सिलिकन हिल्स बन्यो वालिङ नगरपालिका, भित्र्यायो १७ अर्ब लगानी




काठमाडौं। देशभरका स्थानीय सरकार अन्योलमा छन् । प्रदेश सरकार तथा संघीय सरकारले आवश्यक नीति तथा नियम नबनाएको भन्दै आलोचना समेत भइरहेको छ ।

स्थानीय सरकार गठन भएको पनि १ वर्ष बढी भईसक्यो । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले यो अवधिमा जनतामाथि करको भार थोपरेको भनेर आलोचना भईरहेको छ ।

देश संघीय संरचनामा गएपछि जनताले राहत पाउने विश्वास गरेका थिए । तर, त्यसको ठीक विपरित स्थानीय सरकारले विकासको नाममा डोजर चलाउने र कर असुल्ने काम मात्रै गरिरहेका छन् । जनताको आयस्तरमा बृद्धि भएको छैन, तर कर भने बढाईएको छ । करको भार अत्याधिक बढेका कारण जनता आक्रोशित पनि बनेका छन ।

सुखी नेपाली र समृद्ध नेपालको नारा बोकेको सरकारसँग देशभर १३ वटा स्मार्ट सिटी बनाउने योजना पनि छ । स्मार्ट सिटी बनाउने घोषणा गरिएको लामो समय बितिसक्दा पनि केही काम हुन सकेको छैन । सरकारले अझै स्मार्ट सिटीको मापदण्ड समेत तयार पार्न सकेको छैन ।

तर, स्याङजाको वालिङ नगरपालिका भने अबको ५ वर्ष भित्रै स्मार्ट सिटी हुने भएको छ । वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँणका अनुसार वालिङ नगरपालिका स्मार्ट सिटी र स्मार्ट भिलेजको अवधारणामा गईसकेको छ ।

कसरी बन्छ वालिङ स्मार्ट नगरपालिका ?

कानून : वालिङ नगरपालिकाका मेयर खाणका अनुसार नगरपालिकाले सर्वप्रथम सुशासनका लागि आवश्यक पर्ने ऐन, नियम र कानून तयार गर्यो । लगानी भित्र्याउने र लगानी सुरक्षा गर्ने कानून तयार गर्यो । उत्पादन तथा बजारमा स्थानीय सहभागिता बढायो । तिनै कानून तथा नीतिको आधारमा रहेर वालिङले आफुलाई स्मार्ट नगरपालिकाको मार्गमा अगाडि बढायो ।

प्रविधिः खाँणका अनुसार वालिङ अहिले आईओटी प्रविधिमा गएको छ । अर्थात इन्टरनेट अफ थिंग्स । आईओटी अवधारणा अनुरुप अब वालिङ नगरपालिकासँग सम्बन्धित कुनैपनि काम गर्नको लागि नगरपालिका कार्यालय र वडा कार्यालय पुग्नु पर्दैन । यसकोलागि घरैमा बसेर इन्टरनेटको माध्यमबाट नगपालिकाको काम गर्न सकिन्छ । नगरपालिकाले भदौ १५ गतेबाट नगरपालिका एप्स पनि सार्वजनिक गर्दैछ ।

नगरपालिकालाई तिर्नुपर्ने कर, नगरपालिका वा वडा कार्यालयबाट जनताले गर्नुपर्ने कुनैपनि कामका लागि अब कार्यालय धाउनु पर्ने छैन ।

नगरपालिकाले इनोभेसन सेन्टर पनि स्थापना गरेको छ । इनोभेसन सेन्टरले नगरपालिकालाई प्रविधिमैत्री र स्मार्ट बनाउने छ । इनोभेसन सेन्टरमार्फत नगरपालिकाको क्षेत्र भित्रको पिउने पानीको शुद्धता मापन गर्ने, सडक तथा सरकारी कार्यालयमा सेन्सर जडित बत्तीको काम भईरहेको छ । सेन्सर जडित बत्ती भनेको मानिस आएपछि आफै बल्ने र मानिस नभएपछि आफै निभ्ने गर्छ ।

यस बाहेक नगरपालिकाले इनोभेसन सेन्टरमार्फत नै कुचो लगाउने, भाँडा माझ्ने र सडक सफा गर्ने रोबट पनि तयार गरेको छ । इनोभेसन सेन्टरका लागि नगरपालिकाले भारतबाट प्रविधि मगाएको थियो । खाँणका अनुसार यो प्रविधि हस्तान्तरणको काम पनि भईरहेको छ । नगरपालिकाभित्र रहेका स्कुल तथा कलेजमा ८, ९, १०, ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थी र विज्ञान शिक्षकलाई यो प्रविधि सिकाउने काम भईरहेको छ ।

