अरुले कर बढाउने प्रतिस्पर्धा गर्दा बनेपाले करको दर नै घटायो



काठमाण्डौ । देशभरका स्थानीय तहले कर बढाएका छन् । स्थानीय तहलाई उछिन्दै प्रदेश सरकार र संघीय सरकारलेपनि कर बृद्धी गरेको छ । तीनै तहका सरकारले कर बढाएपछि नागरिकलाई थप आर्थिक भार परेको छ । तर, बनेपा नगरपालिका भने अपवादको रुपमा देखिएको छ । बनेपा नगरपालिकाले कर नबढाएको बताएको छ ।

किन बढाएन बनेपा नगरपालिकाले कर ? यो प्रश्न हामीले नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठलाई सोधेको थियौं । जवाफमा उनले भने–‘जनतालाई निचोर्न त भएन नी ! स्थानीय तहलाई दिगो बनाउनका लागि कर बढाउनुपर्छ भन्नेमा हामी विश्वास गर्दैनौं । स्थानीय तहले थोरै करमापनि काम गर्न सक्छन ।’

यही प्रश्न हामीले नगरपालिकाका उपप्रमुख रेखा सापकोटा(दाहाल)लाई पनि सोधेका थियौँ । जवाफमा उनले भनिन्–‘हाम्रो नगरपालिकामा ८० प्रतिशत भन्दा धेरै नागरिक कृषक छन् । खेति किसानी गर्ने जनताको जीवनस्तर उकास्नु पर्ने समयमा कर मात्रै उठाएर केही हुन्न । त्यही भएर हामीले कर बृद्धी गरेनौ ।’

देशभरका स्थानीय तहले करको दायरासंगै करपनि बढाएका छन् । जसका कारण जनतामा स्थानीय सरकाप्रति वितृष्णा देखिन थालेको छ । उपप्रमुख दाहालका अनुसार बनेपा नगरपालिकाले गतवर्ष अन्य कर यथावत् राखेर एकीकृत सम्पती कर बढाएको थियो । तर, चालु आर्थिक वर्षबाट नगरपालिकाले एकीकृत सम्पती करपनि घटाएको छ । दाहालका अनुसार नगरपालिकाले स्थानीय सरकार गठन हुनु अगाडि कै दरमा कर संकलन गरिरहेको छ ।

फोहोर व्यवस्थापनका सक्रिय बनेपा

काठमाडौं उपत्यका फोहोरको समस्यासँग जुधिरहेको समयमा बनेपा नगरपालिकाले भने फोहोर व्यवस्थापन शुरु गरेको छ । लामो समयदेखि फोहोरको समस्या झेल्दै आएको बनेपा नगरपालिकाले साउन ४ गतेदेखि लागु हुने गरी सार्वजनिक निजी साझेदारी अन्र्तगत काम शुरु गरेको नगरपालिका प्रमुख श्रेष्ठले जानकारी दिए । दैनिक ३० टन फोहोर संकलन हुने बनेपा नगरपालिकाले फोहोर संकलनको शुल्कपनि थोरै तोकेको छ । फोहोर संकलनको मासिक शुल्क प्रतिघर ९० रुपैयाँ लिने नगरपालिकाले बताएको छ ।

नगरपालिकाले अहिले सूचना प्रविधि पार्क नजिकैको ३० रोपनी जग्गामा फोहोर व्यवस्थापन गर्दै आएको छ । उपप्रमुख दाहालका अनुसार बनेपा नगरपालिका, धुलिखेल नगरपालिका र पनौति नगरपालिका मिलेर एकीकृत रुपमा फोहोर व्यवस्थापन गर्ने तयारी गरिरहेका छन् । तीनवटै नगरपालिका मिलेर फोहोर व्यवस्थापनको लागि जग्गा खोज्ने काम भईरहेको श्रेष्ठले जानकारी दिए । नगरपालिको कुहिने फोहोरबाट मल र उर्जा उत्पादन गरिने उनले जानकारी दिए ।

