बैंकहरुको कर्जा-निक्षेप सन्तुलनमा सुधारको संकेत, निक्षेप ४२ अर्बले बढ्दा कर्जा २५ अर्बले मात्रै बढ्यो



काठमाडौं । चालू आर्थिक वर्षको शुरुवातदेखि नै बैंकहरुको कर्जा र निक्षेपको वृद्धिमा असन्तुलन आउँदा भदौ अन्तिमदेखि बैंकहरुमा कर्जा योग्य रकमको अभाव भएको थियो । असोज महिना पनि यस्तै रह्यो ।

साउनदेखि असोज मसान्तसम्ममा बैंकहरुले जम्मा ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५ अर्ब रुपैयाँ ऋण दिएका थिए । जसकारण ७/८ वटा बैंकहरुको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) ८० प्रतिशतभन्दा माथि थियो । सरकारी बैंकबाहेक अधिकांस वाणिज्य बैंकको सीसीडी रेसियो ७८/७९ प्रतिशत थियो ।

तर, कात्तिकमा भने केही सुधार देखिएको छ । कात्तिकका दुई हप्तामा बैंकहरुले ४२ अर्ब रुपैयाँले निक्षेप बढाउँदै कूल निक्षेप २५ खर्ब ७५ अर्ब रुपैयाँ पुर्याएका छन् । त्यस्तै, कर्जा २५ अर्ब रुपैयाँले बढाउँदै २२ खर्ब ७१ अर्ब रुपैयाँ पुर्याएका छन् ।

निक्षेप वृद्धिको तुलनामा भन्दा निकै आक्रमक भएर बैंकहरुले कर्जा विस्तार गरेका कारण बैंकहरुसँग थप कर्जा दिने पैसा करिबकरिब सकिएको थियो ।

तर, दशैंमा बैंकहरुबाट बाहिरिएको पैसा निक्षेपका रुपमा फर्किएको र चाडबाडका बेला कर्जा प्रवाह नभएका कारण पछिल्लो दुई सातामा भने केही सुधार देखिएको छ ।

तर, अब मंसिरबाट धमाधम निर्माणका काम हुने भएकाले कर्जाको माग अझ बढी हुने बैंकरहरु बताउँछन् । कर्जाको मागको अनुपातमा निक्षेप बढ्न सकेन भने फेरि समस्या हुने देखिन्छ ।

तर,बैंकर्स संघका अध्यक्षसमेत रहेका एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना भने मंसिरदेखि परिस्थिति केही सहज हुने बताउँछन् । सरकारले स्थानीय तहलाई दिएको ८० अर्ब रुपैयाँ राष्ट्र बैंकको खातामा फर्किको छ ।

‘उक्त ८० अर्बमध्ये कंसिर १ गतेदेखि आधा पैसा वाणिज्य बैंकहरुमा आउने वातावरण मिलाउने आश्वासन पाएका छौं, सो पैसा आउनेवित्तिकै बैंकहरुलाई सहज हुन्छ,’ ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘अब सरकारले खर्च पनि बढाउँछ, सरकारी खर्च बढ्ने वित्तिकै बजारमा तरलता हुन्छ ।’


पुष्प दुलाल