सवारी किन्नेप्रति कठोर बन्यो राष्ट्र बैंक, अब निजी गाडी किन्दा ५० % डाउन पेमेन्ट



काठमाडौं । निजी गाडी किन्ने उपभोक्ताप्रति राष्ट्र बैंक कठोर बनेको छ । राष्ट्र बैंकले गाडी किन्नका लागि उपभोक्ताले पाउने ऋण सुविधा कटौति गरेर कडाइको नीति अबलम्बन गरेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार परिपत्र गर्दै सवारीसाधनमा बैंकहरुले निजी सवारीसाधनको ५० प्रतिशत रकम मात्रै लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

यसअघि बैंकहरुले ६५ प्रतिशतसम्म लगानी गर्न पाउँथे ।

केही महिनायता सवारी साधनको आयात उच्च रुपमा बढेको र बैंकहरुले सवारी साधनमा अत्याधिक कर्जा विस्तार गरेको तथ्यांक छ ।

बैंकिङ प्रणालीमा क्रेडिट क्रञ्च आउनुको एउटा कारण सवारी साधनको आयात र त्यसमा बैंकहरुको लगानी भएको सरकारी अधिकारीहरुको बुझाइ छ ।

त्यतिमात्रै होइन, सवारीसाधनकै कारण आयात निर्यातबीचको असन्तुलन बढेको, शोधनान्तर स्थिति ऋणात्मक भएको सरकारी अधिकारीहरुको बुझाइ छ ।

यस्तै बुझाइका कारण अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेटमार्फत् महंगा निजी सवारी साधनको आयातमा कर बढाएर निरुत्साहित गरेका थिए ।

नाडाका अध्यक्ष शम्भु दाहालले सरकारको बुझाइमा कमजोरी रहेकाले हरेकपटक सवारीसाधनमा कडाइ गर्ने गरेको बताए ।

‘राष्ट्र बैंकको नयाँ व्यवस्थाका कारण निजी गाडी किन्छु भन्नेहरु निरुत्साहित हुने छन्, जसकारण गाडी किन्नेहरुको संख्या घट्छ,’ अध्यक्ष दाहालले भने, ‘अटो ब्यवसायीहरुको बिजनेश पनि डामाडोल हुन्छ ।’

तिहारलगत्तै नाडाको बैठक बसेर आधिकारिक धारणा सार्वजानिक गर्ने दाहालले बताए ।

‘अहिले त तिहारले छोपिसक्यो, तिहार सकिनेवित्तिकै व्यवसायीहरु छलफल गर्छौं र सरकारलाई बुझाउने प्रयास गर्छौं,’ उनले भने ।

विद्युतीय सवारीसाधनको मूल्यमा ८० प्रतिशतसम्म ऋण दिन पाउने ब्यवस्थालाई भने राष्ट्र बैंकले यथावत राखेको छ ।


पुष्प दुलाल