निजगढ विमानस्थल निर्माणमा नयाँ टुइस्ट, अब के गर्ला सरकारले ?



काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको र निर्माण प्रक्रिया अगाडि बढाउन लागेको निजगढ विमानस्थलमा नयाँ टुइस्ट हुने संकेत देखा परेको छ ।

वनजंगल मासेर विमानस्थल निर्माण गर्न लागिएको भन्दै वातावरणवादीले विरोध गरिरहेको बेला नेपाली काँग्रेस समेत त्यसमा थपिएको छ ।

सरकारले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माणका लागि आशयपत्र सार्वजनिक गर्न लागेको तथा रुख काट्नका लागि वन तथा वातावरण मन्त्रालयबाट स्वीकृति दिने प्रक्रिया सुरु भएको बेला काँग्रेस नेता शेखर कोइरालले निजगढमा विमानस्थल बनाउने विषय ग्राह्य नभएको बताएका छन् ।

उनले आवश्यकभन्दा बढी रुख काटेर वातावरण बिगार्ने कुरा आफुहरुलाई स्वीकार्य नभएको बताएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले करिब ७ लाख मात्रै रुख काटिने तर्क गर्दै आएका छ् । उनले सो विमानस्थल राष्ट्रिय हित र आर्थिक विकास एवम् समृद्धिका लागि आवश्यक भएको दावी गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, ठूला जहाज अवतरण गर्न नस्क्ने अवस्था आएको भन्दै सरकार जसरी भएपनि निजगढ विमानस्थल निर्माण गर्ने योजनामा लागेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सो विमानस्थल निर्माणका लागि खर्चको जोहो हुन लागेको बताएका थिए । उनले त्यसको घोषणा आगामी पत्रकार सम्मेलनमा गर्ने समेत बताएका थिए ।

तर कांग्रेसका नेता कोइरालाले बाराको निजगढमा बनाउने भनिएको अन्तराष्ट्रिय विमानस्थल सर्लाहीको सागरनाथमा बनाउँदा उपयुक्त हुने भन्दै सरकारको निर्णयलाई काउन्टर दिएका छन् ।

कोइरालाले निजगढ नजिकै सर्लाहीको सागरनाथमा ३ हजार बिघा बढी जग्गा रहेको र सोही स्थानमा नै विमानस्थल बनाउँदा उपयुक्त हुने बताएका छन् ।

जग्गा नभएको भए पो अर्को कुरा, नजिकै अर्को जग्गा छ, कनि रुख काटेर वातावरण विनाश गर्नु पर्यो र, उनले भनेका छन् ।

निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका क्रममा २४ लाख रुख काट्ने खबरले आफ्नो ध्यान आकृष्ट भएको भन्दै वातावरण विनाश गर्न नहुने उनको तर्क थियो ।

एकै पटक धेरै रूख काट्दा वातावरणमा नकारात्मक असर पर्ने भन्दै उनले भयावह अवस्था आउनसक्ने तर्फ सरकार सजग हुनुपर्ने बताए ।

विमानस्थल चाहिएको छ, नजिकै सागरनाथमा विमानस्थल बनाउन सकिन्छ, रुख काटेदा विशेष ध्यान दिइनु पर्छ, अन्यथा वातावरण बिग्रन जान्छ ।

सरकार भने विरोध आए पनि मुलुकलाई नै केन्द्रमा राखेर काम गर्न लागिएकाले त्यसको प्रतिवाद गर्ने तयारीमा रहेको छ । तर वन मन्त्रालयले स्वीकृत गरेको वातावरणीय प्रभाव मूल्यांकमा कमजोरी रहेको भन्दै आलोचना समेत भएको छ ।

अन्य कुनै एक आयोजनाको प्रतिवेदन कपी पेष्ट भएको, माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रतिवेदनलाई तलमाथि पारिएको जस्ता आरोप भने लागेको छ ।

वातावरणवादीको विरोध, काँग्रेस समेत विरोधमा लागेपछि निजगढ विमानस्थलको विषयमा थप आशंका र जटिलता थपिएर गएको छ । त्यसलाई सरकारले कसरी सम्बोधन गर्ला त्यो भने प्रतिक्षाको विषय बनेको छ ।


पुष्प दुलाल