्रेणीका ३५ जना, प्रथम श्रेणीका ६९ जना र द्वितीयश्रेणीका ३ जना रहेका आयोगको भनाइ छ ।

कृषि सेवामा अधिकृत पदका उम्मेदवारहरुले प्रथमपत्रको लिखित परीक्षा १०० पूर्णाङ्कको वस्तुगत बहुवैकल्पिक प्रश्नका आधारमार दोस्रो पत्र १०० पूर्णाङ्कको विषयगत परीक्षा दिनुपर्ने व्यवस्था छ । लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको १० पूर्णाङ्कको सामूहिक परीक्षण र लिखित परीक्षाको पूर्णाङ्क अनुसार लिखित परीक्षाको १०० पूर्णाङ्कका लागि २० र प्रत्येक थप १०० पूर्णाङ्कका लागि थप १० अंकका दरले हुन आउने अंकको अन्र्तवार्ता लिने व्यवस्था छ ।

कृषि सेवाका अधिकृतस्तरका पदहरुमा प्रदेश १ बाट १२ जना, प्रदेश २ बाट १४ जना, प्रदेश ३ बाट ३१ जना, प्रदेश ४ बाट १७जना, प्रदेश ५ बाट २२ जना, प्रदेश ६ बाट ४ जना र प्रदेश ७ बाट ७ जना सिफारिश भएका प्रवक्ता शर्माले जानकारी दिए ।

जिल्लागत रुपमा सबैभन्दा बढी चितवन जिल्लाबाट ११ जना सिफारिश भएका छन् । रुपन्देहीका १०, महोत्तरीका ६, कपिलवस्तु, काठमाडौं र नवलपरासीका ५/५ जना, तनहुँ, मोरङ्ग र ललितपुरका ४/४ जना, काभ्रे, भक्तपुर र सुर्खेतका ३/३ जना, कास्की, कैलाली, खोटाङ्ग, दाङ, धनुषा, बाग्लुङ, रामेछाप, सप्तरी, सर्लाही र सुनसरीका २/२ जना अछाम, अर्घाखाँची, उदयपुर, कञ्चनपुर, गोरखा, झापा, डडेल्धुरा, ताप्लेजुङ, दैलेख, धनकुटा, धार्दिङ, पर्वत, पाल्पा, बझाङ्ग, बर्दिया, बाँके, बाजुरा, मकवानपुर, म्याग्दी, रसुवा, रोल्पा, रौतहट, सिराहा, स्याङ्जाका १/१ जना सिफारिश भएका छन् । जम्मा ४६ जिल्लाबाट उम्मेदवारहरु सिफारिश भएका आयोगको भनाइ छ ।


क्लिकमान्डु