३ वर्षभित्र नेपाल आलुमा आत्मनिर्भर हुने सरकारी लक्ष, परीक्षणमा उन्नत जातको बिऊ



काठमाडौं । अबको ३ वर्षभित्र आलुको आयात प्रतिस्थापन गर्ने सरकारले लक्ष लिएको छ ।

गत आर्थिक वर्ष २०७४÷७५ सालमा २८ लाख मेट्रिकटनको हाराहारीमा आलु उत्पादन भएको भएको थियो । ९० प्रतिशत आलुको माग नेपाल कै उत्पादनले धानेको र नेपालमा १० प्रतिशत आलु भारत, चीन लगायतका देशबाट आयत हुने गरेको छ ।

नेपाललाई आलुमा आत्मनिर्भर बनाउन देशभर बिऊ उत्पादन र वितरण प्रमाणीकरणको व्यवस्था गर्न थालिएको छ । वरिष्ठ आलु बाली विकास अधिकृत श्यामप्रसाद ढकालका अनुसार ३ वर्षभित्र आलुको आयात पुरै प्रतिस्थापन गर्न हिसाबले योजनाबद्ध काम भइरहेको छ ।

‘हामी पूर्णरुपमा आलुमा आत्मनिर्भर नभएले ३ वर्षभित्र आलु आयातलाई पूर्ण रुपमा प्रतिस्थापन गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ,’ ढकालले भने ।

यो लक्ष्य पूरा गर्न धेरै उत्पादन दिने पिआरपी जातको आलुको बिउमा परीक्षण भएको उनले बताए । यसको उत्पादन परीक्षण खुमलटारबाट हुँदै आएको छ ।

‘बीउको व्यवस्थापन राम्रोसँग हुन सके उत्पादनको लागत कम हुने र नेपाली बजारमा आलुको मूल्य कम गराउन सकिन्छ,’ ढकालले भने ।

नेपालमा खेती गर्ने प्रविधिको विकास हुन नसक्नु, साना गह्रामा खेती गर्दा लागत बढी हुने भएकाले नेपालमा उत्पादित आलु महङ्गो हुने गरेको ढकालको बुझाई छ ।

उनले वितग २ वर्षदेखि भारतबाट आयात हुने आलु प्रतिस्थापन गर्नका लागि उन्नत बिउको उत्पादनमा आफुले काम गरिरहेको बताए ।

हालसम्म तीन वटा आलुका बिऊ प्रमाणीकरण भएको र त्यो बिउ देशभरी विभिन्न ठाउँमा उत्पादन तथा बिक्रीका लागि राखिएको उनले जानकारी दिए ।

उनका अनुसार गत वर्ष २५ वटा जिल्लामा आलुका बिऊ प्रमाणीकरण गरिएको छ ।

‘बिउ किनेर आलु उत्पादन गर्ने कृषकले प्रमाणीकरण भएकै आलुका बिउ किन्दा राम्रो हुन्छ, हैन भने आफैंले बिऊ उत्पान गर्दा अझ राम्रो हुन्छ,’ ढकालले भने ।

दैनिक २ सय मेट्रिक टन आलु भित्रन्छ कालिमाटीमा

कालिमाटी बजारमा प्रत्येक दिन करिब २ सय मेट्रिकटन आलु भित्रिने गरेको कालिमाटी फलफूल तथा तरकारी बजार समितिका उप निर्देशक विनय श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यो आर्थिक वर्षको पहिलो महिना साउनमा ३६ सय मेट्रिकटन आलु कालिमाटी बजारमा भित्रिएको छ । २०७४ सालमा कालिमाटी बजारमा ६ करोड ४ लाख ३५ हजार ८ सय २२ केजी रातो आलु भित्रिएको तथ्याङ्कले देखाएको छ । यस्तै सेतो आलु १३ लाख ३२ हजार ३४ केजी कालिमाटी भित्रिएको थियो ।

आलु उत्पादनको अवस्था

कृषि मन्त्रालयको तथ्याङ्क अनुसार २०७३÷७४ सालमा २५ लाख ९१ हजार सय ८६ मेट्रिकटन आलु उत्पादन भएको थियो । सो अवधिमा १ लाख ८५ हजार ८ सय ७९ हेक्टर जमिनमा आलु खेती भएको थियो ।

२०७१÷७२ सालमा आलुको उत्पादन २५ लाख ८६ हजार २ सय ८७ मेट्रिक टन रहेको थियो । त्यसबेला १ लाख ९७ हजार ३७ हेक्टरमा आलु खेती भएको थियो ।

तर, नेपाली उत्पादनले आत्मनिर्भर नहुने गरेको अवस्थामा प्रायः आलु भारतबाट भित्रिने गर्छ । २÷३ वर्ष यता चीन, नेदरल्याण्ड र बंगलादेशबाटपनि आलु नेपाली बजारमा आउने गरेको छ ।

साउन महिनामा मात्र १० करोडको आलु भित्रियो

चालु आर्थिक वर्षको पहिलो महिनामा १० करोड ५२ लाख रुपैयाँ बराबरको आलु भारतबाट नेपाल आयात भएको छ । आर्थिक वर्षको पहिलो महिनामा ५० लाख केजी आलु आयात भएको तथ्याङ्कले देखाएको छ ।

यस्तै, बंगलादेशबाट ४० लाख रुपैयाँ बराबरको ३४ हजार केजी आलु आयात भएको छ । नेदरल्याण्डबाट २३ लाख रुपैयाँको १९ हजार किलो आलु आयात भएको छ ।


क्लिकमान्डु