तपाईँले काम गर्ने संस्थाले उपदान दिन्छ ? यस्तो छ कानुनी ब्यवस्था




काठमाडौं । नयाँ श्रम ऐनले सबै संस्था, निकाय, कम्पनी वा फर्महरुमा काम गर्ने कर्मचारीलाई रोजगारदाताले अनिवार्य रुपमा उपदान दिनुपर्ने ब्यवस्था गरेको छ ।

यसअघि सरकारी संस्थान तथा अन्य केही संगठित संस्थाहरुले मात्रै आफ्ना कर्मचारीलाई उपदान दिने गरेका भएपनि नयाँ श्रम ऐनले सबै कर्मचारी तथा श्रमिकले उपदान पाउने ब्यवस्था गरेको छ ।

श्रम ऐन २०७४ ले यस्तो ब्यवस्था गरेको हो । ऐनको दफा ५३ मा सबै निकायले आफ्ना कर्मचारी तथा श्रमिकलाई उनीहरुले पाउने तलबको ८.३३ प्रतिशत रकम उपदानको रुपमा जम्मा गर्नुपर्ने र कर्मचारी तथा श्रमिकले जागिरबाट बाहिरिदा वा अवकाश पाउँदा त्यस्तो रकम पाउने ब्यवस्था गरेको छ ।

‘रोजगारदाताले प्रत्येक श्रमिकको आधारभूत पारिश्रमिकको ८.३३ प्रतिशत बराबरको रकम प्रत्येक महिना उपदान वापत जम्मा गर्नुपर्नेछ,’ ऐनको दफा ५३ को उपदफा १ मा उल्लेख गरिएको छ ।

यस्तो उपदान रकम श्रमिकले काम सुरु गरेको दिनदेखि नै लागू हुने गरी श्रमिकको नाममा सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने ब्यवस्था पनि ऐनले गरेको छ ।

‘उपदफा १ बमोजिमको रकम रोजगारदाताले सम्बन्धित श्रमिकले काम सुरु गरेको दिनदेखि नै लागू हुने गरी निजको नाममा सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्नेछ,’ ऐनको सोही दफाको उपदफा २ मा उल्लेख गरिएको छ ।

ऐनमा श्रमिकको आधारभूत पारिश्रमिकबाट १० प्रतिशत कटाइ सो रकममा शतप्रतिशत रकम थप गरी संचयकोष वापतको रकम जम्मा गर्नुपर्ने ब्यवस्था पनि गरिएको छ । यस्तो संचयकोष पनि श्रमिकले काम सुरु गरेको दिनदेखि नै लागू हुने ब्यवस्था ऐनमा छ ।

यस्तै बार्षिक १ लाख रुपैयाँसम्मको औषधि उपचार बीमा गराउनै पर्ने, ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराउनै पर्ने र त्यसरी बीमा नगरेको अबस्थामा श्रमिक दुर्घटनमा परे त्यस्तो श्रमिक वा उसका हकवालाले बीमा रकम पाउन नसक्ने अबस्था सिर्जना भएमा सो बराबरको अर्थात ७ लाख रुपैयाँ रोजगारदाताले नै दिनुपर्ने ब्यवस्था पनि ऐनमा छ ।


क्लिकमान्डु