बोनस भित्र्याउने समयमा पनि किन घटिरहेको छ सेयर बजार ?




काठमाडौं । अघिल्लो आर्थिक बर्ष सकिएको १ महिना वितिसकेको छ । गत आर्थिक बर्षमा सुचिकृत कम्पनीहरु (खासगरी वित्तीय क्षेत्रका कम्पनीहरु, जसको नेपाली सेयर बजारमा बढी हिस्सा छ) ले सार्बजनिक गरेको वित्तीय विवरणले औसतमा करिब १५ प्रतिशत बोनस दिने प्रारम्भीक अनुमान सार्बजनिक भएका छन् ।

कम्पनी ऐनको ब्यवस्था अनुसार आर्थिक बर्ष सकिएको ६ महिना भित्रमा कम्पनीहरुले बार्षिक साधारणसभा गरिसक्नु पर्छ । यो भनेको पुस मसान्तसम्मको समयसीमा हो ।

तर, केही कम्पनीहरुले बार्षिक साधारणसभा आव्हान गरिसकेका छन् । बार्षिक साधारणसभा बोलाइसकेका कम्पनीहरुले दिने डिभिडेन्ड पनि घोषणा गरिसकेका छन् । यसबर्ष दशै र तिहार जस्ता महत्वपूर्ण चाडपर्व कात्तिक महिनामा परेकोले सुचिकृत कम्पनीहरुले भ्याएसम्म दशै अगाडि नै आफ्ना सेयरधनीलाई डिभिडेन्ड दिन बार्षिक साधारणसभा गरिसक्ने कार्ययोजना बनाएका छन् ।

तर, गत फागुनदेखि ओरालो लागेको सेयर बजार अहिलेपनि घट्दो क्रममा नै छ । कुनै दिन बजार केही अंकले बढेपनि फेरि थोरै थोरै अंकले भएपनि घटेको नै छ ।

डिभिडेन्ड भित्र्याउने बेलामा पनि बजार किन घटिरहेको छ त ?

साउन महिना आफैमा हरियाली महिना भएकोले भदौमा सेयर बजार झन् ढकमक्क हुनुपर्नेमा उल्टो भइरहेको इन्भेष्टर फोरमका उपाध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।

‘यो डिभिडेन्ड भित्र्याउने समय हो, कम्पनीहरुले दिने डिभिडेन्ड घोषणा गर्न थालिसके, यस्तो बेलामा बजार बढ्नु पर्ने भएपनि यहाँ त्यस्तो देखिदैन,’ लगानीकर्ता रौनियार भन्छन् ।

बैंक तथा वित्तीय संस्थाले दिने ऋणको ब्याज नघटेको, नियामक निकायहरुले गतल प्रचार गरेको, सेयरको आपूर्ति बढेको तथा प्राविधिक विश्लेषकहरुले गरेको विश्लेषण नै फरक फरक भएकोले अन्योल बढेको रौनियारको भनाइ छ ।

प्राविधिक विश्लेषण भनेपछि त एउटै हुनुपर्ने हो, तर यहाँ त रत्नपार्कमा सुगा लिएर वस्नेहरुले गरेको भविष्यवाणी जस्तै पो देखियो ।

‘कुनै प्राविधिक विश्लेषकले बजार घटेर यतिमा आइपुग्छ भन्छन्, कुनै प्राविधिक विश्लेषकले बढेर यतिमा पुग्छ भन्छन्, प्राविधिक विश्लेषण भनेपछि त एउटै हुनुपर्ने हो, तर यहाँ त रत्नपार्कमा सुगा लिएर वस्नेहरुले गरेको भविष्यवाणी जस्तै पो देखियो,’ रौनियारले थपे ।

सेयर बजारका जानकार तथा लगानीकर्ता दिलिप मुनकर्मी अहिले बजार नबढ्नुमा मनोबैज्ञानिक असर बाहेक अन्य कारण नभएको बताउँछन् ।

‘खासमा बजार आधारभुत रूपमा बलियो र सबल छ, बजारमा सेयर मूल्य लगानीकर्ताको मनोविज्ञानका कारण तल गएको हो, अर्काे कुरा बजारमा दीर्घकालीन लगानीकर्ता नहुदा थोरै नाफा बुक गर्ने र केही रुपैयाँ नोक्सानीमा आतिने गर्दा बजार सूचक बढ्न नसकेको हो, लगानीकर्ता अलिकति सकारात्मक हुने बितिकै बजार बढ्न गाह्रो छैन,’ मुनकर्मीले भने ।

