पानी परिरह्यो, लैनचौरमा पिच भइरह्यो,  यही हो त सरकार सडकमा पिच गर्ने तरिका ?



फाइल फोटो

काठमाडौं । मनसुनको समय दर्कने झरी परिरहेको थियो । अलकत्रा हाल्ने मेसिन तम्ततयारी हालतमा थियो ।

अलकत्रा मिसाइएको गिटी लिएर टिपर तम्तयारी हालतमा थिए । सवारी साधन भित्रबाट राम्ररी देख्न सकिने अवस्थापनि थिएन, किनकी बर्खे झरी राम्रैसँग परिरहेको थियो ।

बिहप्बार राती नौ बजे लौनचौर, दरबारमार्ग क्षेत्रमा सडक विभागले पिच माथि पीच हालिरहेको थियो ।

यो कुनै उपन्यासको कथा होइन, अनि यो कुनै रोमाञ्चक जस्तो लाग्ने कमिक्सपनि होइन, हाम्रै राजधानी शहरको सरकारको काम गर्ने शैलीको एउटा उदाहरण हो ।

पानी परिरहेको बेला सामान्यतया संसारभर पिच गरिंदैन । तर, संसारमा जे हुँदैन, हाम्रै देश नेपालमा त्यही हुन्छ । राजधानीको सकडमा खाल्डा खुल्डी छन् । प्रधानमन्त्रीले नै खाल्डा खुल्डी पूर भनेर निर्देशन दिनु परेको छ ।

गतवर्ष प्रधानमन्त्रीमा थिए शेरबहादुर देउवा । उनले बालाजुमा एक बालिका ढलमा परेर मृत्युभएछि राजधानीमा सबै खाल्डाखुल्डी पुर्न निर्देशन दिए । सडक विभागका कर्मचारी दौडादौड गरे र केही स्थानमा खाल्डाखुल्डीमा माटो भरेर कर्तव्य पूरा गरे । प्रतिवेदन बनाए र प्रधानमन्त्रीका सामु साखुल्ले बने ।

यसपटक पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तै निर्देशन दिए । जुन विगतमा देउवालेपनि दिएका थिए । राजधानीका सडक हिड्दै नसकिने गरी भत्किएको छ । सडक विस्तारका नाममा भत्काइएका सडक कहिले पुनःनिर्माण हुन्छ भन्ने कुराको जानकारी दिन सरकारी अधिकारी नै सक्दैनन् ।

पछिल्लोपटक एउटा बहाना राम्रैसँग मिलेको छ । त्यो हो बुहपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक) को चौथो शिखर सम्मेलन । यही भदौ १४ र १५ गते सो सम्मेलन काठमाडौँमा आयोजना गरिएको छ ।

सरकार सोही बाहानामा राजधानीका सडकमा पिच माथि पिच हालीरहेको छ , त्यो पनि पानी परेको बेलामा । सरकारले पिच गर्ने समय समेत कुन हो भन्ने छुट्याउन सकेको छैन ।

सवारी चाप बढी हुने र कार्यालय समय छुटेर घर पुग्ने समयमा मुख्य सडक बन्द गरेर सरकारले धमाधम सडक पिच गरिरहेको छ । जसकाकारण सवारी चाप बढी हुने समयमा जाम परिरहेको छ भने सरकारको पिच समेत पानीको भेलले बगाएको छ ।

सरकारलाई पाहुना हिड्ने सडकमा राम्रो बनाउनु परेको छ । अरु बेला सुत्ने र जब समय आइपुग्न लाग्छ तब तात्ने प्रवृत्तिका कारण राज्यको ठूलो साधन र स्रोत खेर गइरहेको छ ।

सरकारी निकायले धमाधम गरिरहेको पिचको आयु के कति होला ? त्यो भने अहिल्यै भन्न सकिने अवस्था छैन । तर, सरकार धमाधम पिच गरिरहेको छ ।

राजधानीका सडक २ महिना भित्र खाल्डाखुल्डीरहित बनाउनु भनेर प्रधानमन्त्रीले निर्देशन दिएको डेढ महिना भयो । तर, राजधानी प्रवेश गर्ने नागढुंगा–कलंकी सडकको अवस्था उस्तै छ । बौद्ध जोरपाटी सडकको अवस्थापनि उस्तै रहेको छ । तर पाहुनाको स्वागत गर्ने नाममा पिचमाथि पिच हालेर सरकारले रमिता गरिरहेको आम नागरिकको बुझाई छ ।

सडक खाल्डा खुल्डी रहित हुनुपर्छ, त्यसमा कुनै दुविधा रहन सक्दैन र फरक मत पनि हुँदैन । तर, कुन समयमा पिच गर्ने र कुन समयमा नगर्ने भन्ने कुराको हेक्का कमसे कम राजनीतिक व्यक्तिले थाहा नपाएपनि विज्ञ र प्राविधिक भनिएका व्यक्तिले त थाहा पाउनुपर्ने हो भन्दै नागरिकले गुनासो गरेका छन् ।

पछिल्लो पटक सडक विभागले पानीमा समेत जम्ने अलकत्रा प्रयोग गरेको दावी गरेको छ । तर, ती अलकत्रा आज हाल्यो भोलि बगाएर लगेको छ । लैनचौर, बानेश्वर, माइतीघर क्षेत्रमा गरिएको पिचबाट त्यही देखिन्छ । जुन सरकारी अधिकारीले भनेका भन्दा विल्कुल फरक रहेको छ ।

बिमस्टेकका पाहुनालाई देखाउन होइन, नागरिकलाई सेवा दिन सरकार लाग्नु पर्छ, आरामदायी तवरले यात्रा गर्न पाउने वातावरण बनाउनु पर्छ । सडक खाल्डाखुल्डी रहित बनाउनु पर्छ । त्यसमा कुनै दुविधा छैन । तर, वर्ष दिन भरी चुप लागेर बस्ने र हतारका काम गर्ने प्रवृत्तिले कोही कसैकोपनि हित गर्दैन भन्नेतर्फ पनि उत्तिकै सचेत हुनु जरुरी छ । पानी परिरह्यो, पिच भइरह्यो भन्ने मान्यताबाट बाहिर निस्कनु जरुरी देखिएको छ ।


क्लिकमान्डु