ऋणीलाई ब्याजको भारी बोकाएर बैंकले कमाए ४८ अर्ब रुपैयाँ नाफा



C

काठमाडौं । गत आर्थिक वर्षमा नबिल बैंकले ४ अर्ब ५ करोड रुपैयाँ नाफा गर्यो ।

अहिलेसम्म २७ वटा वाणिज्य बैंकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले विवरण सार्वजनिक गरेको छैन ।
नबिलले एकवर्षको अवधीमा नाफा १२ प्रतिशतले बढाएको छ ।

नबिलले १२ प्रतिशतले नाफा बढाउदा राष्ट्र बैंकले तोकेको निक्षेप र कर्जाको ब्याजदरको अन्तर(स्प्रेडदर)लाई भने उलंघन गरेको छ ।

अघिल्लो वर्ष ४.९२ प्रतिशत स्प्रेडदर रहेकोमा नबिलले यो वर्ष यसलाई बढाएर ५.०५ प्रतिशत पुर्याएको छ । स्प्रेड बढाएर नाफा कमाउनेमा नबिल मात्र होइन । सबैजसो बैंकले एकवर्षको अवधीमा स्प्रेड बढाएको देखिन्छ । यसको सोझो अर्थ हो बैंकले ऋणीलाई ब्याजको भारी बोकाएर बैंकले आफ्नो नाफा कमाए ।

राष्ट्र बैंकले ५ प्रतिशतभन्दा बढी निक्षेप र कर्जाको ब्याजदर अन्तर हुन नपाउने व्यवस्था गरेपनि यो वर्ष चारवटा बैंकले यो व्यवस्थालाई उलंघन गरेका छन् ।

यसरी ५ प्रतिशतको स्प्रेडको व्यवस्था उलंघन गर्ने बैंकमा सरकारी लगानीको कृषि विकास बैंक,एनआईसी एशिया,नबिल र स्टाण्डर्ट चाटर्ड बैंक रहेका छन् ।

२७ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७४/७५ मा ४८ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेका छन् । २०७३÷७४ मा बैंकहरुको नाफा ४१ अर्ब ७६ करोड थियो । यस आधारले बैंकहरुले नाफामा १७ प्रतिशतको बृद्धि गर्न सफल भएका हुन् ।

१७ प्रतिशत नाफा बढाउनको लागि बैंकहरुले भने १२ प्रतिशतले स्प्रेडलाई बढाएका छन् । २७ वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०७३/७४ मा औसतमा ३.८९ प्रतिशत ब्याजदर अन्तरमा काम गरेका थिए । यो वर्ष यस्तो अन्तर ४.३८ प्रतिशत पुगेको छ ।

नेपाल बैकर्स संघका पूर्व अध्यक्ष तथा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत नियम अनुसार स्प्रेडमा बसेर नै नाफा गरेको बताउँछन् । ‘पुँजी बृद्धि अनुसारको नाफा बैंकको बढेको छैन,स्प्रेड निर्धारण बजारले नै गर्ने हो,नियामकले होइन,’ भण्डारीले क्लिकमाण्डूसँग भने ।

एकवर्षको अवधीमा स्प्रेड घटेका बैंकमा प्राइम,सनराइजन,मेगा,हिमालयन र एनबी बैंक रहेका छन् । अरु सबै बैंकको स्प्रेड बढेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा स्प्रेडलाई साढे ४ प्रतिशतमा झार्न निर्देशन दिएको छ । विगतमा नै ५ प्रतिशत स्प्रेड कटाउदा कुनै कारवाही गर्न नसकेको राष्ट्र बैंकले भने यो पटक साढे ४ प्रतिशत स्प्रेडलाई नियन्त्रणमा ल्याउनेमा धेरैको विश्वास भने छैन ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल भने तोकिएको स्प्रेड कायम भएको बताउँछन् । ‘स्प्रेड उलंघन गर्नेलाई कारवाही हुन्छ,’पौडेलले भने ।

राष्ट्र बैंकले अहिलेलाई तोकेको ५ प्रतिशतको सिमा उलंघन गर्ने अहिले नै चार बैंक छन् । अब साढे ४ प्रतिशतको सिमा तोकिएको छ । साढे ४ प्रतिशतदेखि ५ प्रतिशतसम्म स्प्रेड भएका बैंकहरु ९ वटा छन् । चारवटा बैंकको स्प्रेड ५ प्रतिशतभन्दा बढी छ । यस आधारले १३ वटा बैंकले अहिलेको लिएको स्प्रेडलाई कम गर्नुपर्ने हुन्छ ।

यसमा बैंकरको धारणा भने फरक छ । सिटिजन्स बैंकका सिइओ भण्डारी सार्वजनिक खपतको लागि मात्र केन्द्रीय बैंकले स्प्रेडको व्यवस्था गरेको बताउँछन् । ‘मेरो बैंकले स्प्रेड बढाएर काम गर्न सक्दैन,तर स्प्रेड बढाएर काम गर्ने बैंकपनि छन्,उनीको ब्याज सस्तो छ,यो निर्धारण बजारले गर्ने हो,’भण्डारीले भने ।


क्लिकमान्डु