कुन महानगरपालिकाका मेयरले कसरी मनाउँदैछन् दशैं ?



काठमाण्डौ । हिन्दु धर्माबलम्बी नेपालीहरु यतिखेर महान् चाड बडादशैँ मनाइरहेका छन् । धेरै संख्यामा हिन्दु धर्माबलम्बीको बसोवास भएको राष्ट्र भएका कारणले समेत यतिखेर बडादशैँ पर्वको उत्सव रहेको छ ।

तपाईँ हामी सबैजना चाडपर्वको माहौलमा रमाइरहँदा जनताका प्रतिनिधिहरु चाँही के कसरी चाडपर्व मनाइरहेका छन् त ? अरु समयमा जनताका काममा व्यस्त रहने स्थानीय सरकारका प्रमुखहरु के कसरी दशैं मनाउँदैछन् ? देशका ६ वटै महानगरपालिकाका प्रमुखसँग गरिएको कुराकानीः

विद्यासुन्दर शाक्य, काठमाडौं महानगरपालिका

म कसैकहाँ टीका लगाउन जाँदिन

दशैंमा अरुलाई रमाइलो होला, मलाई त रमाइलो हुँदैन । फोहोर भयो, सडक धुलो भयो, फलानो ठाउँमा यस्तो भयो, उस्तो भयो भन्दै जनगुनासाहरु आइरहेका हुन्छन् । दशैंविदा भनेर जनताको सेवा नगरी बस्न भएन । जनताको सेवामै समय बित्छ । टीकाको दिन आफ्नै घरमा परम्परागत संस्कृतिअनुसार दशैं मनाउँछु । म कसैकहाँ टीका लगाउन जाँदिन । र, कसैलाई पनि टीकालगाउन बोलाउँदिन । फुर्सदको समय निस्कियो भने श्रीमति र छोराछोरीलाई दिन्छु । बच्चाहरुले घुम्न रहर गरे भने कतै घुम्न जानुपर्ला भन्ने सोचेको छु ।

मिलेसम्म छक्कापञ्जा ३ हेर्न जान्छु

चिरिबाबु महर्जन, ललितपुर, महानगरपालिका

२४ वर्षदेखि रोकिएको खड्ग जात्रा यो पटकदेखि शुरु गरेका छौं । नबमीको दिन जात्रा निस्किन्छ । म त जात्राको ब्यवस्थापन गर्नमै ब्यस्त हुन्छु । टीकाको दिन आफन्तजनसँग टीका आदान प्रदान गरेर आशिर्वाद लिनेदिने गरिन्छ । नातिको हेरचार गर्न श्रीमति अमेरिका गएकाले यो दशैंमा घरमा भोजभत्तेर गर्ने कार्यक्रम छैन । पोहोर साल राष्ट्रपतिको हातबाट टीका लगाएको थिएँ । यो साल पनि जान्छु ।

म जुवातास खेल्दिन । मदिरामा पनि इन्जोइ गर्दिन । अझ भनौं मदिरा मेरो ज्यानले पनि सहँदैन । फुर्सद मिल्यो भने भर्खरै आएको छक्कापञ्जा–३ फिल्म हेर्न जान्छु । विगतमा व्यस्तताका कारण पढ्न नपाएका कन्टेनहरुको कटिङ राखेको छु । दशैं विदाको अवसरमा ती सामाग्रीहरु पढ्छु । योगमाया मदन पुरस्कार जितेको किताब पनि पढ्न मन छ ।

टीका छैन, बुबाआमासँग बिताउँछु

रेणु दाहाल, भरतपुर महानगरपालिका

यस वर्ष म टीका लगाउँदिन । गतवर्ष मंसिरमा भाई प्रकाश दाहालको दुःखद् निधन भएको हुँदा यसवर्ष हाम्रो परिवार शोकमा छ । फुलपातीको दिन असोज ३० गते काठमाण्डौ आउने र दशैं अवधिभर बुबाआमा (प्रचण्ड र सीता) सँगै बस्छु ।
अरु बेला सधैँजसो जनताको काममा, महानगरको विकासका बारेमा सोच्दासोच्दै ब्यस्त भइन्छ । त्यसैले चाडपर्वको फुर्सदमा परिवारसँग बसेर रिफ्रेस हुन्छु । बुबा प्रचण्डसँग बसेर भरतपुर महानगरमा गर्नु पर्ने काम, विकास निर्माणका बारेमा बिस्तृत रुपमा छलफल गर्ने योजना छ ।

