एक डलर किन्न ११६ रुपैयाँले पनि पुगेन, डलर बढ्दा नेपाललाई लाभ धेरै छ कि हानी ?



 

काठमाडौं । आजको दिनमा तपाइलाई एक अमेरिकी डलर चाहियो भने ११६ रुपैयाँ १० पैसा तिरेर लिनुपर्छ । केही महिना अगाडिसम्म प्रतिडलर १ सय रुपैयाँको हाराहारीमा रहेको विनिमय दर पछिल्लो समय धेरै बढेको छ ।

अमेरिकी डलरको भाउ विश्वब्यापी रुपमा बढेको छ । अन्य देशका मुद्राको विनियम दर डलरको तुलनामा घटेको छ । डलरको भाउ बढ्दा विश्व अर्थतन्त्रमा नै प्रभाव परेकोले नेपाली अर्थतन्त्रमा पनि नपर्ने कुरै भएन ।

डलरको भाउ बढ्दा विशेष गरी आयातित बस्तुको मूल्य बढ्ने हुन्छ । तर, नेपाली मुद्राको विनिमय दर भारतीय मुद्रासँग पेग गरिएकोले भारतबाहेकका देशबाट हुने आयातमा मात्रै यस्तो प्रभाव पर्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

‘नेपालको कूल अन्तराष्ट्रिय ब्यापारको ६५ प्रतिशत हिस्सा भारतसँग छ, भारतसँग नेपाली मुद्राको विनिमय दर पेग गरिएकोले अन्य देशको मुद्राको विनिमय दरमा हुने उत्तार चढाबबाट प्रत्येक्ष रुपमा हामीलाई ३५ प्रतिशत मात्रै असर पर्ने हो,’ राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक थापाले क्लिकमाण्डूसँग भने ।

उनले नेपालको कूल आयातमा १४ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको रहेको बताए । नेपालले भारतबाट नै पेट्रोलियम पदार्थ आयात गर्ने गरेको भएपनि अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि हुँदा भारतमा पनि बढ्ने र त्यसको असर नेपालमा पनि पर्छ ।

‘पेट्रोलियम पदार्थको भुक्तानीलाई पनि डलरसँग जोडेर हेर्ने हो भने हाम्रो ब्यापारको ५० प्रतिशत हिस्सा भारुसँग र बाँकी ५० प्रतिशत अमेरिकी डलरसँग हो, यसकारण डलरको मूल्यबृद्धिले हामीलाई ५० प्रतिशत असर पारेको भन्न सकिन्छ,’ थापाले भने ।

डलरको मूल्य बृद्धिले नेपालीका ठूला चाडपर्व दशै, तिहार र छठमा महंगीको मार बढी पर्ने अनुमान गरिएको छ । आयातमा आधारित नेपाली अर्थतन्त्रमा डलरको मूल्यबृद्धिले नकारात्मक असर पर्ने भन्दै यसको असर न्यूनिकरणको उपायको लागि सरकारलाई दबाब पनि परेको छ ।

तर, राष्ट्र बैंकका कार्यकारी निर्देशक थापा भने यसलाई आन्तरिक उत्पादन बढाउने अबसरको रुपमा लिनुपर्ने बताउँछन् । सरकारले केही दिन अगाडि चिनी आयातमा भन्सार दर बढाएको उदाहरण दिदै उनले अमेरिकी डलरको मूल्यबृद्धिले अर्काे खाले ‘इन्सेन्टिभ’ प्राप्त भएको धारणा राखे ।

‘डलरको भाउ बढ्यो भनेर चिन्ता गर्ने आयात बढी भएको कारणले मात्रै हो, हाम्रो देशको निर्यात बढी थियो भने त यो प्रकारको चिन्ता गर्नै पर्ने थिएन, डलरको भाउ बढेर आयातित बस्तु महंगो भएको यो मौकामा आन्तरिक उत्पादन बढाऔं र आयातित बस्तुको तुलनामा सस्तोमा उपभोक्तालाई दिन सक्ने मौका नगुमाऔं,’ थापाले भने ।

डलरको विनियम दर बढ्दा नेपालमा मूल्य बृद्धिको जोखिम बढ्ने उनको भनाइ छ । यस्तै पेट्रोलियम पदार्थको मूल्य बढ्ने, भारतबाहेकका देशबाट नेपाली उद्योगीले ल्याउने कच्चा पदार्थको मूल्य बृद्धि हुने र नेपाल सरकारले तिनुपर्ने बैदेशिक ऋण दायित्व बढ्ने जोखिम रहने थापाले बताए ।

डलरको मूल्य बृद्धिले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पनि पर्ने थापाले सुनाए ।

‘डलरको विनिमयदर बढ्दा तेस्रो मुलुक निर्यात गर्ने निर्यातकर्ताले बढी रकम पाउँछन्, यस्तै रेमिटान्स आय बढ्छ, र पर्यटन क्षेत्रलाई सकारात्मक प्रभाव पार्छ,’ थापाले भने ।


क्लिकमान्डु