ठूला सवारी साधनका लागि करिडोर

पूर्वबाट आउने ठूला सवारी साधन र टिपरका लागि नगरपालिकाले करिडोर सञ्चालन गर्दैछ । पनौतिको धनेश्वर पुलदेखि बनेपाको पूलबजारसम्म करिडोर सञ्चालन भईरहेको उपप्रमुख दाहालले जानकारी दिइन् । यो करिडोर बिस्तार गरेर धुलिखेलदेखि नै ठूला सवारी साधनलाई राजमार्गबाट अन्यत्र मोड्ने तयारीपनि भईरहेको छ । जसका लागि नगरपालिकाले गत वर्ष ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने चालु आर्थिक वर्षमा नगरपालिकाले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस बाहेक करिडोरका निर्माणका लागि संघीय सरकारले समेत बजेट विनियोजन गरेको छ ।

ठूला सवारी साधनका कारण ध्वनी, वायु प्रदुषणका साथै दुर्घटना बढेकाले करिडोर निर्माण गर्न लागिएको श्रेष्ठले बताए । करिडोर निर्माण भएपछि करिडोरलाईपनि छुट्टै बजारको रुपमा विस्तार गर्ने योजनामा नगरपालिका रहेको दाहालले बताईन् । यही योजनाका लागि नगरपालिकाले अहिले बनेपा बजारको सडक किनारामा रहेका फलफूल पसल तथा अन्य पसल समेत हटाउन थालेको छ । बनेपा बजारबाट हटाईएका पसललाई करिडोरमा स्थानान्तरण गरिने दाहालले जानकारी दिईन् । बनेपा बजारलाई सफा र प्रदुषणमुक्त बनाउन यसो गर्न लागिएको हो ।

काठमाडौं जोगाउँदा बनेपा समस्यामा

काठमाडौं उपत्यकामा टिपरले दुर्घटना बढेपछि बिहान आठ बजेदेखि साँझ आठ बजेसम्म टिपर प्रवेशमा निषेध गरिएको छ । उपत्यका प्रवेश गर्ने टिपर बनेपामा रोकिन्छन् । साँझ आठ बजेपछि एकैपटक टिपर चल्दा बनेपावासीलाई सडक पार गर्न समस्या देखिएको समेत दाहालले सुनाईन् । यसबाहेक एकैचोटी ठूलो संख्यामा टिपर चल्दा ध्वनी प्रदुषण समेत बढेको दाहालले बताईन् ।

काभ्रे जिल्लाका बनेपा, पनौती र धुलिखेल नगरपालिका मिलेर एकीकृत खानेपानी आयोजना समेत सम्पन्न गरिएको छ । तीन वटै नगरपालिकाका बासिन्दाले असोजभित्रै नयाँ आयोजनाबाट पानी प्रयोग गर्न पाउने छन् ।

बनेपाको चण्डेश्वरी मन्दिरको पुन निर्माणको कामपनि सकिएको छ । बनेपाका मेयर श्रेष्ठले निर्वाचित भएपछि पहिलो निर्णय नै चण्डेश्वरी मन्दिर पुनःनिर्माण गर्ने थियो ।

बर्खायाममा बनेपा बजार सधैँ डुबानमा पर्ने गर्छ । बजार डुबानको समस्या समाधानका लागि नगरपालिको डे«ेन बनाउने काम शुरु गरेको समेत श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले आफ्नो टुल्केफाँटलाई व्यवस्थित सहर बनाउने योजनापनि अगाडि सारेको छ । नगरपालिकाले टुल्केफाँट क्षेत्रमा, सडक, खानेपानी, विद्युत सहितको योजनापनि बनाएको छ ।

स्थानीय सरकारको लागि पर्याप्त ऐन तथा निएम नहुँदा स्थानीय सरकारले आवश्यकता अनुसार काम गर्न नसकिरहेको गुनासो समेत श्रेष्ठको थियो । भवन निर्माण सम्बन्धी पर्याप्त नीति नहुँदा नगरपालिकालाई काम गर्न असहज भएको श्रेष्ठले बताए ।

किसानको लागि भन्दै नगरपालिकाले बिउ तथा टनेल निर्माणमा अनुदानपनि दिने गरेको छ । यही वर्षभित्र नगरपालिकालाई मोतियाबिन्दु रहित नगरपालिका घोषणा गर्ने तयारी भईरहेको समेत श्रेष्ठले जानकारी दिए ।


क्लिकमान्डु