सेञ्चुरी र प्राइमले वाणिज्य बैंकलाई २ अर्ब ७५ करोड कर्जा बेचे, सिभिल र कुमारी पनि बेच्दै



काठमाडौं । कर्जा-पुँजी निक्षेप अनुपात (सीसीडी रेसियो) टाइट भएपछि वाणिज्य बैंकहरुले आफूसँग भएको असल कर्जा बेचेका छन् । सीसीडी रेसियोलाई मिलान गरी राष्ट्र बैंकको कारबाहीबाट बच्न बैंकहरुले आफूसँग भएको कर्जा बेचेका हुन् ।

तरलता अभावको चरम चापमा परेका केही बैंकले अल्पकालीन अवधिका लागि सरकारी बैंक र विकास बैंकलाई कर्जा बेचेका हुन् ।

सरकारी बैंकबाहेक अधिकांस बैंकको सीसीडी रेसियो ७८/७९ प्रतिशत छ । यस्तो रेसियो ८० प्रतिशत नाघे राष्ट्र बैंकले कारबाही गर्छ ।

सेञ्चुरी बैंकले वाणिज्य बैंकलाई असोज अन्तिममा १ अर्ब १५ करोड रुपैयाँ कर्जा बेचेको हो । सवा करोड ऋण बेचेर सीसीडी मिलान गर्दा पनि असोज मसान्तमा सेञ्चुरीको सीसीडी ७९.५ प्रतिशत छ ।

बेचेको कर्जा तोकिएको अवधिका लागि बेच्ने बैंकको दायित्वमा पर्दैन । उक्त कर्जा किन्ने बैंकको दायित्वमा पर्छ । जसकारण बेचिएको कर्जाको सीसीडी सेञ्चुरीमा नभई राष्ट्रिय वाणिज्य बैंकमा गणना हुन्छ ।

सेञ्चुरीले ४५ दिनका लागि कर्जा बेचेको हो । सेञुचरीले ग्राहकसँग लिँदै आएको ब्याजदर दिने सहमति अनुसार वाणिज्य बैंकले कर्जा किनेको बैंकका एक उच्च अधिकारीले बताए ।

त्यस्तै, कात्तिक महिनामा अर्थात् तिहार अघि वाणिज्य बैंकले प्राइम बैंकको १ अर्ब ५० करोड रुपैयाँ बराबरको कर्जा किनेको छ । प्राइमको कर्जा भने वाणिजय बैंकले ९० दिनका लागि किनेको हो । प्राइमको सीसीडी रेसियो ७९.८० प्रतिशत छ । प्राइमले ऋणीसँग लिँदै आएको ब्याजदर दिने सहमति अनुसार नै कर्जा किनिएको हो ।

‘सेञ्चुरीको १ अर्ब २५ करोड र प्राइमको १ अर्ब ५० करोड कर्जा किनेका छौं,’ वाणिज्य बैंकका एक उच्च अधिकारीले क्लिकमाण्डूसँग भने, ‘उहाँहरुले ग्राहकसँग लिँदै आएको ब्याजदर दिने सहमति अनुसार नै कर्जा किनेका हौं ।’

वाणिज्य बैंकको तुलनामा सेञ्चुरी र प्राइमले ऋणीसँग लिने ब्याजदर महंगो छ ।

पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकसँग अहिले पनि पर्याप्त तरलता छ । अहिले पनि वाणिज्य बैंकको सीसीडी रेसियो ७१ प्रतिशत मात्रै छ ।

बैंकले हाल १ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

‘हामीसँग अहिले पनि लगानी योग्य पुँजी पर्याप्त छ,’ बैंक स्रोतले भन्यो ‘अरु केही निजी बैंकहरुले हामीलाई कर्जा किनिदिन आग्रह गर्दै प्रस्ताब पठाएका छन् ।’

स्रोतका अनुसार सिभिल बैंक र कुमारी बैंकले डेढ/डेढ अर्ब रुपैयाँ ऋण ९० दिनका लागि किनिदिन वाणिज्य बैंकलाई प्रस्ताब गरेका हुन् ।

सिभिल र कुमारीको कर्जा किन्ने कि नकिन्ने भन्ने विषयमा अहिले निर्णय नभइसकेको ती अधिकारीले बताए ।

असोज मसान्तमा सिभिलको सीसीडी रेसियो ८९.९७ प्रतिशत छ भने कुमारीको सीडीडी रेसियो ७९.९१ प्रतिशत छ ।

गत असार यता बैंकहरुले ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५ अर्ब रुपैयाँ ऋण दिएका छन् । निक्षेपको तुलनामा झण्डै ८० प्रतिशतले कर्जा बढाएका बैंकहरु सीसीडी रेसियो टाइट भएपछि थप ऋण दिनसक्ने अवस्थामा छैनन् ।

बैंकहरुले आफ्नो ग्रोथमा मात्रै ध्यान दिएर आक्रमकरुपमा कर्जा विस्तार गर्दा क्रेडिट क्रञ्चको समस्या आएको लक्ष्मी बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन् ।

राष्ट्र बैंकले एक बैंकको कर्जा अर्को बैंकले किन्न सक्ने कानूनी व्यवस्था गरिदिएको छ । सोही ब्यवस्था अन्तर्गत रहेर बैंकहरुले आफूँग भएको असल कर्जा बेचेका हुन् ।

साङ्ग्रिला, महालक्ष्मी, ज्योति र ओम डेभलपमेन्ट बैंकले केही बैंकहरुको २ अर्ब बढी ऋण किनेका हुन् । यसरी असोज र कात्तिक महिनामा मात्रै वाणिज्य बैंकहरुको ५ अर्ब रुपैयाँभन्दा बढीको ऋण किनबेच भएको छ ।

बजारमा तरलताको प्रबाह तत्काल नबढे पुस मसान्तमा यो क्रम ३ गुणाले बढ्ने बैंकरहरु बताउँछन् ।


पुष्प दुलाल