नेपाली बैदेशिक रोजगारीमा जाँदा कृषि क्षेत्र पछि पर्याेः मन्त्री खनाल



काठमाडौं । नेपालको कृषिमा यान्त्रिकरण शुरु गर्नु पर्ने कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले बताएका छन् ।

कन्जुमर आई नेपालले आयोजना गरेको कृषिजन्य उत्पादनमा यान्त्रिकरण, गुणस्तर मल, विषादी न्यूनिकरण र उपभोक्ता अधिकार विषयमा भएको कार्यशाला गोष्ठीमा बोल्दै उनले नेपालमा यान्त्रिकरणका लागि जमिन नभएको टिप्पणी गरे ।

‘कृषिमा यान्त्रिकरणलाई प्रयोगमा ल्याउने हो भने शुरुमा जमिनबाट काम सुरु गर्नु पर्छ, मैले कृषि, भूमि तथा सहकारी मन्त्रालय एक हुँदा शुरुमै यही कुरा उठाएको थिए, मन्त्रालय विघटनपछि कृषिमा नै ध्यान दिएको छुँ,’ मन्त्री खनालले भने ।
भएका जग्गा घडेरीमा परिवर्तन भईसकेकोले त्यसमा यान्त्रीकरण प्रयोग गर्न सम्भावना नदेखिएको उनले बताए ।

यस्तै कृषिमा श्रम गर्न सक्ने २० वर्षभन्दा माथि र ४० वर्षभन्दा कम उमेर समूहका मानिसहरु विदेसियका हुनाले नेपालमा कृषि क्षेत्रपछि परेको मन्त्री खनालले बताए ।

‘१ सय बिघा जोत्ने ट्रयाक्टरलाई ५\६ रोपनी जग्गा काम छैन, नेपालमा ५ बिघा जमिन एकसाथ ल्याउन समेत गाह्रो छ,’ मन्त्री खनालले भने ।

अन्य राष्ट्रमा जमिन एक ठाउँ ल्याउने विषयमा जमिन राज्यको नाममा हुने गरेको र त्यसमा जनताले लिजमा लिएर घर बनाउनेदेखि खेतीपाती गर्न समेत छुट्याउने गरेको उनले बताए ।

उनले भने ‘नेपालमा जग्गा एकिकरण गर्न सक्ने सम्भावना छैन ।’ जग्गा एकिकरण गर्न चक्लाबन्दी गर्न सकिने, तर नेपालमा त्यो पनि गर्न नसकिएको उनले बताए ।

‘तराईमा ११ बिगा र पहाडमा २५ रोपनी जग्गा राख्न पाइने ऐनमा छ, २५ रोपनी ५ ठाउँमा भएको अथवा विभिन्न ठाउँमा ५\५ बिघा गरी २६ रोपनी जग्गा भएको भएपनि त्यसलाई चक्लाबन्दीबाट एक ठाउँमा ल्याउन सकिने, तर त्यो काम अफ्ठेरो रहेको छ,’ खनालले भने ।

यस्तै चक्लाबन्दी गर्न नसकिए सहकारीबाट गएर कृषि गर्न सकिने उनले बताए । जग्गा कतै नजाने र सबैको जमिन एक ठाउँमा ल्याएर सामुहिक खेती गरी कृषिमा अघि बढ्न सकिने उनले बताए । यसो गर्दा अनाज चाहिनेले अनाज लिने र नचाहिनेले पैसा लिन सक्ने बताए ।

कार्यक्रममा बोल्दै उनले जमिनबारे एउटा छुट्टै नीति चाहिएको समेत बताए । नेपालमा कृषि क्षेत्रमा अशिक्षितको सहभागिता धेरै रहेकाले विषादी र राशायनिक मलको प्रयोग अन्दाधुन्दा रुपमा भइरहेको बताए ।


क्लिकमान्डु