अर्थमन्त्री खतिवडाको एक क्लिकले अनलाइनबाटै सेयर किनबेच गर्ने बाटो खुल्यो



काठमाडौं । आजदेखि सेयरको अनलाइन कारोबार शुरु भएको छ । लामो समयदेखि सेयरको अनलाइन कारोबारका गर्ने चर्चा चलेको भएपनि आज अर्थमन्त्री डा. युवराज खतिवडाले सेयरको अनलाइन कारोबारको विधिवत शुरुवात गरेका छन् ।

अब सेयर अनलाइनबाटै सेयर किनबेच हुन्छ । तर, तत्कालका लागि पूर्णरुपमा सेयर कारोबार अनलाइन मार्फत भने हुँदैन । लगानीकर्ताले पुरानो तरिकाले नै सेयर खरिदबिक्रीको आदेश दिनेछन् भने ब्रोक्ररले अनलाइनमार्फत् खरिदबिक्रीको काम गर्ने छन् ।

अनलाइन मार्फत सेयर खरिद बिक्री गर्नको लागि लगानीकर्ताले आफुले कारोबार गरिरहेको सेयर ब्रोक्रर कार्यालयमा गएर युजरनेम र पासवर्ड लिनुपर्ने हुन्छ । लगानीकर्ताले ब्रोक्रर कार्यालयबाट युजरनेम र पासवर्ड पाएपछि त्यसलाई बोक्रर कार्यालयले नेप्सको सिस्टमसँग जोड्ने छ ।

युजरनेम र पासवर्ड पाएपछि लगानीकर्ताले सेयर खरिदबिक्रीको आदेश दिने छन् । ब्रोक्रर कार्यालय मार्फत यस्तो आदेश नेप्सेमा पुग्छ । नेप्सेले सेयर खरिदबिक्री आदेशको तथ्यांक संकलन गर्नको लागि सिडिएस एण्ड क्लियरिङमा पठाउने छ । सिडिएसले तथ्यांक संकलन गरेपछि त्यो आदेश नेप्सेलाई पठाउछ, नेप्सेले ब्रोक्ररलाई ।

बोक्ररले त्यो आदेश पाएपछि सेयर खरिद गर्नको लागि जम्मा गर्नुपर्ने रकम २५ प्रतिशत भएको नभएको तथ्य जाँच गर्छ । हितग्राही खातामा भएको सेयर तथा बैंक खातामा भएको ब्यालेन्स चेक गरेपछि सेयर खरिदबिक्रीको काम हुन्छ । पैसा बैंकबाट सिधै खातामा जान्छ भने सेयर हितग्राही खातमा जम्मा हुन्छ ।

ब्रोक्रर एशोसियनका अध्यक्ष रानाभाट अनलाइन कारोबारपछि सेयर कारोबारमा उधारो कारोबार बन्द हुने बताउँछन् ।

‘खरिदकर्ताको बैंक खातामा आवश्यक रकम नभएमा सेयर खरिदको आदेश स्वत रद्द हुन्छ,जसले गर्दा सेयर कारोबारमा उधारो कारोबार बन्द हुन्छ,’ रानाभाटले भने ।

नेप्सेले अनलाइनको सेयर खरिदबिक्रीको लागि परिक्षण गर्नको लागि लगानीकर्तालाई आह्वान गरेको थियो । अहिलेसम्म ब्रोक्रर कार्यालयहरुबाट २६ सय लगानीकर्ताले अनलाइन कारोबारको लागि युजरनेम र पासवर्ड लिएका छन् । यो संख्या भने अब हरेक दिन बढ्ने छ ।


पुष्प दुलाल