खसीबोकाको मूल्य बढ्ने, महङ्गो हुने भो यसपालीको दशैं



काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकामा खसीबोका आयात बढ्न थालेको छ । पछिल्लो समय दैनिक १२ गाडी खसीबोका आयात हुने गरेको चौपाया खरिद विक्री संघका संरक्षक दीपक थापाले जानकारी दिए ।

साउन १ गतेदेखि सरकारले चौपायामा प्रतिकेजी ४ सय रुपैयाँ आयकर लगाएको र बिचौलियाका कारणपनि यो दशैंमा खसीबोका महङ्गो हुने भएको छ ।

‘ढुवानी भाडा महङ्गो पर्ने र बिचौलियाका कारण दशैंमा खसीबोकाको मूल्य बढ्ने गर्छ, कालिमाटी तरकारी तथा फलफुल बजारमा जस्तै सरकारले खसीबोकामा पनि अनुगमन गर्नुपर्र्यो,’ थापाले भने ।

यो दशैंमा खसीबोकाको मूल्य प्रतिकेजी २० रुपैयाँदेखि २५ रुपैयाँसम्म बढ्ने सम्भावना छ । यो पटकको दशैमा खसीबोकाको मूल्य प्रतिकेजी ५ सय ५० रुपैयाँभन्दा माथि हुने उनको अनुमान छ ।

नेपालमा उत्पादित खसीबोका सस्तो हुने, तर ढुवानीमा असुविधा हुनुका कारण उपत्यकासम्म ल्याएर बेच्न समस्या हुने उनले बताए ।

जाजरकोटमा खसीबोका प्रतिकेजी ३ सय ८० रुपैयाँदेखि ३ सय ९० रुपैयाँ पर्छ । नेपालमै उत्पादित खसीबोका उपत्यका भित्राउन सके भारतबाट आयात भएको भन्दा सस्तो हुने र उपभोक्तालाई राहत मिल्ने उनको बुझाई छ ।

उनका अनुसार बसमा चौपाया आयात गर्न रोक लगाउनु, ट्राफिक र प्रहरीले गाडीमा चौपाया ल्याउन नदिनु र राज्यले सही तरिकाले चौपायाको ब्यापारका क्षेत्रमा छानबिन नगर्दा उत्पादन पनि घट्दो क्रममा रहेको बताइन्छ ।

नेपालमा तरकारी, फलफूल उत्पादन गर्ने कृषकले मात्र नभई चौपाया पालन गर्ने कृषकले समेत बजार र मूल्य पाउन सकेका छैनन् ।

‘नेपालमा उत्पादित खसीबोका सस्तो हुँदापनि भारतबाट खसीबोका नेपाल भित्रने गर्छ, भन्सार तिरेर आएपछि त्यसमा रोगको जाँच समेत गरिदैन,’ चौपाया खरिद विक्री संघका संरक्षक थापाले भने ।

७५ प्रतिशत खसीबोका भारतबाट आयात

नेपालमा खसीबोकाको उत्पादन बढेपनि त्यो ग्रामीण भेगमा नै खपत हुने गरेको छ । नेपालमा खसीबोकाको उत्पादन १५ प्रतिशतबाट बढेर २५ प्रतिशमा पुगेको छ । हाल नेपालमा ७५ प्रतिशत खसीबोका अझै भारतबाट नै आयात हुने गर्छन् ।

नेपालमा चौपायाको मासु १२ अर्ब रुपैयाँ बराबरको खपत हुने गर्छ । तर, नेपालमा आयात हुने तथा बिक्री हुने खसीबोकाको मूल्य भारतीयहरुले नै दरभाउ गर्ने गरेको थापाले बताए ।

उनका अनुसार भारतमा उत्पादन हुने खसीको तुलनामा नेपाली ग्रामीण भेगमा उत्पादन हुने खसीबोका धेरै स्वस्थ्यकर हुने गर्छन् ।

‘भारतमा सुई लगाएर ६ महिनामै खसीबोका तयार हुन्छन्, तर नेपाली ग्रामीण भेगमा ३ वर्ष लगाएर खसीबोका उत्पादन गर्ने गरिन्छ’ थापाले भने ।

मुस्ताङबाट १५ हजार च्याङ्ग्रा ल्याइदै


यो दशैका लागि १५ हजारको हाराहारीमा भेडा च्याङग्रा मुस्ताङबाट ल्याउन लागिएको चौपाया खरिद विक्री संघका संरक्षक थापाले बताए ।

दशैंका लागि भेडा च्याङ्ग्रा ल्याउन असोज १ गते मुस्ताङ जान लागेको उनले बताए । नेपालमा चीनबाटपनि भेडा च्याङ्ग्रा आयात हुने गरेको छ । गत वर्षको दशैंमा चीनबाट ११ हजारको हाराहारीमा भेडा तथा च्याङ्ग्रा आयात भएका थिए ।


क्लिकमान्डु