युवा किसान सुभाष, जो गाई र माछा पालेर मासिक ५ लाख बचत गर्छन्



भैरहवा । मोजमस्ती गर्दै साथीभाईसँग हिँड्ने उमेरमा गाई र माछा पाल्न थाले उनी । १८/१९ वर्षको कलिलो उमेरमै कृषि पेशा रोजे । उनले प्राप्त गरेको सफलताले आज धेरैलाई लोभ्याउँछ ।

रुपन्देहीको सियारी गाउँपालिका–३ लक्ष्मीपुरका किसान सुभाष कुर्मी हुन् उनी ।

०६१ सालदेखि उनले गाई र माछा पाल्न शुरु गरेका थिए । गाईको दुध र पोखरीबाट उत्पादित माछाबाट राम्रै आम्दानी हुन थालेपछि कृषिलाई ब्यावसायिकरुपमा अघि बढाए ।

अहिले उनी मासिक ५ लाख रुपैयाँ बचत गर्छन् । नेपालमा बसेर मासिक ५ लाख बचत ।  ३५/३६ वर्षको उमेरमा । त्यो पनि कृषि व्यवसायबाट ।  चानचुन मिहेनतबाट उनले यो सफलता प्राप्त गरेका होइनन् ।

०६७ साल पछि उनले पोखरी थप गर्दै गए । ०७१ बाट गाई थप गरे । अहिले उनको फार्ममा ८ ओटा माछा पोखरी छन् । र, २८ विभिन्न प्रजातिका गाई छन् ।

‘मलाई सानैदेखि कृषिमै रुचि थियो, त्यसैले रोजगारी खोज्न र विदेश जाने कुरा कहिल्यै सोचिँन पनि’ कुर्मीले सुनाए ।

६ जनाको परिवार र ४ जना कामदार गाई र माछाको हेरचाह गर्छन् । फार्ममा अहिले होलिस्टोन क्रस, जर्सी, लोकल फिजिसियन गरी तीन प्रजातिका गाई छन् । यी गाईले दिने दुधबाट दैनिक १ सय २५ लिटर विक्री गर्छन् । गाई फर्म नजिकै सटेको ७ विगाह जमिनमा ८ वटा माछा पोखरी छन् । ४ वटा नर्सरी हुन् भने २२/२२ कठ्ठामा ४ वटा व्यवसायिक पोखरी ।

अब पोखरी थप गरेर १० पुर्याउने उनको योजना छ । उनले ग्रास, रोहु, सिल्भर, कमन, नैनी, विगोट र भाकुर जातका माछा पाल्दै आएका छन् । गत वर्ष यिनै पोखरीबाट कुर्मीले ३ सय ५० क्विन्टल माछा विक्री गरे । अहिले ४ सय ५० क्विन्टल विक्री गर्ने लक्ष्य राखेका छन् ।
माछा र गाई फर्ममा गरी जग्गाबाहेक ४ करोड लगानी गरेको उनी बताउँछन् ।

‘जग्गा आफ्नै हो, त्यसबाहेक मैले ४ करोड रुपैयाँ लगानी गरेको छु,’ कुर्मीले भने, ‘क्रमशः लगानी बढाउँदै जाने योजना छ ।’

बर्षेनी माछा उत्पादन बृद्धि भइरहेको छ, अहिल्लो वर्षभन्दा अहिले एक सय क्विन्टल माछा बढी उत्पादन गर्ने लक्ष्य रहेको उनले सुनाए ।
सबै खर्च कटाएर वार्षिक ६० लाख बढी बचत गर्छन् । ५ वर्ष अघिसम्म मोटरसाइकल चढ्ने उनी व्यवसायिक माछा र गाई पालन राम्रो हुँदै गएपछि अहिले कार चढ्छन् ।

‘सबै खर्च कटाएर वार्षिक ६० लाख रुपैयाँ बचत गरिरहेको छु,’ उनले भने ।

०७४ मा नेपालकै सबैभन्दा बढी माछा उत्पादन गर्ने उत्कृष्ट कृषकका रुपमा कुर्मीले राष्ट्रिय पुरस्कार समेत पाएका थिए । उनलाई ३७औँ विश्व खाद्य दिवसका अवसरमा तत्कालिन कृषिमन्त्रीले नगदसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका थिए ।

