वैदेशिक रोजगारीका क्रममा ६ वर्षमा ५ हजार नेपालीको मृत्यु



काठमाण्डौ । वैदेशिक रोजागारीको क्रममा मृत्यु हुने नेपालीको संख्या ५ हजार नाघेको छ । आर्थिक वर्ष ०६७\६८ यता वैदेशिक रोजगारीको क्रममा मृत्यु हनेको संख्या ५ हजार ८ सय ३२ पुगेको छ ।

वैदेशिक रोजागरीको क्रममा सबैभन्दा धेरै मलेसियामा नेपाली कामदारको मृत्यु भएको देखिन्छ । ६ वर्ष यता मात्रै मलेसियामा २ हजार १ सय ५३ जना नेपाली कामदारको मृत्यु भएको छ ।

यो अवधिमा ७ सय ८७ जना नेपाली कामदार विदेशमा अंगभंग भएका छन् । बोर्डले ६ वर्षको अवधिमा १ सय ५ जनाको उद्धार गरेको छ । १ हजार ३ जनाको शव ढुवानी गरेको छ भने २ सय ६ जनाको शव झिकाएको छ । बोर्डले ५९ जनालाई स्वास्थ्थ उपचारमा सहयोग गरेको बताएको छ ।

बोर्डले कामदारको उपचार, उद्धार तथा शव ढुवानीका लागि १ अर्ब ५६ करोड ७७ लाख ९४ हजार रुपैयाँ खर्च गरेको छ ।

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएमा वा अंगभंग भएमा दिने रकमपनि बृद्धि गरिएको छ । यसरी प्रदान गरिने रकम ७ लाख पुर्याईएको छ । यसअघि यस्तो रकम १ लाख ५० हजार मात्रै थियो । वैदेशिक रोजगारीमा जाने कामदारको बिमा रकमपनि १५ लाख पुर्याईएको छ ।

वैदेशिक रोजागार प्रबद्र्धन बोर्डले बिहीबार प्रतिनिधि सभा अन्तरगत उद्योग र श्रम तथा उपभोक्ता हित संरक्षण समितिमा प्रस्तुत गरेको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेहरुको संख्या ५० लाख नाघेको छ । बिक्रम सम्वत् २०५० यता ५० लाख ६९ हजार ४ सय ५ जना वैदेशिक रोजगारीका लागि गएका छन् ।

वैदेशिक रोजागारीका लागि ४८ लाख ६९ हजार ४ सय ५४ जना पुरुष र १ लाख ९९ हजार ९ सय ५१ जना महिला विदेशिएका छन् । बोर्डको तथ्याङ्क अनुसार २०६३ सालमा वैदेशिक रोजागारीमा जाने महिलाको संख्या ३ सय ९० मात्रै थियो । तर, २०७५ सम्म पुग्दा यो संख्या बढेर १९ हजार ४ सय ४८ पुगेको छ ।

वैदेशिक रोजागरीमा गएका कूल जनशक्तिको ८६.४२ प्रतिशत खाडी तथा मलेसिया गएको देखिन्छ । वैदेशिक रोजगारीमा जानेहरुमध्ये ७४.५ प्रतिशत अदक्ष कामदार रहेका छन् ।

कुन प्रदेशबाट कति ?
वैदेशिक रोजगारमा सबैभन्दा धेरै प्रदेश १ र २ बाट गएका छन् । यी दुई प्रदेशबाट वैदेशिक रोजगारीमा जानेको हिस्सा ५० प्रतिशत छ । त्यस्तै प्रदेश ३ र ५ बाट क्रमश १६, १६ प्रतिशत वैदेशिक रोजगारीका लागि गएका छन् । त्यस्तै प्रदेश ४ बाट १३ प्रतिशत गएका छन् । प्रदेश ६ र ७ बाट क्रमशः ३ र २ प्रतिशत वैदेशिक रोजगारीका लागि विदेशीयका छन् ।

बोर्डको नाम परिवर्तन
संघीय संसदको उद्योग र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा बोल्दै श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारी प्रर्बद्धन बोर्डको नाम परिवर्तन गरिने बताए ।

नेपाल सरकारको प्राथमिकता स्वदेशमै रोजगारी सिर्जना गर्नु रहेको बताउँदै उनले भने–‘सरकारको प्राथमिकता देशमै रोजागारका अवसर सिर्जना गर्ने हो । हाम्रो उद्देश्य वैदेशिक रोजगारी प्रर्बद्धन गर्ने होईन । तसर्थः वैदेशिक रोजागारी प्रर्वद्धन बोर्डको नाम परिवर्तन हुन्छ ।’

बोर्डको नामबाट अब प्रबद्र्धन हटाएर व्यवस्थापन राखिने समते मन्त्री विष्टले जानकारी दिए । बार्डको नाम अब बैदेशिक रोजागारी व्यवस्थापन बोर्ड हुनेछ ।
यस बाहेक समितिको बैठकमा सांसद सरिता गिरीले विदेशमा अलपत्र परेको नेपालीको उद्धार हुन नसकेको भनी प्रश्न गरेकी थिईन् ।

गिरीको प्रश्नको जवाफमा मन्त्री विष्टले संसारको जुनसुकै कुनामा अप्ठेरोमा परेको नेपालीको उद्धारका लागि सरकार तयार रहेको बताए । ‘संसारको जुनसुकै कुनामा रहेको एक मात्र नेपालीको पनि उद्धारका लागि सरकार प्रतिबद्ध छ । सरकारको यो प्रतिबद्धताप्रति विश्वास गर्नुहोस्’ मन्त्री विष्टले भने ।

विदेशमा जवानी र समय खर्च गरिरहेको युवाहरु नेपाल फर्किएपछि उनीहरुको सामाजिक सुरक्षा र सामाजिक सम्मानको प्रत्याभूति दिलाउनपनि सरकार लागिरहेको विष्टले जानकारी दिए ।

यस बाहेक विदेशमा कोमामा रहेका नेपालीको उपचारका लागि सरकारले निजी क्षेत्रका अस्पताल मेडिकल कलेजसंग सहकार्य गरिरहेको समेत विष्टले समितिलाई जानकारी गराएका थिए ।

तालिम नलिई विदेश जान नपाईने
मन्त्रालयले अब तालिम नलिई रोजगारीका लागि विदेश जान नपाउने व्यवस्था गर्न लागेको समेत विष्टले जानकारी गराए । सिपको अभावमा विदेशमा नेपाली ठगिने र उचित पारिश्रमिक नपाउने समस्या बढेपछि सरकारले सिप सिकाएर मात्रै विदेश पठाउने तयारी गर्न थालेको हो ।

अहिलेसम्म वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले प्रदान गर्दै आएको सेवा तथा सुविधा अब प्रदेश तहसंगको समन्वयबाट स्थानीय तहमै पुर्याउन लागिएको समेत मन्त्री विष्टले जानकारी दिए ।


क्लिकमान्डु