केरुङ काठमाडौँ रेलमार्गको लागत प्रतिकिलोमिटर साढे ३ अर्ब




काठमाडौं । केरुङ काठमाडौं रेलमार्ग निर्माणका लागि प्रतिकिलोमिटर ३ अर्ब ५५ करोड लागत लाग्ने भएको छ ।

हिमाली भूभाग तथा असाध्यै जटिल भूगोलमा काम गर्नुपर्ने भएकाले उक्त लागत लाग्ने देखिएको हो ।

रेल विभाग र चिनियाँ प्राविधिकले तयार पारेको प्रारम्भिक प्रतिवेदनका आधारमा हेर्दा लागत अझै केही बढ्न सक्ने समेत देखिएको छ ।

रेलमार्गको कूल लम्बाई ७२.२५ किलोमिटर हुनेछ । त्यो नेपाली सीमाना रसुवागढीदेखि काठमाडौंसम्मको गणना हो ।

९८ प्रतिशत बढी पुल र सुरुङ

पछिल्लो पटक तयार भएको प्रारम्भिक प्रतिवेदनअनुसार सो रेलमार्गमा ९८.५५ प्रतिशत पुल तथा सुरुङको मात्रा बढी रहनेछ । जमिनको सतह भन्दा माथि भन्दा पनि पूला तथा सुरुङमा रेलमार्ग निर्माण गर्नुपर्ने अवस्था देखिएको छ ।

रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायकाअनुसार रेलमार्ग जटिल भूगोलमा निर्माण गर्नुपर्ने भएकाले पनि सुरुङ नै उपयुक्त हुने देखिएको हो ।

निर्माण अवधि ९ वर्ष

विभागकाअनुसार सो रेलमार्गको निर्माण अवधि ९ वर्षको हुनेछ । यसअघि विभाग स्वमय्ले नै बढीमा ७ वर्षमा निर्माण सकिने बताउँदै आएको थियो । तर अध्ययनअनुसार निर्माण अवधि लामो लाग्नुको पछाडि पुल तथा सुरुङ नै रहेको पाइएको छ ।

प्रारम्भिक अध्ययन प्रतिवेदन तयार भएपछि हाल त्यसको समिक्षाका लागि नेपाली र चिनीयाँ अधिकारी चीनमा संयुक्त छलफलका लागि जुटेका छन् ।

सोही छलफलका आधारमा प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रुप दिइन विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ ।

विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि ३ अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।

लागत २ खर्ब ५७ अर्ब

विभागका प्रवक्ता उपाध्यायकाअनुसार सो रेलमार्गको लागत करिब ३ खर्ब लाग्ने देखिएको छ । तर उनले २ खर्ब ५७ अर्बमा निर्माण गर्न सकिने प्रारम्भिक अध्ययनबाट देखिएको बताए ।

लागतको मात्रा के कति बढ्ने भन्ने विषय त्यसमा प्रयोग हुने उपकरण तथा प््रविधिले निर्धारण गर्नेछ ।

वार्षिक २८ अर्ब ५५ करोड लगानी

रेलमार्ग निर्माणका लागि सरकार आफैले वार्षिक २८ अर्ब ५५ करोड लगानी गर्ने हो भने स्वदेशी लगानीमा नै रेलमार्ग निर्माण गर्न सकिने पनि देखिएको छ । प्रवक्ता उपाध्यायले करिव २८ अर्ब ५५ करोड प्रति बर्ष लगानी गर्ने हो भने नेपाल सरकारले आफ्नै श्रोतबाट पनि रेलमार्ग निर्माण गर्न सक्छ ।


क्लिकमान्डु