व्यवसायीक उत्पादन थालेपछि फर्मलाई कृषि विकास बैंकले व्याज अुनदान समेत दिएको छ । त्यहाँ संचालित प्रधानमन्त्री कृषि परियोजना मार्फत् पनि अनुदान सहयोग मिलेको छ ।

‘मैले व्यवसायिक कृषि गर्ने योजना गराए, सफल गराउन कृषिविकास बैंकले ठुलो सहयोग गर्यो’ कुर्मीले भने ।

कृषि विकास बैंक क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक मिनराज पोखरेलले कृषिपेसा अँगाल्ने कृषकहरुलाई व्याज अनुदान दिएर प्रोत्साहन गर्दै आएको बताए । कुर्मी कामका लागि विदेशिने सयौँ युवाका लागि उदारण हुन् । राम्रो आम्दानी गर्दै गएपछि उनी अहिले जिल्लाकै ‘अब्बल’ कृषकका रुपमा परिचित छन् ।

उनीसहित परिवार बिहानैदेखि रातिसम्म माछा र गाईको स्याहारसुसारमा खट्छन् ।

‘काममा निरन्तरता, इमानदारिता र इच्छा शक्ति हुुनुपर्छ स्वदेशमा केही गर्छु भन्नेका लागि यहाँ प्रशस्त सम्भावना छ,’ उनले भने ।

कुर्मीले अरुको मुलुकमा गएर बगाउने पसिना आफ्नै ठाउँमा बगाए मनग्य आम्दानी गर्न सकिने बताए । माछा र गाई सँगसँगै व्यवसायीक पालन गरेका कुर्मी सियारीका उदाहरणिय र अब्बल कृषक हुन् । उनले मनग्य आम्दानी गर्छन् ।

कृषिमा लगानी गर्न चाहने र व्यवसायिक उत्पादन गर्ने योजना बनाएकाहरुका लागि उनी राम्रो उदाहरण हुन् । गाई पाल्दा उनलाई माछा उत्पादन बढाउन समेत टेवा पुगेको छ ।

गाईको मल खेतबारीमा हालेर प्रशस्त अन्न समेत उब्जाउ गर्छन् । यस्तै मल र पिसाव माछा पोखरीमा समेत प्रयोग हुने भएकाले उत्पादन राम्रो छ भने डिएपी र युरिया निकै कम प्रयोग हुने गरेको छ ।

डिएपी र युरिया थोरै मात्र प्रयोग हुने भएपछि वार्षिक हजारौँ रुपैयाँ बचत समेत भएको छ । कृषिविज्ञकाअनुसार गाईको पिसाबमा माछाका लागि चाहिने नाइट्रोजन प्रशस्त हुन्छ । नाइट्रोजनले पोखरीमा मलिनोपना ल्याउँछ र माछाका लागि पोसिलो खानेकुरा एवं आवश्यक चिल्लो पदार्थ उत्पादनमा सहयोग गर्छ ।

दूधको मूल्य राम्रो नहुँदा गाई पालनबाट भने त्यति राम्रो आम्दानी हुन नसकेको उनको गुनासो छ । दुधको मूल्य नै राम्रो भएन, भारतबाट आयात हुँदा माछाको मूल्य पनि दुई वर्षदेखि बढ्न सकेको छैन उनले भनेकृषकहरुलाई प्रोत्साहन गर्ने हो भने सरकारले दुधको मूल्य बढाई भारतिय माछा आयातमा पनि कडाई गर्नुपर्छ ।

कुर्मीका अनुसार अहिले दुध प्रतिलिटर ५० देखि ५२ रुपैयाँमा विक्री हुँदै आएको छ । माछा प्रतिकेजी २ सय देखि २५० सम्म विक्री भइरहेको छ ।


पुष्प दुलाल