नेपालमा गाडीको संख्या धेरै भएकै हो ? ४०० नेपालीलाई एउटा बस, १२६ लाई एउटा कार




काठमाडौं । नेपालमा गाडीहरुको संख्या सडकको क्षमताभन्दा धेरै भयो भन्ने तर्क बेलाबेलामा सुन्ने गरिन्छ । तर, नेपालमा गाडी विक्रेताहरुको संख्या नाडा अटोमोबाइल्स एसोसिएसनले तयार पारेको एउटा तथ्यांकले यो तर्क सही नभएको देखाएको छ ।

नाडाका अनुसार अहिले ४०० नेपालीको भागमा एउटा बस पर्ने गरेको छ । यस्तै १२६ नेपालीको भागमा एउटा कार पर्ने गरेको छ ।

यो संख्या नेपालको जनसंख्यालाई बस र जीप, कार, भ्यानको संख्याले भाग गरेर हेर्दा निस्किएको नाडाले जानकारी दिएको छ ।

यातायात ब्यवस्था विभागमा अनुसार अहिलेसम्म ४९ हजार ३१८ वटा बस नेपालमा दर्ता भएका छन् । यस्तै मिनिबस÷मिनिट्रकको संख्या २५ हजार ५९५ छ । नेपालको जनसंख्या करिब ३ करोड पुगेको अनुमान गरिएको छ ।

नेपालमा अहिलेसम्म दर्ता भएका जीप, कार र भ्यानको संख्या २ लाख ३७ हजार ६५८ छ । यसरी हेर्दा एउटा बस ४०० नेपालीको भागमा पर्ने र १२६ नेपालीको भागमा एउटा कार, जीप, भ्यान पर्ने नाडाले जानकारी दियो ।

यस्तै नेपालमा दर्ता भएमा मोटरसाइकलको संख्या २५ लाख ३० हजार ७२२ छ । यो तथ्यांकले पनि १२ नेपालीको भागमा एउटा मोटर साइकल पर्ने देखाउँछ ।

विभागमा दर्ता भएका सबै मोटर साइकल चल्न योग्य वा चलिरहेका छन् भन्ने पनि होइन ।

नेपालमा गाडीहरुको संख्या सडकको क्षमताभन्दा धेरै भयो भन्ने तर्क नै ठिक नभएको नाडा उपाध्याक्ष कृष्णप्रसाद दुलाल बताउँछन् ।

‘आजको दिनमा पनि १ प्रतिशत नेपाली जनतासँग मात्रै आफ्नै गाडीको पहुँच छ, त्यसैले गाडीको संख्या धेरै भएको होइन, सडक कम भएको हो,’ भदौ २५ गते रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष दुलालले भने ।

उनले सडक पूर्वाधारको विकासमा लाग्नको लागि सरकारलाई सुझाव समेत दिएका छन् ।

‘हाम्रो देशमा स्तरीय र राम्रा सडक नै छैनन्, अहिले भएका सडकको पनि समयमै मर्मतसम्भार हुँदैन, सरकारले काठमाण्डौ उपत्यकामा गाडीको जाम देखेर क्षमताभन्दा बढी गाडी भयो भनिरहेको छ, आयात कम गर्नुपर्छ भनिरहेको छ, त्यो सरकारले जनताप्रति सकरात्मक सोच राखेको होइन, आफूले चाहेको गाडी खरिद गरेर चढ्न पाउनु जनताको अधिकारको कुरा हो,’ उनको भनाइ छ ।

उनले सरकारले उद्योगमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए । यस्तै सडकको स्तरोन्नति गर्नुपर्ने पनि उनको भनाइ छ ।

उनले गाडीमा कर बढी भएको पनि बताए ।

‘कर र भन्सारको कारणले गर्दा गाडी जनताहरुको पहुँचभन्दा बाहिर छ, १० लाखमा राम्रो गाडी किन्न सकिने स्थिति आयो भने ५० प्रतिशत जनताले गाडी चढ्छन्,’ उनले भने ।

त्यस्तै नाडाका महासचिव सुनिल रिजालले पनि नेपालमा गाडीहरुको संख्या सडकको क्षमता भन्दा धेरै भयो भन्ने सरकारी तर्क नै ठिक नभएको दाबी गरेका छन् ।

‘नेपालमानै गाडी उत्पादन गर्ने बिषयमा सरकार पनि गम्भीर हुनुपर्यो, उद्योगधन्दा स्थापना गर्ने वातावरण बनाउनुपर्यो, उद्योग खोल्ने वातावरण अहिले नै बनिसकेको छैन, मोटर साईकल, टायरजस्ता उद्योगहरु स्थापना भईसकेका छन्, गाडीको पनि हुन्छ, त्यो केही समय लाग्छ,’ महासचिब रिजालले भने । आजदेखि ६ दिनसम्मको लागि नाडा अटोशो आयोजना भएको छ ।


क्लिकमान्डु