प्रविधि हस्तान्तरण र प्रविधिको प्रयोगका लागि नगरपालिकाले विदेशमा रहेका वालिङवासीको सहयोग लिएको खाँणले बताए ।

उद्योग, लगानी र कर
नगरपालिकाले ५ वटा औद्योगिक क्षेत्र तयार गरेको छ । नगरपालिकाले लगानी सम्मेलन पनि गरिसकेको जानकारी खाँणले दिए । नगरपालिकाभित्र उद्योग स्थापना गर्न चाहनेहरुलाई नगरपालिकाले सस्तो मूल्यमा जग्गा उपलब्ध गराउने गरेको खाँडले बताए । र, लगानीकर्ताको लगानीको सुरक्षाको जिम्मा पनि नगरपालिकाले नै लिने गर्छ ।

नगरपालिकाले तयार गरेका ५ वटा औद्योगिक क्षेत्रमा ७ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको खाँणले बताए । यसबाहेक नगरपालिले पतञ्जलीका लागि ३५ सय रोपनी जग्गा पनि छुट्याएको छ । पतञ्जलीले वालिङ नगरपालिकामा १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको पनि खाँणले जानकारी दिए ।

नगरपालिकाले अहिले कर बढाएको छैन ।

‘पहिला हामी जनतालाई कर तिर्न सक्षम बनाउँछौ’ खाँणले भने ।

लगानीकर्तालाई आर्कषित गर्नको लागि नगरपालिको कर छुट दिएको छ ।

नगरपालिकाको मूख्य क्षेत्र स्मार्ट सिटी हुनेछ । गाउँहरु स्मार्ट भिलेज हुनेछन् । ३ सय १० वटा गाउँ रहेको वालिङ नगरपालिकाले एक घर एक उद्यमको योजना बनाएको छ । गाउँले उत्पादन गर्ने र सहरले उत्पादन खपत गर्ने योजना बनाएको खाँणले बताए ।

लगानी गर्न नसक्ने वालिङवासीको लागि नगरपालिका स्वयम्ले लगानी गर्ने गर्छ । नगरपालिकाले केही विउपुँजी रकम दिएर लगानी गर्न लगाउने गरेको खाँणले जानकारी दिए । ठूलो लगानी गर्नुपर्दा नगरपालिका आफैं बैंक ग्यारेन्टी बस्ने गरेको पनि उनले सुनाए ।

नगरपालिकाभित्र रहेका उद्योग तथा व्यवसायको बीमाको काम पनि नगरपालिकाले नै गर्ने गर्छ ।

वान कलर, वान प्रोडक्ट
नगरपालिकाले आफूलाई वान कलर क्षेत्रको रुपमा विकास गर्दैछ । वालिङ बजारमा गुलाबी रंग (पिंक) लगाईएको छ भने गाउँमा अन्य कलर लगाईनेछ । २ वर्ष भित्र वालिङ नगरपालिकालाई वान कलर क्षेत्र बनाईसकिने छ ।

वान कलर क्षेत्र बनाउनको लागि वालिङले देशभर रहेका रंग उत्पादक कम्पनीसँग छलफल गरेर ५० प्रतिशत छुटमा कलर उपलब्ध गराउन आग्रह गरेको थियो । वान कलर वान प्रोडक्ट अन्र्तगत एउटा गाउँमा एउटै कलर लगाईनेछ । एउटा गाउँबाट एउटै वस्तु उत्पादन गरिनेछ ।

नगरपालिका क्षेत्रलाई शून्य फोहर क्षेत्र बनाईएको छ । नगरपालिकामा उत्पादन हुने फोहोरलाई तीन तहमा वर्गीकरण गरेर व्यवस्थापन गर्ने गरिन्छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले प्रत्येक ५० घरधुरी समेटेर फोहोर व्यवस्थापन समिति बनाएको छ ।

नगरपालिकामा उत्पादन हुने फोहोरबाट नगरपालिकाले जैविक मल बनाउने गर्छ । मल बनाउन नमिल्ने फोहोर बिक्री गरेर नगरापालिकाले वार्षिक ८० लाख रुपैयाँ आम्दानी गरेको खाँणले जानकारी दिए । यसरी आम्दानी भएको रकमको ४० प्रतिशत रकम फोहोर व्यवस्थापन समितिलाई दिने गरिन्छ । फोहोर व्यस्थापन समितिले आफूले पाएको रकमबाट सडकका खाल्टा पुर्ने, ढल तथा नाला व्यवस्थापन गर्ने काम गर्छ ।

