अर्थमन्त्रीको आँखा लागेको ‘पानीपुरी’ पसलको कथा



काठमाण्डौ । गत शुक्रबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको भन्दा पञ्चायतकालमा धेरै कर तिर्नुपर्ने बताए ।

अर्थमन्त्री खतिवडाले त्यतिमात्रै भनेनन् ‘घाँस खाएर पनि दूध नदिनेलाई खुट्टी लगाउनु पर्छ’ समेत भने ।

खतिवडाको यो भनाईलाई त्यहाँ उपस्थित एक पत्रकारले पंञ्चायती व्यवस्था ढलेको उदाहरण दिँदै प्रतिक्रिया दिए ।

पत्रकारको व्यङग्य सुनेपछि अर्थमन्त्रीले फूल र माहुरीको उदाहरण दिँदै भने ‘कर भनेको त माहुरीले फूलबाट रस निकालेजसरी पो लिने हो ।’ अर्थात् ‘फूललाई पनि केही हानी नहोस् । र, माहुरीको काम पनि होस ।’

मूल्य अभिबृद्धि कर जोडिएको पानीपुरी खाने अवसर दिनु नै बाम सरकारको समृद्ध नेपाल र सुखी नेपालीको पहिलो चरण हो कि ?

देशभर करको विषयमा बहस भइरहेको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार ३ वटै तहका सरकारले करको विषयमा उठेका प्रश्नको जवाफ दिन सकिरहेका छैनन् । अण्डा, कुखुरा, बाख्रामा पनि कर लगाउन थालेपछि सरकारको आलोचना बढेको छ ।

यस्ता विषयमा कर लगाएर आलोचित भईरहेको स्थानीय सरकारभन्दा एक कदम अगाडी बढेर संघीय सरकारले पानीपुरीमा समेत कर लगायो ।

सामाजिक संञ्जालमा पनि करका विषयमा व्यापक टिका टिप्पणी भइरहेको छ । अर्थमन्त्रीले मनलाग्दी कर बढाएको भन्दै उनका आलोचकहरु जतात्यतै भेटिन थालेका छन् । यतिसम्म कि जनस्तरबाट अर्थमन्त्रीको राजिनामा समेत माग्न थालिएको छ ।

खिचापोखरीमा रहेको पानीपुरी पसललाई सरकारले भ्याटमा दर्ता गराएरै छाड्यो । राजश्व संकलनको लक्ष्य प्राप्तिका लागि सरकारले यसरी पानीपुरी पसललाई समेत भ्याटको दायरामा ल्याएको जवाफ दिएको थियो ।

अर्थमन्त्रीको आँखा लागेको यो पानीपुरी पसल व्यस्त न्यूरोडमा मस्त थियो ।

व्यस्ततामा मस्त रहेको यो पानीपुरी पसल पहिले उपभोक्तालाई बिल दिँदैन थियो । हिसाब किताब पनि आफ्नै तरिकाले राख्थ्यो । तर, अब त्यसो रहेन, अब पसलले पानीपुरी खानेलाई बिल दिन थालेको छ । हिसाब किताब दुरुस्त राख्न थालेको छ ।

स्कुल छुट्टी भयो पानीपुरी । अफिस सकियो पानीपुरी । बिदाको दिन भयो पानीपुरी । सिनेमा हेर्न जानुपर्यो पानीपुरी । सपिङ जानुपर्यो पानीपुरी । प्रेमी-प्रेमिकासँग घुमघाममा गयो कि पानीपुरी । यस्तो लाग्छ पानीपुरी सहरवासीको खानपिनको हिस्सा हो ।

अर्थात् अब न्यूरोडमा तपाई भ्याटमा दर्ता भएको पानीपुरी खान पाउनुहुन्छ । मूल्य अभिबृद्धि कर जोडिएको पानीपुरी खाने अवसर दिनु नै बाम सरकारको समृद्ध नेपाल र सुखी नेपालीको पहिलो चरण हो कि ?

पानीपुरी

पानीपुरी खानु सहरवासीको जीवनशैलीको हिस्सा बनिसकेको छ । काठमाडौं उपत्यकामा पानी पुरी नपाईने चोक र गल्ली भेट्टाउन सायदै मुस्किल होला ।

स्कुल छुट्टी भयो पानीपुरी । अफिस सकियो पानीपुरी । बिदाको दिन भयो पानीपुरी । सिनेमा हेर्न जानुपर्यो पानीपुरी । सपिङ जानुपर्यो पानीपुरी । प्रेमी-प्रेमिकासँग घुमघाममा गयो कि पानीपुरी । यस्तो लाग्छ पानीपुरी सहरवासीको खानपिनको हिस्सा हो ।

धेरै पानीपुरी अहिले स्ट्रिट भेन्डरको रुपमा छन् । थोरै मात्र सटर सहितको पसलमै पानीपुरी बेच्ने गर्छन् ।

