तपाईँको लोन फाइल कुन बैंकमा छ ? यी बैंक त ऋण दिनै नसक्ने अबस्थामा पुगे



काठमाडौं । असोज मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेका १६ बाणिज्य बैंकमध्ये ९ वटा बैंक ग्राहकलाई ऋण दिनै नसक्ने अबस्थामा पुगेका छन् । अहिले संचालनमा २८ बाणिज्य बैंक भएपनि यी १६ बाणिज्य बैंकमध्ये ९ वटा बैंक अब थप ऋण दिन नसक्ने अबस्थामा पुगेको देखिएको छ ।

बैंकहरुको कर्जा पुँजी निक्षेप अनुपात (सीसीडी रेसियो) ८० प्रतिशतको नजिक पुगेका कारण थप ऋण दिन नसक्ने अबस्थामा पुगेका हुन् । बैंकहरुले सीसीडी रेसियो बढीमा ८० प्रतिशतसम्म बनाउन पाउँछन् ।

बैंकहरुले प्रकाशित गरेको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार सिटिजन्स बैंक इन्टरनेसनल, मेगा, जनता, सेन्चुरी, नेपाल बंगलादेश, सिद्धार्थ, नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी), माछापुच्छ्रे र सानिमा बैंक थप कर्जा प्रवाह गर्न नसक्ने अबस्थामा पुगेका छन् ।

यस्तै ग्लोबल आइइमइ, सनराइज, नेपाल इन्भेष्टमेन्ट र कृषि विकास बैंकको अबस्था केही सहज भएपनि उनीहरु पनि धेरै ऋण दिन सक्ने अबस्थामा छैनन् । यी बैंकको सीसीडी रेसियो पनि ७५ प्रतिशतभन्दा माथि नै छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, नेपाल बैंक र प्रभु बैंकको अबस्था भने तुलनात्मक रुपमा राम्रो छ ।

सिटिजन्स बैंक थप कर्जा लगानी गर्न सक्ने अबस्थामा छैन । गत असोज मसान्तमा उसको सीसीडी रेसियो ७९.६ प्रतिशत पुगेको छ । यस्तै मेगा बैंकको ७९.६१, जनताको ७९.५२, सेन्चुरीको ७९.५, नेपाल बंगलादेशको ७९.४७ र सिद्धार्थ बैंकको ७९.५ प्रतिशत सीसीडी रेसियो पुगेको छ ।

यस्तै सिभिल बैंक कर्जा दिन नसक्ने बैंकमा सबैभन्दा माथि छ । असो मसान्तको वित्तीय विवरण अनुसार उसको कर्जा निक्षेप अनुपात ७९.९७ प्रतिशत छ । यस्तै प्राइम बैंकपनि कर्जा दिन नसक्ने अवस्थामा छ । यसको कर्जा निक्षेप अनुपात ७९.८० प्रतिशत छ ।

एनसीसी बैंकको सीसीडी रेसियो ७८.९८, माछापुच्छ्रे बैंकको ७८.९, सानिमा बैंकको ७८.८, ग्लोबल आइएमइ बैंकको ७७.६ र सनराइज बैंकको ७७.५६ प्रतिशत छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सीसीडी रेसियो ७७.४५, कृषि विकास बैंकको ७६, प्रभु बैंकको ७५.७, नेपाल बैंकको ७१.१ र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको ६८.३ प्रतिशत छ ।

यी १६ वटा बैंकमा कर्जा दिन सक्ने सबैभन्दा बढी स्पेस स्ट्याण्डर्ड चार्टर्डको छ भने तुलनात्मक रुपमा प्रभु बैंक पनि सहज अबस्थामा छ ।

सीसीडी रेसियो ८० प्रतिशतको हाराहारीमा पुगेका बैंकले थप कर्जा प्रवाह गर्न कि त पुँजी बृद्धि गर्नुपर्छ, कि त निक्षेप बढ्नु पर्छ । तत्कालको लागि यी दुबै शर्त पूरा गर्न गाह्रो देखिएको छ । त्यसैले तपाइले ऋणको लागि फाइल पेश गर्नुभएको बैंक कुन हो, त्यसको सीसीडी रेसियो हेरेर र तपाइले मागेको ऋणको आकार अनुसार बैंकले ऋण दिन सक्छ कि सक्दैन भन्ने यकिन गर्न सकिन्छ ।


क्लिकमान्डु