जनकपुर उपमहानगरको प्रगतिः ४५ करोडको लागतमा ३२ वटा पोखरी, १०० वटा डिलक्स ट्वाइलेट



काठमाण्डौ । प्रदेश नम्बर २ को अस्थायी राजधानी हो जनकपुरधाम । जनकपुर ऐतिहासिक नगर हो, यसको ऐतिहासिक महत्व छ । तर, ऐतिहासिक महत्व भएको जनकपुुर आफैंमा चाँही त्यति व्यवस्थित छैन । जनकपुरमा रामजानकी मन्दिर छ ।

रामजानकी मन्दिर दर्शन गर्न नेपालका विभिन्न क्षेत्रबाट दर्शनार्थी आउँछन्, ठूलो संख्यामा भारतीय नागरिक रामजानकी मन्दिर दर्शनका लागि आउने गरेका छन् । धार्मिक रुपमा पवित्रभूमि जनकपुर आफैंमा चाँही त्यति सुन्दर छैन । फोहोरी शहरको संज्ञा दिइन्छ ।

तर, जनकपुरले फोहोरी र अव्यवस्थित शहरको परिचय बिस्तारै मेटाउँदै आफूलाई व्यवस्थित र सुन्दर शहरको परिचय स्थापित गराउँदैछ । जनकपुरधाम उपमहानगरपालिकामा स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधि आए र तिनै जनप्रतिनिधिले सुधारका काम प्रारम्भ गरेका छन् ।

जनकपुरधाम उपमहानगर पालिकाका मेयर हुन् लालकिशोर साह । उनी निर्वाचिन भएर आएको १ वर्ष पूरा भएको छ । वितेको वर्षमा उनले के–के गरे त ? उनै मेयर लालकिशोरसँग हामीले कुराकानी गरेका छौं ।

यी काम हुँदैछन् जनकपुरधाममा
मेयर लालकिशोरका अनुसार एकीकृत शहरी विकास परियोजना अन्तरगत २ अर्बको परियोजना अलपत्र परेको थियो । यो परियोजना अघि बढाएर अहिले करीब ९० प्रतिशत काम भएको छ ।

जनकपुर क्षेत्रको ३५ किलोमिटर क्षेत्रमा व्यवस्थित सडक र ढल व्यवस्थापनको काम सम्पन्न हुने चरणमा पुगेको छ । मेयर लालकिशोर भन्छन्यो- परियोजनाको काम सम्पन्न भएपछि जनकपुर सफा र सुन्दर देखिनेछ ।

जनकपुर नगरलाई नराम्रो दृष्टिले हेरिन्थ्यो, फोहोरी शहर भनिन्थ्यो, मेयर लालकिशोर भन्छन्–अब ऐतिहासिक शहर जनकपुरले आफ्नो स्वरुप बदल्दै लगेको छ । त्यसका लागि उपमहानगरका तर्फबाट काम गरिरहेका छौं, योजना बनाइरहेका छौं ।

सरसफाईको क्षेत्रमा विशेष ध्यान दिएका छौं । पर्यटकलाई कसरी भित्राउने भन्ने कुरा सोचिरहेका छौं । विगतको तुलनामा जनकपुर आउने पर्यटकको संख्यामा समेत बृद्धि भएको छ ।

मेयर लालकिशोरका अनुसार अबको ४ वर्ष भित्र जनकपुरधाम क्षेत्रलाई पूर्ण साक्षर क्षेत्र बनाइनेछ । प्लास्टिकमुक्त अभियानपनि चलिरहेको छ । चिया पसलमा प्लास्टिकको कपमा चिया बेच्न पूर्ण रुपमा प्रतिबन्ध लगाइने छ ।

बिद्युतका खुला तार रहित जनकपुर
जनकपुर क्षेत्रमा विद्युतका खुला तार हुने छैनन्, प्लास्टिक कोटेड बिद्युतका तार हुनेछन् । मेयर लालकिशोरका अनुसार यसका लागि काम शुरु भइसकेकोे छ । १ किलो मिटर क्षेत्रमा अण्डर ग्राउण्ड विद्युत लाइन बिस्तार भइसकेको छ, यो कामलाई आगामी दिनमा बिस्तार गर्दै लगिने उनले बताए ।

त्यसैगरी टेलिफोनका तारलाईपनि अण्डर ग्राउण्ड बनाउन शुरु गरिएको छ । खुला रुपमा लाइन बिस्तारले नगरको स्वरुप बिगार्ने भएकाले अण्डर ग्राउण्डको अवधारण अघि बढाएको मेयर लालकिशोर बताउँछन् ।

मिथिला साँस्कृतिक शहर बनाउन नक्सा पास निःशुल्क
जनकपुरधाम उपमहानगरलाई मिथिला साँस्कृतिक शहर बनाउने योजना अघि बढाएको मेयर लालकिशोर बताउँछन् । उपमहानगरले बनाएको योजना अनुसारको बहुउद्देश्यीय भवन बनाउने नगरवासीलाई नक्सा पास निःशुल्क गरिएको छ ।

त्यसैगरी, रामजानकी मन्दिर र परिक्रमा सडक क्षेत्रमा ३३ फिट, ५५ फिट र त्यसभन्दा अग्ला घर बनाउनका लागि खुल्ला गर्ने उपमहानगरको योजना छ । जनकपुरको बजार क्षेत्रमा सडक बिस्तार कार्य सम्पन्न भएको छ । यसक्रममा नगर क्षेत्रका २ हजार घरको अघिल्लो भाग भत्किएको छ ।

ती घरहरुलाई उपमहानगरले केशरिया रंग निःशुल्क बितरण गरेको छ । अब त्यो रंग लगाएर जनकपुरको छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले केशरिया रंग बितरण गरेको मेयर लालकिशोर बताउँछन् ।