पानीपुरीका सौखिनलाई पानीपुरी पसलले कर तिर्छ या तिर्दैन कुनै चासो हुँदैन । उनीहरुलाई त मात्र अमिलो स्वादको पानीपुरी खाएर जिब्रो पटर्कान पाए पुग्छ ।

सहरमा पानीपुरी बिक्रेता कति छन् त्यसको एकिन तथ्याङ्क कतै छैन । र, पानीपुरी खाने मान्छे कति छन् त्यसको पनि एकिन तथ्याङ्क कसैसँग छैन ।

तथ्याकं होस् या नहोस् । कसलाई वास्ता ? कसलाई चासो ? अर्थमन्त्रीको नजर पर्यो । मन्त्रीलाई लाग्यो कर असुल्नुपर्छ । र, पठाईयो भ्याटमा दर्ता गराउने आदेश सहितको पत्र ।

अब न्यूरोडको भ्याट सहितको पानीपुरी पसलतर्फ जाउँ । आ–आफ्नो स्वाद अनुसार पानीपुरी, दहीपुरी, चाट, समोसा, मःम खाउँ ।
न्यूरोड, उपत्यकावासीको किनमेल गर्ने प्रमुख थलो । न्यूरोड कै एउटा गल्ली खिचापोखरी । खिचापोखरी पिपुल्स प्लाजा अगाडिको एउटा सानो पसलमा मानिसको भीड त देख्नु भएकै होला । तपाईँमध्ये कतिपयले त त्यहाँको भीड छिचोल्दै पानीपुरी, चाट वा मःमः पनि खानुभएको छ होला ।

अनुमानका आधारमा भन्न सकिन्छ, यो पसल अर्थात ॐ पानीपुरी चाट सेन्टर, सहरको व्यस्त पानीपुरी पसलमध्ये एउटा हो ।
न्यूरोडको गल्लीमा रहेको यही पानीपुरी पसलमा हो अर्थमन्त्रीको कर दृष्टि परेको ।

आईतबार बिहानै त्यहाँ पुग्दा रञ्जितकुमार समोसाको लागि अचार प्याक गर्दै थिए । रञ्जितकुमार गएको १४ वर्षदेखि यही पानीपुरी पसलमा बिहान ७ बजे आउँछन् । र, साँझ ९ बजे पसल बन्द गरेर कोठा फर्किन्छन् । भारत, बिहारको मोतिपुर जिल्लाबाट १४ वर्ष अगाडि उनी नेपाल छिरेका थिए कामको खोजीमा ।

त्यसअघि नै उनका काका मनोज साह नेपाल मै थिए । मनोज साईकलमा चना, बदाम र पानीपुरी बेच्ने गर्थे । भतिजापनि नेपाल आएपछि उनले खिचापोखरी चोकको सानो कुनामा पानीपुरी पसल खोले । अहिले यो पसलमा १० जना काम गर्छन् ।

रञ्जित यही पसलमा बिहानदेखि साँझसम्म व्यस्त हुन्छन् । साँझपख कोठामा गएरपनि उनी सुत्न पाउँदैनन् । कोठामा पुगेपछि पछिल्लो दिनको लागि पानीपुरी बनाउने, मःमको किमा बनाउने, तरकारी बनाउने, अचार बनाउने काम सुरु हुन्छ । रञ्जित दिनमा १८ घण्टाभन्दा धेरै काम गर्छन् ।

म आफैं पानीपुरी रुचाउने मानिस होइन । तर, रञ्जितसँग कुरा गर्दै गर्दा उनले मलाई सोधे ‘दाई पानीपुरी खानुहुन्छ ?’

उनको प्रश्नको जवाफमा मैले आफुलाई पानीपुरी मन नपर्ने बताए ।

तर, उनले भने ‘यो खाएर हेर्नुहोस्, मैले आफ्नै हातले बनाएको, पानीमा पनि पुदिना मिक्स गरेको छ ।’

रंञ्जितले यति भनेपछि मैले एक प्लेट पानीपुरी खाने निश्चय गरे ।

पानीपुरी खाँदै गर्दा मैले फेरी सोधे ‘दिनमा कति प्लेट पानीपुरी बिक्री हुन्छ दाई ?’

रञ्जित एकछिन अलमलिए-‘एक दिनको लागि भनेर ६ हजार जति पुरी बनाउँछौ, त्यो सबै सकिन्छ । कहिले त त्यही पनि पुग्दैन ।’ उनले प्लेटमा हिसाब गर्न सकेनन् ।

उनले हिसाब गर्न नसकेपछि मैले फेरी सोधे ‘एक प्लेटमा कति वटा पुरी हुन्छ ?’