सपरिवार चीन घुम्न जान्छु

बिजय सरावगी, बीरगञ्ज महानगरपालिका

आफ्नो क्षेत्रमा जतिपनि शक्तिपिठहरु छन्, नवदुर्गाका मन्दिरहरु छन् त्यसको ब्यवस्थापनमै समय खर्च हुन्छ । खासगरी फूलपातिको दिन शक्तिपिठहरुमा पूजा हुन्छ । त्यसको ब्यवस्थापनमा खटिरहेको छु । र, फुलपातिकै दिन रातिको फ्लाइटमा सपरिवार चाइना जाँदैछु । अरुबेला जनताको सेवा गर्दागर्दै फुर्सद हुँदैन । दशैंमा एकैपट लामो विदा भएको हुँदा परिवारलाई लिएर रिफ्रेसमेन्टका लागि विदेश जाने गरेको छु । म दशैंतिहारको बिदामा घुम्न रुचाउँछु । म नपुगेका तीर्थस्थलहरु सायदै होलान् ।

त्यसबाहेक दशैंको विदामा जनताको सेवा कसरी गर्ने भनेर इन्टरनेटमा विभिन्न समाग्रीहरु पढ्ने योजना बनाएको छु । जनताको सेवा गर्छु भनेर हिँडेको मान्छेले विदाको समयमा पनि जनताको सेवाकै बारेमा सोच्नुपर्छ ।

घटस्थापना शुरु भएदेखि फलफुल मात्रै खान्छु

भीम पराजुली, बिराटनगर महानगरपालिका

बडादशैँको घटस्थापना शुरु भएदेखि नै म अन्नग्रहण गर्दिन । विगत ५ वर्षदेखि म दुर्गामाताको ब्रत लिँदै आएको छु । यो अवधिमा म फलफूलमात्र लिन्छु । बडामा महानगर कार्यालय बन्द रहेकाले दैनिकजसो गर्ने जनताको सेवाको कामबाट केही फुर्सदमा छु । तर पनि यही सेरोफेरोमा विभिन्न संघसंस्थाले गरेका शुभकामना आदानप्रदान र चियापान कार्यक्रमहरुमा सहभागी हुन्छु । चाडपर्वको माहौलमा पार्टी नेताका नेताकार्यकर्ताहरुको भेटघाटमा समय खर्च हुन्छ । विजयादशमीको दिन माताजीको हातबाट टीकाजमरा सहितको शुभ आर्शिबाद ग्रहण गर्छु, यो वर्ष ससुरालीमा जुठो परेकाले टीका लगाउनु हुँदैन । त्यसैले ससुराली जान्न ।

फुुर्सदको समयमा नयाँ नयाँ पुस्तक पढ्ने योजना छ । नियमित रुपमा पुस्तक पढ्ने बानी भएपनि चाडपर्वको छुट्टीमा अध्ययनमा अलि बढी नै अध्ययन गर्छु ।

टीका छैन, जनतासँग भेटघाट गरेर बिताउँछु

मानबहादुर जीसी, पोखरा महानगरपालिका

हजुरआमाको जुठो भएकाले म यो वर्ष टीका लगाउँदिन । टीका नलगाए पनि जनताहरुसँग भेटघाट गर्ने, पोखरालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने छलफल गर्छु यो फुुर्सदको समयमा । यो वर्ष पोखरामै बस्छु ।

अरु समयमा महानगरको दैनिक काममा व्यस्त भइयो, यो फुर्सदको समयमा महानगरलाई कसरी अझ बढी समृद्धशाली बनाउन सकिन्छ भन्ने बारेमा शान्त दिमागले योजना बनाउँछु । चाडपर्व सकिएपछि साथीभाई र कर्मचारीहरुसँग बसेर आफ्ना योजना सेयर गर्छु ।


पुष्प दुलाल