चिनी उद्योगले उखु किसानलाई भुक्तानी दिएन, न्यूनतम मूल्य नपाए आन्दोलनमा उत्रिने चेतावनी



 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं । उखुको न्यूनतम मूल्य नपाए आन्दोलनमा उत्रिने नेपाल उखु उत्पादक महासंघले चेतावनी दिएको छ । महासंघका अध्यक्ष कपिलमुनी मैनालीले किसानहरुले अहिलेसम्म सरकारले तोकेको मूल्य समेत नपाएको भन्दै अब आन्दोलनमा उत्रिने बताएका हुन् ।

आज मन्त्रालयमा सरकार र उखु उद्योगीहरुसँग भएको वार्ता निस्कर्षबिहीन भएको र किसानलाई चित्त बुझ्दो नभएको भन्दै उनले आन्दोलनमा उत्रिने बताएका हुन् ।

उनका अनुसार उखुको न्यूनतम मूल्य सरकारले प्रतिक्यून्टल ५ सय ३६ रुपैयाँ तोकेपनि उद्योगीहरुले तोके अनुसार भुक्तानी गर्न नमानेका हुन् ।

हालसम्म ५० प्रतिशत मात्र उखुको मूल्य भुक्तानी भएको उनले जानकारी दिए । बाँकी ५० प्रतिशत भुक्तानी भाएको छैन् ।

‘हामीले ५ सय ३६ रुपैयाँ प्रतिक्वीन्टलले भुक्तानी पाउनु पर्नेमा हाल उद्योगीहरुले ४ सय ६० रुपैयाँ प्रति क्वीन्टलको आधारमा भुक्तानी गरेका छन्, यो मान्य छैन्,’ अध्यक्ष मैनालीले क्लिकमाण्डुसँग भने ।

स्थानीयले भुक्तानी गर्न नपाएको बेलामा ११ अर्बमा अझै ६ अर्ब भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिए ।

‘मन्त्रालयले उखुमा लागत बढेको छ भन्छ, उद्योगीहरु तोकेको मूल्य दिदैनन्, कसरी चित्ता बुझाउनु,’ अध्यक्ष मैनालीले क्लिकमाण्डुसँग भने ।

सरकारसँग चाँडै पूर्ण भुक्तानी गर्ने भनेपनि उद्योगीहरुले बाहिरबाट चिनी भित्रिएकाले चिनी नै बिक्री नभएको भन्दै भुक्तानीमा ढिलाई गरेका उनले बताए ।
‘सम्झौता अनुसार मिल बन्द भएको २ महिनाभित्रमा पूर्ण भुक्तानी हुनु पर्ने हो, चैतमा नभएपनि जेठ अन्तिमसम्म पूरै भुक्तानी हुनुपर्ने हो, तर उनीहरुले आधा जतिमात्र भुक्तानी गरेका छन्,’ मैनालीले भने ।

अहिलेसम्म अन्नपूर्ण चिनी उद्योग सर्लाही, श्रीराम सुगर मिल रौतहट लगायतका मिलहरुले किसानहरुलाई पूरै भुक्तानी नदिएको उनले बताए ।

सरकारले किसानलाई उखु खेतीमा आकर्षित गर्न न्यूनतम मूल्य तोकेको भएपनि भनेको समयमा मूल्य नपाउने, उद्योगहरुले उखु नलिने लगायतका विभिन्न समस्याहरु किसानले खेप्दै आएका छन् ।

गत आर्थिक वर्षमा १ करोड ७४ लाख क्वीन्टल उखु मिलमा दिइएको थियो । त्यसबाट १ लाख ७२ हजार मेट्रिकटन चिनी उत्पादन गरिएको अध्यक्ष मैनालीले बताए ।

नेपाललाई २ लाख ७० देखि ७५ हजार मेट्रिकटन चिनी चाहिने, तर अहिले १ लाख ७२ हजार मेट्रिकटन मात्र चिनी उत्पादन भएको छ । अन्य, सबै बाहिरबाट भित्रिने गरेका छन् ।

यस्तो छ उखुको मूल्यको उतारचढाब
विगत लामो समयदेखि उखुको न्यूनतम मूल्यका कारण उखु किसान मारमा पर्दै आएका छन् । उखु किसान र चिनी मिलको काण्डपनि बाहिर नआएको भने हैन ।

शुरुमा सरकारले २०६९\७० सालमा प्रतिक्वीन्टल ४ सय ८८ रुपैयाँ तोकेको थियो । त्यसबेला पनि उखु किसानले समयमा भुक्तानी नपाउँदा मार खेप्नु परेको थियो ।

त्यसपछि सरकारले उखु किसानलाई प्रोत्साहन गर्न भन्दै २०७२\७३ सालमा उखुको न्यूनतम मूल्य बढाएर ४ सय ६५ रुपैयाँ बनायो ।

२०७३\७४ सालमा सरकारले फेरी उखुको न्यूनतम मूल्य बढाउँदै ५ सय ३१ रुपैयाँ बनाएको थियो ।


क्लिकमान्डु