जनकपुर उपमहानगरको नाम जनकपुरधाम बनाइयो
आफूहरु निर्वाचित भएर आएपछि जनकपुर उपमहानगरको नाम जनकपुरधाम बनाइएको मेयर लालकिशोर बताउँछन् ।

जनकपुरधाम नामको ऐतिहासिक महत्व भएकाले नाम परिवर्तन गर्न आफूहरुले पहल गरेको र असार ३१ गतेको संघीय मन्त्री परिषद्को निर्णयबाट जनकपुरधाम नाम कायम भएको उनले उल्लेख गरे । अब विगतको खराब परिचय फेरिंदैछ, अब जनकपुरधाम नयाँ निर्माण हुँदैछ-मेयर लालकिशोरले भने ।

४५ करोडको लागतमा ३२ वटा पोखरी, १ सय डिलक्स शौचालय
जनकपुरधामलाई सुन्दर र पर्यटकीय आकर्षणको स्थल बनाउनका लागि ४५ करोडको परियोजना सञ्चालन हुन लागेको मेयर लालकिशोर बताउँछन् । यस अन्तरगत ३२ वटा आकर्षक पोखरी निर्माण गरिनेछ ।

सोही परियोजना अन्तरगत १०० वटा डिलक्स शौचालय बनाइनेछ । जनकपुरको १२ विघा रंगभूमि मैदानलाई अन्तराष्ट्रियस्तरको मैदानका रुपमा विकास गरिने छ । गंगा सागर, धनुषसागर लगायतका पोखरीहरुलाई थप आकर्षक बनाइने छ । जसले पर्यटकहरुलाई आकर्षित गर्न सक्छन्मे-यर लालकिशोरको बुझाई छ ।

त्यसैगरी जनकपुर अञ्चल अस्पताललाई गुणस्तरीय सेवा प्रवाह हुने अस्पतालका रुपमा विकास गरिने मेयर लालकिशोर बताउँछन् । अस्पतालजन्य फोहोर ट्रिटमेन्ट प्लान्टपनि बनाउने उनले बताए ।

संघसंस्थाका कार्यालयमा सूर्तिजन्य र मदिराजन्य पदार्थ सेवन निषेध
जनकपुरधाम उपमहानगर कार्यालय सहितका २५ वटै वडा कार्यालय, नगर क्षेत्रका सरकारी\गैरसरकारी कार्यालय, स्वास्थ्य चौकी, विद्यालय, मठमन्दिरमा सूर्तिजन्य र मदिराजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ ।

कार्यालयका कर्मचारीले यो नियम पूर्ण रुपमा कार्यान्वय गर्न परिपत्र गरिएको छ । नियम उल्लंघन गर्नेलाई कारवाही गरिने मेयर लालकिशोरले बताए ।

यो नियम सेवाग्राहीका लागि पनि लागू हुनेछ । मेयर लालकिशोर भन्छन्को-ही सेवाग्राही पान, पानपराग, गुट्खा, सूर्ति सेवन गरेर आएका छन् भने उनीहरुले गेट बाहिर नै मुख कुल्ला गरेर मात्र कार्यालय प्रवेश गर्नु पर्ने हुन्छ । यसका लागि कर्मचारीहरुले पानी उपलब्ध गराएर सेवाग्राहीहरुलाई मुख कुल्ला गरेर मात्र कार्यालयमा प्रवेश गर्न सम्झाउने गरेका छन् ।

जनकपुरधामः टप फाइभ सिटी बनाउने लक्ष्य
आगामी ४ वर्षमा जनकपुरधाममा स्मार्ट सिटीको जग बसाल्न सफल हुने मेयर लालकिशोरको भनाई छ । स्मार्ट सिटी त्यसै बन्दैन, यही गतिमा काम गर्यो भने २५-३० वर्षमा स्मार्ट सिटी बन्नेमा उनी विश्वस्त छन् ।

संघीय सरकारले नेपालका ५ वटा सिटीलाई छानेर स्मार्ट सिटी बनाउने योजना अघि बढायो भने जनकपुरधाम टप फाइभ सिटी भित्र पर्ने गरी अहिले आफूले काम गरिरहेको मेयर लालकिशोर बनाउँछन् ।

बाधा अप्ठ्यारा के के छन् ?
मेयर लालकिशोरका अनुसार नीतिगत संक्रमणले गर्दा काम गर्न अप्ठ्यारो भइरहेको छ । प्राविधिक कर्मचारीको अभावका कारण पनि सोचेजति काम गर्न नसकेको उनको भनाई छ ।

३ तहका सरकारबीच त ठूलो कि म ठूलो भन्ने सोच हाबी छ । तर, सबै निकाय स्वायत्त छन्, आवश्यक पर्दा समन्वय हुनुपर्छ । नीतिगत संक्रमण अन्त्य हुन केही समय लाग्ला, त्यसपछि काम द्रुत गतिमा हुन्छ–मेयर लालकिशोरले भने ।

जनकपुरधामको संक्षिप्त परिचय
ऐतिहासिक तथा धार्मिक शहर जनकपुरधाम विक्रम संवत् २०१७ सालमा जनकपुर नगर पञ्चायत घोषणा भएको थियो । त्यसैगरी २०४७ सालमा नगरपालिका घोषणा भएको थियो भने २०७१ सालमा उपमहानगरपालिकाको रुपमा घोषित भयो ।

जनकपुरधाम उपमहानगरपालिकाको जनसंख्या १ लाख ५१ हजार ४ सय ६८ रहेको छ । २५ वटा वडामा विभाजित जनकपुरधाम उपमहानगर पालिका ९१.९७ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।


क्लिकमान्डु