खेतमा सोचेको भन्दा राम्रो बाली फलेको छ, अहिले खेत नै सकिए जसरी आतिनुपर्ने नराम्रो अवस्था होईन, पैसा हुँदा खेतको बाली किनेर थन्क्याउने हो ।

अहिले कम्पनीहरुले दिने डिभिडेन्ड अपेक्षाकृत राम्रो भएका उनले बताए ।

‘खेतमा सोचेको भन्दा राम्रो बाली फलेको छ, अहिले खेत नै सकिए जसरी आतिनुपर्ने नराम्रो अवस्था होईन, पैसा हुँदा खेतको बाली किनेर थन्क्याउने हो, राम्रो बीउ परे पछि थप उत्पादन हुन्छ, बाली किन्दा किरा लागेको र कुहिएको चाहिँ हेर्नुपर्छ,’ सेयर बजारको लगानीलाई कृषि उपजसँग तुलना गर्दै उनले थपे ।

पाँच बर्ष अगाडिको ब्याजदर र तरलता उपलब्धता भन्दा अहिलेको अबस्था सहज भएको उनको भनाइ । यस्तो बेलामा पनि बजार घट्नु भनेको मनोबैज्ञानिक बाहेकको कारण नहुने उनले बताए । बैंकिङ क्षेत्रको डिभिडेन्ड औसतमा २० प्रतिशतको हाराहारीमा रहेको र पुँजी बृद्धिको अनुपातमा नाफा बढाउन सकिदैन कि भन्ने चिन्तामा रहेका बैंकहरुले पनि राम्रो नाफा कमाएकोले अहिले लगानी गर्न उपयुक्त समय भएको उनको भनाइ छ ।

सेयर विश्लेषक रविन्द्र भट्टराई लगानीकर्ताको अपेक्षा अनुसार डिभिडेन्ड नआउने अनुमानका कारण पनि अहिले बजार बढ्न नसकेको बताउँछन् ।

यो बेला आँटिला लगानीकर्ताले राम्रो कमाइ गर्न सक्ने अबस्था रहे पनि त्यस्तो गतिविधि बजारमा देखिएन ।

‘बजार घटेर निकै तल पुगिसकेको छ, यस्तो बेलामा बजार बढ्नको लागि तेर्साे बाटो हिड्ने हो, यो बेला आँटिला लगानीकर्ताले राम्रो कमाइ गर्न सक्ने अबस्था रहे पनि त्यस्तो गतिविधि बजारमा देखिएन,’ भट्टराईले भने ।

उनले बजार बढ्ने गरी माग सिर्जना नभएको पनि बताए ।

‘बैंकको ब्याजदर घटेको छैन, ऋणबाट आउने पैसाले नै बजारमा माग सिर्जना गर्ने हो, यो कारणले पनि राम्रो मौका भएको बेलामा पनि बजार नबढेको हुन सक्छ,’ भट्टराईले थपे ।

यो बेला लगानी गर्दा फाइदा हुन्छ वा नोक्सान हुन्छ भन्ने गरी विश्लेषण नै कम छ, अहिले बजार घट्दो प्रबृत्तिमा छ, मान्छे त्यसैको पछाडि लागेको छ ।

सेयर विश्लेषक प्रकाश तिवारी बजारभित्रको प्राविधि वा प्रक्रियागत कुराले भन्दा पनि प्रबृत्तिले बजारलाई बढी प्रभाव पार्ने बताउँछन् । सेयरमा लगानी गर्ने अहिले उपयुक्त मौका भएपनि लगानीकर्ताले त्यतातिर ध्यान नदिएको तिवारीको भनाइ छ ।

‘यो बेला लगानी गर्दा फाइदा हुन्छ वा नोक्सान हुन्छ भन्ने गरी विश्लेषण नै कम छ, पहिले कुरा त लगानीकर्ताले प्रबृत्ति हेर्छ, अहिले बजार घट्दो प्रबृत्तिमा छ, मान्छे त्यसैको पछाडि लागेको छ,’ तिवारीले भने ।

बजार घट्ने अंकलाई थेग्नेगरी कुनै दिन बजार ठूलो अंकले बढे वा ठूलो नीतिगत परिवर्तन भएमात्रै बजार तत्काल बढ्न सक्ने अबस्थामा पुग्ने उनले बताए ।


क्लिकमान्डु