‘आठ वटा’’ उनले सहजै जवाफ दिए ।

अर्थात दिनमा ७ सय ५० प्लेट पानीपुरी बिक्री हुन्छ । प्रति प्लेट ५० रुपैयाँ । अर्थात पानीपुरीको व्यापार मात्रै दैनिक ३७ हजार ५ सय रुपैयाँको हुन्छ ।

मेरो पानीपुरी सकिएकै थिएन । एउटी अष्ट्रियन युवती आईन् र दही पुरी मागिन् । रञ्जित विदेशीलाई दहीपुरी बनाउन थाले । एकैछिनमा दुई युवा आए । र, मःम छ भनेर सोधे । एकैछिनमा आमाछोरीको समूह आएर पानीपुरी मागे । हेर्दा हेर्दै रञ्जित व्यस्त हुनथाले । यतिखेर बिहानको १० बजेको थियो ।

एकातिर उनी समोसाको अचार तयार गर्दै थिए । मःमःको लागि पानी तताउँदै थिए । प्लेट थापेर उभिएकाहरुको प्लेटमा पानीपुरी पनि राख्दै थिए ।

उनका अरु साथीहरु अहिले कोठामै थिए । दिउँसोको लागि सामान तयार गर्दै थिए । एकजना अर्को साथी भने पानीका जार ओसार्न व्यस्त थिए ।

एउटा छोरा र छोरीका पिता रञ्जितकुमार यहाँ काम गरेको मासिक ८ हजार तलब पाउँछन् ।

मःमः, पानीपुरी, चाट, समोसा सबै उनले यहीँ आएर बनाउन सिकेका हुन् । २५ वर्ष पुगेका रञ्जित छठको समयमा मात्रै घर जान्छन् ।
‘अरु बेला त दुकानबाट फुर्सद हुँदैन, छठमा घर जान्छु ।’ रञ्जितले सुनाए ।

श्रीमती र छोराछोरी भारत मै छाडेर आएका रञ्जितलाई बेलाबेला घरको न्यास्रो लाग्दो रहेछ । घरको कुरा गरेपछि उनी अलिक गम्भीर देखिए ।

‘नेपाल पनि मन पर्छ, यहाँ त अब आदत भईगयो,’ रञ्जितले जर्बजस्ती मुस्कुराउँदै भने- ‘उहाँ (भारतमा) त यस्ता दुकान बहुत हुन्छन्, याँको जति पैसा कमाउन सकिदैन ।’ रञ्जितले नेपाल आउनुको कारण खोले ।

रञ्जिले केही वर्ष अगाडि आफ्नी श्रीमतीलाई नेपाल घुमाउन पनि ल्याएका रहेछन् । ‘नेपाल आएको थियो (श्रीमती) घुम्यो, केही दिन बस्यो,’ उनी आफुलाई खुलाउन चाहान्नथे ।

मैले खाईरहेको पानीपुरीको प्लेटमा अन्तिम पुरी राख्दै गर्दा मैले सोधे ‘कहाँ कहाँ घुमाउनु भयो ?’

‘हा…हा…..पशुपति, दक्षिणकाली, स्वंयम्भु घुमाएँ । नेपाल आउँदा बहुत खुस थिई,’ हातमा लगाएको पञ्जा खोल्दै उनले सुनाए ।

रञ्जितका अनुसार भारतमा एक प्लेटमा ५ वटा पानीपुरी हुन्छन् । प्रतिगोटा दुई रुपैयाँ पर्छ । काकाको पसल भएर मात्रै हो नत्र उनी पनि आफ्नै पसल खोल्ने तयारीमा थिए ।

‘काकाको दुकान छ, त्यही भएर हो, काकाको दुकान छाडेर आफ्नै कसरी चलाउनु भनेर हो,’ उनले आफ्नो बाध्यता पनि सुनाए ।

रञ्जितका अनुसार एउटा स्तरीय पानीपुरी पसल खोल्न २ लाख रुपैयाँसम्म लाग्छ । ईमलीको अचार प्याक गर्न छाडेर रञ्जितले गोजीबाट मोबाईल निकाले । ब्लुटुथ स्पिकरमा मोबाईल कनेक्ट गरेर उनले भोजपुरी गीत घन्काए । घरको न्यास्रो मेट्ने एउटै माध्यम हो, पाश्र्वमा बजिरहने भोजपुरी गीत ।…छलकतो हमरी जवानीयाँ ए राजा, जैसे की बलटकी पनीया हो… ।

भोजपुरी गीतको आवाज चर्किदै गयो…रञ्जितकुमारको हातपनि घरी पानीपुरी, घरि चाट, घरी मःम त घरी समोसातर्फ लम्किन थाले । पानीपुरी खाईसकेपछि मैले बिल मागे । रञ्जितकुमारका हातले बिल तयार पार्न भ्याएनन ।

‘दाई एक्लै छु के गर्नु,’ यति भनेर उनी पानले राता भएका दाँत देखाउँदै मुस्कुराए ।

तपाईं पनि जाने होइन त अर्थमन्त्रीको कर नजर लागेको पानीपुरीको स्वाद लिन ?


पुष्प दुलाल