मंसिर २० देखि भैरहवामा महोत्सव हुँदै, बौद्ध सर्किट भ्रमण गराइने



रुपन्देही । पर्यटकीय शहर भैरहवामा मंसिर २० गतेदेखि महोत्सव हुँदैछ । महोत्सवका क्रममा बौद्ध सर्किट भ्रमणको व्यवस्था मिलाइएको छ । पर्यटन क्षेत्रको प्रवद्र्धन तथा विकास गर्नका लागि महोत्सवबाट बौद्ध सर्किटको भ्रमणको व्यवस्था मिलाइएको हो ।

पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय सम्बृद्धिको आधार भन्ने नाराका साथ भैरहवामा सातौँ लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना हुने भएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा अगामी मंसिर २० गते देखी पौष १ गते सम्म मेला हुने आयोजकले जनाएको छ ।

भैरहवा महोत्सवमा आउने दर्शकहरुलाई बौद्ध सर्किटको भ्रमण गराउने समेत व्यवस्था मिलाइएको संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । उनका अनुसार बौद्ध सर्किट भ्रमण गर्ने दर्शकलाई भैरहवाबाट बुद्धजन्मस्थल लुम्बिनी, उनको वुवा शुद्धोधनको दरबार तिलौराकोट, मावली देवदह र बुद्धको अष्टधातु रहेको रामग्राम भ्रमण गराइनेछ ।

बौद्ध सर्किट भ्रमणको व्यवस्था स्थानिय ट्राभल्स ऐजन्सीको सहयोगमा मिलाइने उल्लेख गर्दै उनले भ्रमणबापतको शुल्कको विषय छलफलमा रहेको बताए ।

अहिले भ्रमणको रकम तोकिसकेका छैनौँ हामी छलफल मै छौँ उनले भने तर सहुलियत दरमै भ्रमण प्याकेज हुनेछ ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० र पाँच नम्बर प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ को प्रचार प्रसार र प्रबद्र्धनमा समेत यसले महत्वपूर्ण टेवा पुग्ने उनले दावी गरे ।

स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने साम्रगी बीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरुलाई जानकारी दिने उद्देश्यले समेत मेलाको आयोजना गरिएको उनले बताए ।

स्थानीयस्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामग्रीको बजार प्रबद्र्घन गर्ने, रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा ब्यापारिक केन्द्रको रुपमा बिस्तार गर्ने, बिभिन्न जात जातिका सांस्कृतिक र संस्कारहरुको संरक्षण गर्दै सिद्धार्थनगर र लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटनलाई प्रबद्र्घन गर्ने, विभिन्न जिल्लाका मौलिक विशिष्ठिकृत बस्तु तथा उत्पादनहरुको प्रर्दशनी तथा प्रवद्र्धन मेलाको लक्ष्य रहेको छ ।

विभिन्न उद्योग तथा ब्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीहरुले भाग लिने महोत्सवमा २५० स्टल रहने आयोजकले जानकारी दिएका छन् ।

उपभोक्ता र उत्पादक एवं किसानहरुको प्रत्यक्ष भेटघाट हुने यस महोत्सवबाट यस भेगमा उत्पादित कृषि जन्य वस्तुहरु लगायत छपियामा उत्पादित माछा तथा यस क्षेत्रका कुटीर, घरेलु एवं राष्ट्रिय स्तरका उद्योगहरुबाट उत्पादित उत्पादनहरुको विशेष प्रस्तुतीकरण मेलामा गरिने छ । यस बाट नयाँ उद्यमीहरुको विकास र कृषिको व्यवसायीकरणमा पनि उल्लेख्य भूमिका रहने संघका अध्यक्ष न्यौपानेले बताए ।

मेलालाई करिब ३ लाख दर्शकहरुले अवलोकन गर्ने र करिब ८ करोडको कारोबार हुने अनुमान गरिएको छ ।


क्लिकमान्डु