तनहुँको दुर्गम गाउँमा २३ वर्षपछि रोपार्इँ, यत्तिका वर्ष किन हुन सकेन ?



तनहुँ । जिल्लाको दुर्गम मानिने घिरिङ गाउँपालिका–१ स्थित पुट्टारको तल्लो भाग ताले फाँटमा नहरको पानी ल्याएर २३ वर्षपछि पहिलो पटक रोपाइँ गरिएको छ ।

विसं २०५२ मा उक्त नहरको पानी ल्याएर ताले फाँटमा रोपाइँ गरिए पनि त्यसपछि पहिरोले नहरमा क्षति पुर्याएकाले अत्त्रौली पुट्टार सिँचाइ उप—आयोजनाले २३ वर्षपछि करीब १८ किलोमिटर टाढा डुम्रेबेँसीस्थित मैदीखोलको पानी बाँधबाँधेर पानी ल्याएपछि उक्त फाँटमा रोपाइँ गरिएको हो ।

अहिले उक्त क्षेत्रमा पर्ने करीब २०० हेक्टर क्षेत्रफलमध्ये डेढसय हेक्टर भन्दा बढी जमीनमा रोपाइँ भइसकेको छ । स्थानीय खोलाको पानी निकै कम भएकाले रोपाइँ गर्न कठिनाइ भएपछि उक्त नहरको पानी मिसाएर रोपाइँ गर्न पाएकामा कृषकमा खुशीयाली छाएको अत्त्रौली पुट्टार सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष रामजी अर्यालले बताए ।

लामो समयदेखि कुलोको काम नसकिएकाले नहरमा पानी आउँदैन, र रोपाइँ हुदैन भन्ने भ्रममा परेका कारण स्थानीय कृषकले धानको बीउ नराख्दा करीब एक सय हेक्टर क्षेत्रफल पाखो जग्गामा रोपाइँ हुन नसकेको उनले जानकारी दिए ।

आउँदो वर्ष समयमै धानका साथै तरकारीखेती पनि गर्नका लागि स्थानीयवासी अहिलेदेखि नै उत्साहित भएका छन् । ताले फाँटमा नहरको पानी आउला भन्ने कयौं मानिसलाई विश्वास नलागेका कारण केही भागमा रोपाइँ हुन नसकेको सोही वडाका वडा सदस्य होमनाथ सिग्देलले बताए ।

हामीले धेरथोर बीउ राख्न भने पनि उनीहरुले विश्वास नगरेका कारण पूरै क्षेत्र रोपाइँ हुने भएपनि बीउका कारण केही बाँकी जमीनमा रोपाइँ हुन नसकेको उनको भनाइ थियो ।

उक्त क्षेत्र अन्तर्गत पर्ने अत्त्रौली, भन्टार, बैदीका र पुट्टार क्षेत्रको तल्लो भाग ताले फाँटसहित कूल ४३५ हेक्टर क्षेत्रफलमध्ये करीब ८० प्रतिशतभागमा रोपाइँ भएको सामाजिक परिचालक निराजन अर्यालले बताए । उक्त नहरबाट साउनको १ गतेबाट पानी सञ्चालन भएको थियो ।

उक्त उप आयोजनाले विसं २०७२ को मंसिर महिनादेखि निर्माण कार्य अघि बढाएको सिँचाइ विकास डिभिजन कार्यालयका महाशाखा प्रमुख हरिदत्त पौडेलले जानकारी दिए ।

१३ करोड १७ लाखको लागतमा उक्त नहरको ठेक्का सम्झौता भएको सो उपआयोजना ०७५ जेठ २० मा सम्पन्न गर्नुपर्ने भए पनि भारतको नाकाबन्दीका कारण तोकिएको समयभित्र सम्पन्न हुन नसकेको उनले बताए ।

आर्थिक वर्ष ०७५\७६ को जेठ २० सम्मको लागि पुनः ठेक्का म्याद थप गरी कामअघि बढाएको उक्त नहरको निर्माण रायमाझी कन्ट्रक्सन र राजेश्वरी कन्ट्रक्सनले गरेको हो । रासस


क्लिकमान्डु