ग्यास भण्डारणको योजना अगाडि बढाउँदै नेपाल आयल निगम



काठमाडौं । एलपीजी ग्यासको अभाव सिर्जना नहोस् भन्नका लागि नेपाल आयल निगमले ग्यास भण्डारण गर्ने भएको छ ।

एलपीजी ग्यासको खपत बढ्दो छ, विशेष गरी भान्सामा इन्धनका रुपमा ग्यास प्रयोग गरिन्छ । तर, अहिलेसम्म ग्यासको सरकारी स्तरमा भण्डारण गरिएको छैन । कुनै कारणवश केही दिन ग्यासको आपूर्ति बन्द हुँदा ठूलै समस्या आइपर्छ । यही समस्यालाई मध्यनजर गर्दै निगमले एलपीजी ग्यास भण्डारण गर्ने योजना अघि बढाएको छ ।

निगमका उपनिर्देशक विनितमणी उपाध्यायका अनुसार निगमले चाँडै नै एलपीजी ग्यास भण्डारणको अध्ययन सकेर त्यसको निर्माणतर्फ लाग्ने योजना बनाएको छ ।

‘हामी एलपीजी ग्यास भण्डारण निर्माणको तयारीमा छौं, त्यसको लागि आवश्यक अध्ययन भइरहेको छ, अध्ययनपछि, तुरुन्तै भण्डारण स्थल बनाउने काममा लाग्ने छौं,’ उपाध्यायले भने ।

हाल वर्षेनि ३५ हजार मेट्रिक टनको हाराहारीमा एलपीजी ग्यास खपत हुने र त्यसकै हाराहारीमा भण्डारण गर्ने गरी योजना अघि बनाइएको उनले बताए ।
तत्कालका लागि आवश्यक परी हाल्यो भने पनि हामीसँग एलपीजीको कुनै स्टक छैन, निजी बोटलर्सहरुसँग जति छ, त्यतिमै भर पर्नु परेको छ ।

उपाध्यायले भने- एलपीजी ग्यासको भण्डारणका लागि कहाँ कति क्षमताको बनाउन सकिन्छ र अझ प्रदेश नम्बर ३ मा एलपीजी ग्यासको खपत बढी हुने भएकाले, प्रदेश नम्बर ३ लाई पर्याप्त हुने गरी भण्डारण स्थल र क्षमताबारे अध्ययन भइरहेको छ ।

जनकपुरमा निगम कै १० बिघा जग्गा रहेको र त्यसमापनि एलपीजी भण्डारण बनाउन सकिने प्रस्ताव आएको उनले बताए ।

त्यसबाहेक चितवन र धादिङमा पनि उपयुक्त स्थलको खोजी तथा अध्ययन भइरहेको उनले बताए । चितवनको लोथर र धादिङमा जग्गा किन्ने काम भइसकेको उनले जानकारी दिए ।

चितवनमा २० हजार मेट्रिक टन र धादिङमा १० हजार मेट्रिक टन एलपीजी ग्यास भण्डारण गर्न सकिन्छ कि भन्ने अनुमान गरिएको उपाध्याय बताउँछन् ।
उनी भन्छन्-‘चितवन र धादिङमा एलपीजी भण्डारण गर्ने तयारी भइरहेको छ । त्यहाँ कति क्षमता बराबरको एलपीजी ग्यास भण्डारण गर्न सकिन्छ भनेर अध्ययन भइरहेको छ ।’

उनका अनुसार पछिल्लो समय बोटलर्सहरुलाई समेत १÷२ बिघा जग्गा थप राख्न आग्रह गरिएको छ ।

कतिपय बोटलर्सहरु अटोमसनमा गइसकेका हुनाले अलि बढी ठाउँ चाहिने, पुराना र नयाँ एलपीजी ग्यासका सिलिन्डरहरु छुट्टायर राख्नु पर्ने हुनाले धेरै जग्गाको आवश्यक पर्ने उपाध्यायको भनाई छ ।

२०७३ सालमा पुष्पकमल दाहालले आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणका क्रममा ग्यास भण्डारण बनाउन भारत सरकारलाई प्रस्ताव राखेका थिए ।
उक्त समयमा ३५ हजार मेट्रिकटन क्षमताको ग्यास भण्डारण निर्माण गर्न प्रस्ताव गरिएको थियो ।

हालसम्म एलपीजी ग्यासमा पूर्ण निजी क्षेत्रमा निर्भर रहिआएको छ । बोटलर्सहरुले आफै ल्याउने र बिक्री वितरण गर्ने गर्दै आएका छन् । यसैक्रममा नेपालमा एलपीजी ग्यासको आयात प्रत्येक वर्ष बढ्दो रहेको छ ।

बेलाबेलामा ग्यास भण्डारण नहुँदा सहजै ग्यास उपलब्ध गराउन कठिन हुने गरेको बोटलर्स सञ्चालकहरुको गुनासा यथावत् छन् ।

३ महिनामा ९ अर्बको ग्यास आयात
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा ९ अर्ब ४ करोड मूल्य बराबरको १० करोड २८ लाख ९२ हजार केजी एलपीजी ग्यास आयात भएको छ ।

गत आर्थिक वर्षमा २७ अर्ब १३ करोड रुपैयाँ बराबरको ३८ करोड ३२ लाख ९० हजार केजी एलपीजी ग्यास आयात भएको थियो ।

आर्थिक वर्ष २०७३\७४ सालमा २० अर्ब ५५ करोड रुपैयाँ बराबरको ३१ करोड ३९ लाख ४० हजार केजी एलपी ग्यास आयात भएको थियो ।


क्लिकमान्डु