खराब कर्जामा नेपालका बैंकहरुको चमत्कारिक सुधार, आइएमएफ भन्छ- तथ्यांक सहि छैन



525813184

काठमाडौं । १५ वर्षअघि नेपाली बैंकहरुको प्रमुख समस्या थियो, खराब कर्जा अनुपात (एनपीएल) । त्यो बेला बैंकहरुको खराब कर्जा कूल कर्जाको ३० देखि ४० प्रतिशतसम्म पुगेको थियो ।

अझै सरकारी लगानीका राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंकको खब कर्जा यति बढी थियो जसका कारण बैंक चल्ने वा नचल्ने भन्नेमा शंका थियो । सरकारले वित्तीय क्षेत्र सुधार कार्यक्रम संचालन गरेर सरकारी बैंकमा सुधार ल्यायो ।

२०६० सालमा वाणिज्य बैंकको खराब कर्जा २८.६८ प्रतिशत थियो । २०७५ असार मसान्तमा आइपुग्दा यो १.४१ प्रतिशतमा झरेको छ ।
२०७० सालपछि एक वर्ष बाहेक हरेक वर्ष बैंकहरुको खराब कर्जा घट्दै गएको तथ्यांकले देखाउँछ ।

२०६९ सालमा २.६ प्रतिशत रहेको खराब कर्जा २०७० सालमा पनि त्यही नै थियो । २०७१ सालमा २.९२ मा पुगेको एनपीएल २०७२ मा २.६३ हुँदै २०७३ मा १.८२ प्रतिशतमा झरेको थियो । २०७४ सालमा १.५४ प्रतिशतमा एनपीएल थियो ।

गत आर्थिक वर्ष २०७४/७५ को वार्षिक अपरिस्कृत वित्तीय विवरण अनुसार सबैभन्दा कम एनपीएल सानिमा बैंकको ०.०३ प्रतिशत रहेको छ । सबैभन्दा बढी सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको ४.२५ प्रतिशत रहेको छ ।

आफ्नो खराब कर्जामा ठूलो सुधार ल्याएको निजी क्षेत्रको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन एनपीएलमा सुधार आउनुमा बैंकहरुले बढाएको कर्जा रकम र बिग्रेको ऋण उठाउनुलाई प्रमुख कारण मान्छन् ।

‘५० अर्ब रुपैयाँ ऋण दिँदा ३ प्रतिशत रहेको खराब ६० अर्ब रुपैयाँ ऋण दिएपछि स्वभाविक रुपले घट्छ, पुरानो ऋण उठ्ने भएपछि त्यो अनुपात घट्नै नै भयो,’ शेरचनले क्लिकमाण्डूसँग भने ।

किष्ट बैंकलाई गाभेर प्रभु बैंक बन्दा यसको एनपीएल निकै नै बढी थियो । २०७१ सालमा विवरणमा २४ प्रतिशत रहेको प्रभुको एनपीएल अहिले ३.५५ प्रतिशत रहेको छ ।

अहिले भारतमा बैंकहरुको मुख्य समस्याको रुपमा खराब कर्जा रहेको छ । भारतमा अहिले १० प्रतिशतको हाराहारीमा खराब कर्जा रहेको छ । बैंकहरुको औसत खराब कर्जा हेर्दा दक्षिण एशियामा सबैभन्दा कम नेपालमा रहेको देखिन्छ ।
बैंकिङ विज्ञ तथा नेशनल बैकिङ इन्स्च्यिुटका प्रमुख कार्यकारी अधिकृत सन्जिव शुब्बा नेपाली बैंकहरुको एनपीएल दक्षिण एशियामा नै कम भएको बताउँछन् ।

‘नेपाली बैंकहरुले दिने ऋणको रकम नै बाहिरको भन्दा सानो हुन्छ,अर्को बैंकहरुमा ‘एभर ग्रिनिङ’ समस्या देखिएको छ जसले गर्दा खराब कर्जा कम देखिएको हो,’ शुब्बाले भने ।

बैंकहरुले प्रकाशित गर्ने गरेको एनपीएलको तथ्यांकलाई भने अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले भने कहिल्यै पनि विश्वास गरेको हुँदैन ।
नेपाल भ्रमणमा आउने आइएमएफका टोलीले राष्ट्र बैंकका अधिकारीसँग भन्ने कुरा अहिले एउटै हुन्छ, ‘तिमीहरुको खराब कर्जाको तथ्यांक वास्तविक भएन ।’

बैंकहरुले ऋण तिर्न नसक्ने ग्राहकलाई पनि वर्षको अन्त्यमा कर्जा मिलाउनको लागि ऋण दिएर कर्जाको नियमित तिरेको देखाएका छन् । जसले गर्दा वास्तविक रुपमा एनपीएलको तथ्यांक नआएको बुझाई धेरैको छ ।

तर, औपचारिक रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उच्च अधिकृतहरु यो कुुरा भने मान्न तयार छैनन् ।

‘आक्रामक ढंगले दिएको कर्जाको ऋणको समस्या अर्कोवर्षदेखि देखिएको छ, नियमन तथा सुपरिवेक्षणको काम कम हुँदा पनि बैंकहरुको वास्तविक तथ्यांक नआएको हुनसक्छ,’ एक बैंकरले भने ।


पुष्प दुलाल