चालु आर्थिक वर्षको लागि नगरपालिकाको बजेट ७० करोड रुपैयाँ छ । थोरै बजेटमा पनि नगरपालिकाले आफूलाई स्मार्ट बनाउने तयारी गरेको छ । स्मार्ट नगरपालिकाका लागि नगरपालिकाले पिपिपि मोडल तयार गरेको छ । पिपिपि मोडलको परामर्शदाताको रुपमा भि रक कम्पनी नियुक्त गरिएको छ ।

८० हजार जनसंख्या रहेको नगरपालिको तयार गरेको औद्योगिक क्षेत्र र अन्य क्षेत्रबाट १९ हजार जनालाई रोजागरी प्रदान गर्न सकिने कार्ययोजना बनाएको खाँणले बताए ।

सिलिकन हिल्स
अमेरिकाको क्यालिफोर्नियामा रहेको सिलिकन भ्याली कम करका कारण विश्वमै चर्चित छ । जसका कारण सिलिकन भ्यालीमा विश्वभरका लगानीकर्ताको ओइरो लाग्ने गर्छ । यही अवधारण वालिङल ेपनि अपाउने भएको छ ।

‘हामीसँग भ्याली छैन, पहाड छ, त्यही भएर अब हामी सिलिकन हिल्सको तयारीमा छौ,’ खाँणले भने ।

सरकारले सूचना प्रविधि तथा अन्य क्षेत्रमा कर बढाएको छ । तर, वालिङ नगरपालिकामा सूचना प्रविधि क्षेत्रमा लगानी गर्दा वालिङलाई धेरै कर तिर्नु नपर्ने बताउँछन् खाँण ।

संघीय सरकारलाई तिरेको कर पनि नगरपालिकाले लगानीकर्तालाई फिर्ता दिने बताए खाँणले । अर्थात, स्थानीय सरकारमार्फत उठेको करको केही अंश संघीय सरकारले स्थानीय सरकारलाई नै फिर्ता गर्छ । यसरी फिर्ता गरिएको कर लगानीकर्तालाई नै फिर्ता गरिनेछ ।

साहसिक खेलकुदमा पनि वालिङ नगरपालिकाले आफुलाई अग्रसर बनाएको छ । नगरपालिकाले १ सय किलोमिटर माउन्टेन बाईक रुट समेत घोषणा गरिसकेको छ । यसबाहेक नगरपालिकाले प्याराग्लाईडिङ सुरुवात गर्नको लागि नगरपालिका क्षेत्रलाई नो फ्लाईट जोन घोषणा गर्ने तयारी पनि गरेको छ ।

शासक होइन, समन्वयकर्ता
देशभरका स्थानीय तहले संघीय सरकारले प्रदान गरेको बजेट कम भयो भनेर रोईलो गरेकोमा खाँण चिन्तित छन् ।

‘हामी कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सहितको स्वतन्त्र सरकार हौं, एकातिर हामी स्वतन्त्रता पनि खोज्ने अनि संघीय सरकारले पैसा दिएन भनेर पनि गुनासो गर्न त कहाँ पाईन्छ र ?’ खाँण फेरि थप्छन्– स्वतन्त्रता र पैसा एकैचोटी पाईने कुरा होइन ।

संघीय सरकारले जति थोरै पैसा दियो त्यति स्थानीय तह उत्तरदायी हुने खाँडको धारणा छ । संघीय सरकारले धेरै पैसा दियो भने स्थानीय सरकार पराधीन हुने खतरा रहेको बताउँछन् खाँड । स्थानीय सरकारले कर बृद्धि गर्नुको साटो जनतालाई कर तिर्न योग्य बनाउनु पर्नेमा खाँणको जोड रहेको छ ।

‘जनतासँग कर तिर्ने पैसा छैन भने कर बढाएर मात्रै हुन्छ ?’–खाँण प्रश्न गर्छन् ।

५ वर्षभित्रै वालिङ स्मार्ट सिटी र स्मार्ट भिलेजसहितको स्मार्ट नगरपालिका बन्नेमा खाँण विश्वस्त छन् ।

‘हामी देशकै पहिलो स्मार्ट नगरपालिका बन्छौं, हामी शासक होइनौं, हामी त समन्वयकर्ता हौं, जनताको, जीवनस्तर उकास्न, आम्दानी बढाउन र सोचाईकोस्तर बढाउन हामीले समन्वय गर्ने हो,’ खाँण भन्छन् ।


क्लिकमान्डु